September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

नारायणी किनारमा भेटिएका ६८ शव र ३२ मानव अङ्ग गाडियो

Advertisement

परासी– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेका मानिसहरूको खोजीका क्रममा पश्चिम नवलपरासीको नारायणी नदी आसपासबाट फेला परेका ६८ शव र ३२ मानव अङ्गको व्यवस्थापन गरिएको छ । नदीको बहावसँगै बगेर आएका शव तथा मानव अङ्ग तटीय क्षेत्रमा फेला पर्ने क्रम जारी रहेकाले सुरक्षा निकायले खोजी कार्यलाई पनि निरन्तरता दिइरहेका छन् ।

Advertisement

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वन क्षेत्रलाई शव व्यवस्थापन स्थलका रूपमा प्रयोग गर्दै फेला परेका शव गाड्ने काम भइरहेको छ । कानुनी, प्राविधिक तथा स्वास्थ्यसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि पहिचान हुन नसकेका शवलाई सोही स्थानमा सम्मानपूर्वक गाड्ने व्यवस्था मिलाइएको हो ।

नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका शवलाई सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याउने गरिएको छ । अस्पतालमा शवको पहिचानको प्रयाससँगै तथ्याङ्क सङ्कलन, डीएनए तथा जैविक नमुना, औँठाछाप, हुलिया अभिलेख र पोष्टमार्टमलगायतका प्रक्रिया पूरा गरेपछि मात्रै शवलाई अन्तिम व्यवस्थापनका लागि पठाउने गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले दाबी गरेमा पहिचान खुलाउन सकिने गरी सुरक्षित ढंगबाट व्यवस्थापन गरिएको जनाएका छन् । प्रत्येक शवलाई ‘डेड बडी ब्याग’मा राखेर कोडिङ तथा ट्यागिङ गरिएको छ । यसले पछि कुनै शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनसम्बन्धी जानकारी दिन सहज हुने उनको भनाइ छ ।

बाढीमा बगेका थप मानिसको खोजी तथा सम्भावित शव र मानव अङ्ग फेला पार्न सुरक्षा निकायले नारायणी नदीको किनार र आसपासका क्षेत्रमा गस्तीलाई तीव्रता दिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नदी किनारका पहुँचयोग्यदेखि दुर्गम क्षेत्रसम्म पैदल तथा डुङ्गामार्फत खोजी गरिरहेको छ ।

खोजी कार्यमा नेपाली सेनाका १०४, सशस्त्र प्रहरी बलका ८५ र नेपाल प्रहरीका ८० गरी २६९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नदीको बहाव र तटीय क्षेत्रमा जोखिम रहेकाले सुरक्षा सतर्कता अपनाउँदै खोजी तथा उद्धारसँगै फेला परेका शव र मानव अङ्गको व्यवस्थित सङ्कलन तथा व्यवस्थापनलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।

भोटेकोशी बाढीमा बगेका व्यक्तिको अवस्था अझै यकिन हुन नसकेका कारण नारायणी नदी आसपासमा खोजी कार्यलाई निरन्तरता दिइएको हो । फेला परेका शवको पहिचान र अभिलेखीकरणसँगै व्यवस्थापन तथा भविष्यमा पहिचान गर्न सकिने आधार सुरक्षित राख्ने प्रकृयालाईपनि स्थानीय प्रशासनले सँगसँगै रूपमा अघि बढाएको छ ।