June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

रूपन्देही–३ का स्वतन्त्र उम्मेदवार भण्डारीद्वारा बोहरालाई समर्थन

Advertisement

भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले आफ्नो उम्मेदवारी निस्क्रिय गरेका छन् । उनले आफ्नो उम्मेदवारी निस्क्रिय गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–३ का उम्मेदवार बरिष्ठ क्याप्टेन गौरव बोहरालाई औपचारिक रूपमा समर्थन गर्ने घोषणा गरेका छन् ।

Advertisement

बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार भण्डारीले बोहरालाई समर्थन गरेका हुन् । उनले राप्रपा र बोहरासँग आफ्ना एजेन्डा मेल खाएकाले उम्मेदवारी निस्क्रिय गरिएको जनाए । ‘अबदेखि चुनावी प्रतिस्पर्धाबाट अलग भएर राप्रपाका उम्मेदवारलाई साथ दिने निर्णय गरेको छु,’, भण्डारीले भने, ‘शिक्षित, सक्षम र स्पष्ट दृष्टिकोण भएका उम्मेदवारसँग हातेमालो गर्नु नै अहिलेको आवश्यकता हो ।’

सामाजिक, धार्मिक तथा राष्ट्रिय मुद्दामा आफूहरुको सोच मिल्ने भण्डारीले जनाए । ‘राजसंस्थाको पुनःस्थापना, संघीयता खारेज, विकास निर्माणलाई तीव्रता दिने तथा भ्रष्टाचारविरुद्ध सशक्त अभियानजस्ता विषयमा हामी एकमत छौं’, उनले भने ।

उनले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितलाई प्राथमिकता दिँदै यो निर्णय लिएको उल्लेख गरे । भण्डारीका अनुसार देश अहिले गलत दिशातर्फ गइरहेको अवस्थामा वैकल्पिक शक्तिलाई मजबुत बनाउनु आवश्यक छ र त्यसका लागि बोहरालाई समर्थन गर्नु उचित कदम हो ।

समर्थनको घोषणापछि बोहराले भण्डारीलाई माला लगाएर धन्यवाद व्यक्त गर्दै सहकार्यलाई स्वागत गरे । उनले पछिल्ला केही दिनदेखि निरन्तर संवाद भएपछि त्यसले सार्थकता पाएको जनाए । ‘हामीहरु करिब चार दिनदेखि सम्पर्कमा थियौं । उहाँका एजेन्डा र हाम्रो पार्टीको दृष्टिकोण मिल्ने देखिएपछि आज एक ठाउँमा उभिएका हौं । यो एकताले रुपन्देही–३ मा सकारात्मक सन्देश दिने विश्वास लिएको छु’, उम्मेदवार बोहराले भने ।

कार्यक्रममा समानुपातिक उम्मेदवार स्वाती थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणा तथा विश्व हिन्दु महासंघका जिल्ला सभापति गोविन्दराज पाण्डे लगायत राप्रपाका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो । नेताहरूले यो सहकार्यले चुनावी माहोलमा नयाँ ऊर्जा थप्ने र राष्ट्रवादी एजेन्डालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।