June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण

Advertisement

भैरहवा– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले एकढिक्का भएर चुनावी अभियान अगाडि बढाउन जरुरी रहेको बताएका छन् । पार्टी निर्वाचन परिचालन समिति रुपन्देही–३ को भेलामा बोल्दै खाँणले बदलिँदो समयअनुसार पार्टीको चुनावी रणनीति पनि परिवर्तन हुनुपर्ने आवश्यकता औँल्याए । अहिलेको युग सूचना प्रविधिको भएको उल्लेख गर्दै कांग्रेसले सशक्त आईटी टिम निर्माण गरी त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनको धारणा छ ।

Advertisement

खाँणले केही नयाँ राजनीतिक दलहरूले प्रविधिको प्रयोग गर्दै कांग्रेसलाई बद्नाम गर्ने प्रयास गरेको आरोप लगाउँदै यसलाई चिर्न आग्रह गरे । नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा बलियो इतिहास र आधार भएको पार्टी भएको दाबी गर्दै यसलाई कायम राख्नुपर्ने खाँणको जोड छ । उनले पार्टी कार्यकर्तामाझ मात्रै नभई निर्वाचन जितेर संसदमा पनि बलियो उपस्थिति अनिवार्य रहेको उल्लेख गरे ।

‘हामीले जितेमा मात्र देशको अर्थतन्त्र र मुलुकको समग्र अवस्थालाई सही दिशामा लैजान सक्छौँ,’ खाँणले भने । उनले अन्य पार्टीका उम्मेदवारबारे टिप्पणी गर्दा हतार नगर्न आग्रह गर्दै निर्वाचन प्रक्रिया अत्यन्तै संवेदनशील हुने भएकाले गम्भीर विश्लेषणपछि मात्र धारणा सार्वजनिक गर्नुपर्ने बताए । उम्मेदवारको अवस्था सेयर बजारजस्तै उतार–चढाव हुने भन्दै कसैको बारेमा मूल्यांकन गर्दा संयम अपनाउनुपर्नेमा उनको जोड छ ।

कांग्रेसका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार सुशील गुरुङले अन्य दलका उम्मेदवारहरूको विगत गतिविधिलाई तथ्यका आधारमा जनतामाझ राख्न जरुरी रहेको बताए । उनले विगतका दिनहरूतर्फ संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पहिले ढकिया चिन्हअन्तर्गत समानुपातिक नामावलीमा मात्र सीमित रहेको उल्लेख गरे । त्यसैगरी नेकपा एमालेका उम्मेदवार यसअघि क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भए पनि सो क्षेत्रमा काम नगरेको र जनतासँगको सम्बन्ध कमजोर भएपछि क्षेत्र नम्बर ३ मा आएको जनाए ।

‘यो क्षेत्रमा उम्मेदवार बनेका केही नेताले विगतमा आफूले जितेको क्षेत्रमा न त उल्लेखनीय विकासका काम देखिन्छन्, न त जनतासँगको आत्मीय सम्बन्ध नै छ’, गुरुङले भने । यस्ता विषयलाई बहसको केन्द्र बनाएर जनतामाझ जानु अहिलेको आवश्यकता रहेको उनको धारणा छ । उनले काँग्रेस नै मुलुकको बलियो र परिवर्तित शक्ति भएको जनाए ।

उम्मेदवार गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेपोटिजम हावी भएको आरोप लगाउँदै क्षेत्र नम्बर १, २ र ३ मै एउटै प्रवृत्ति देखिएको बताए । यस्तो प्रवृत्ति नयाँ पुस्ता (जेन–जी) को भावना र अपेक्षाविपरीत रहेको उनले उल्लेख गरे । ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्यौँ भने निर्वाचन जित्न सक्नेमा म विश्वस्त छु,’ गुरुङले दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता खेलराज पाण्डेय, सोमबहादुर गुरुङ, पुष्पा थरुनी चौधरी, श्याम अर्याल, हरिध्वज मल, गोपाल पाण्डे, देवराज न्यौपाने, ओमकुमार श्रेष्ठ, बिष्णु थापा, बिष्णु बस्याल, देविप्रसाद चौधरी, रामप्रसाद ढकाल, कृष्ण खनाल लगायतले बोल्दै कांग्रेसलाई बलियो बनाएमा देश, संविधान र लोकतन्त्र जोगिने जनाए । उनीहरुले एकढिक्का भएर पार्टीका उम्मेदवार जिताउन लाग्नुपर्ने बताए ।

राजनीतिबाट खारिएका र जनभावना बुझेका सुशील