June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

जनसमर्थन बढ्दै जान थालेपछि उत्साहित छु : प्रमोद यादव

Advertisement

मर्चवार–  रुपन्देही–४ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा एमाले का उम्मेदवार प्रमोदकुमार यादवले आफ्नो पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको दाबी गरेका छन् ।

Advertisement

मर्चवार क्षेत्रमा चुुनावी प्रचारप्रसारका क्रममा आयोजना गरिएका घरदैलो अभियान तथा कोणसभा कार्यक्रमहरुमा स्थानीय बासिन्दाको स्वःस्फूर्त सहभागिता बढ्नुले उनको चुनावी अभियान थप उत्साहित बनेको भनाइ उनको छ । मर्चवारका विभिन्न गाउँ–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका यादवलाई स्थानीय जनताले खुला साथ र समर्थन जनाइरहेका छन् । घरदैलोका क्रममा महिलादेखि युवा र ज्येष्ठ नागरिकसम्मको उल्लेख्य उपस्थिति देखिएको छ । स्थानीयवासीले विकास, रोजगारी, कृषि तथा पूर्वाधारका विषयमा आफ्ना धारणा राख्दै यादवप्रति भरोसा व्यक्त गरिरहेका छन् ।

दोस्रो पटक रुपन्देही–४ बाट उम्मेदवार बनेका यादवले आफूलाई प्राप्त भइरहेको जनसमर्थनले थप जिम्मेवार र उत्साहित बनाएको बताएका छन् । ‘मर्चवारका जनताबाट पाएको माया, विश्वास र साथले मलाई अझै ऊर्जा दिएको छ’ उनले भने, ‘अब आश्वासन बाँड्ने समय होइन, समस्याको दीर्घकालीन समाधान खोज्ने समय हो ।’

एमालेको सिद्धान्त र नीति लिएर मैदानमा उत्रिएका उनले मर्चवार क्षेत्रका समस्या समाधान गर्न नयाँ आधार र योजना आवश्यक रहेको धारणा राखे । उनका अनुसार सिंचाइ, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम नगरी समृद्धि सम्भव छैन । त्यसका लागि दीर्घकालीन सोचसहित योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने उनको भनाइ छ । यादवको चुनावी अभियानमा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा युवाहरू उत्साहपूर्वक सहभागी भइरहेका छन् । उनीहरू गाउँ–गाउँ पुगेर मतदातासँग संवाद गर्दै पार्टीको नीति तथा उम्मेदवारको प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् ।

मर्चवारका जनताबाट मिलिरहेको बलियो साथ र समर्थनले आफ्नो जित सुनिश्चित हुनेमा यादव विश्वस्त देखिएका छन् जनतासँगको सहकार्य र विश्वासकै आधारमा क्षेत्रको समग्र विकास अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।