June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

कस्ता छन् रूपन्देहीका नवआगन्तुक एसपीका सुरक्षा योजना ?

Advertisement

भैरहवा– रुपन्देहीमा हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लामा भरपर्दो शान्ति सुरक्षा कायम गर्नका लागि प्रभावकारी सुरक्षा रणनीति बनाइएको बताएका छन् ।

Advertisement

भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा बुधवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले बिगतमा भन्दा शान्ति सुरक्षाको अवस्था अझ मजबुत बनाउन यसअघिका प्रहरी प्रमुखले गरेको असल कार्यलाई निरन्तरता दिइने र जिल्लामा कार्यरत प्रहरी भित्रै आन्तरिक मूल्याङ्कन सहितको सुरक्षा रणनीतिक योजना बनाइएको बताए । ‘सुरक्षा व्यवस्थालाई अझ भरपर्दो र व्यवस्थित बनाउन बिगतमा प्रहरी कमाण्डरहरुले गरेको राम्रो योजना र कार्यलाई निरन्तरता दिइने छ’, उनले भने, ‘जिल्लामा कार्यरत हरेक प्रहरीको व्यक्तिगत कार्यको रेकर्ड राखी त्यही अनुरुप मूल्याङ्कन गरी पुरस्कार र दण्डको व्यवस्था गरिने छ ।’

उनका अनुसार कतिपय प्रहरीले आचरण बिपरीत आफू अनुकुलका कार्य गर्ने परिपाटीलाई निरुत्साहित गर्न रुपन्देहीमा कार्यरत हरेक प्रहरीको व्यक्तिगत कामको विवरण राखेर मूल्याङ्कन गर्न लागिएको हो ।

अपराधी तथा नियम बिपरीत कार्य गर्नेलाई पक्राउ, हातहतियार पक्राउ, भन्सार छली चोरी निकासी पैठारी गरिएका सामानको बरामद, सेवाग्राहीलाई प्रदान गर्ने सेवा लगायतक विषयलाई आधार बनाएर पुरस्कार र दण्डको व्यवस्था लागु गरिने छ । यसका लागि हरेक महिना ‘पुलिस अफ द मन्थ’ कार्यक्रम बनाइएको छ ।

खुल्ला सिमाना, भन्सार चोरी निकासी पैठारी, नदीजन्य पदार्थको चोरी, सवारी दुर्घटना, साइबर अपराध, अवैध रुपमा सञ्चालित क्यासिनो, लागुऔषध लगायतका चुनौती रुपन्देहीमा विद्यमान रहेको उनले जनाए । ‘मैले काम गरेर देखाउने हो’, उनले भने, ‘शान्ति सुरक्षाको अवस्था सुदृढ बनेको तपाइँहरुले केही दिनमैं महशुस गर्नुहुने छ ।’ दुई पैसा महङ्गो भए पनि स्वदेशी बजारमैं खरिद गर्न र आफूले खरिद गरेको सामानको बिलबिजग लिन उनले सवैलाई आग्रह गरे । आफूले खरिद गरेको सामानको बिलबिजग लिएमा राज्यलाई नै सहयोग पुग्ने र स्वदेशमा खरिद गरेमा स्वदेशका व्यवसाय फस्टाउने भनाइ उनको छ ।

बिगतमा तीनवटा निर्बाचन आफू कमाण्डर भएर सम्पन्न गराइसकेको कुरा उल्लेख गर्दै रुपन्देहीमा शान्तिपूर्वक निर्बाचन सम्पन्न गराउन कुनै जटिल समस्या नरहेको दावी उनले गरे । ‘भौगोलिक बनावट, सुरक्षा निकाय र स्थानीय समुदायसँगको आपसी सहकार्यले गर्दा रुपन्देहीमा शान्तिपूर्वक निर्बाचन गराउन सहज छ’, उनले भने, ‘रुपन्देहीसँग जोडिएका पश्चिम नवलपरासी र कपिलबस्तु जिल्लामा समेत आवश्यक परेको बेला सुरक्षा सहयोग लिन दिन सकिने गरि निर्बाचन सुरक्षा योजना बनाइएको छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले रुपन्देहीमा सडकको संरचना, सवारी साधनको बढ्दो चाप, हुस्सु, शितलहर लगायतका मौसमका कारण सवारी दुर्घटनाको अवस्था बढ्दो रहेको बताइन् ।

सवारी दुर्घटना न्युनिकरणका लागि समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम, प्रत्येक दिन ट्राफिक प्रहरीद्वारा तीन चरणमा चालकसँग ३ मिनेट कार्यक्रम, मादक पदार्थसेवनको नियमित चेकजाँच र विभिन्न स्थानमा आकस्मिक चेकजाँच जस्ता कार्यक्रमलाई निरन्तर संचालन गरिएको उनले बताइन् ।