June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

रूपन्देहीमा निर्वाचन आचारसंहिता पालना कडाई गरिने

Advertisement

भैरहवा– निर्वाचन आचारसंहिता पालना गर्न र उल्लंघन हुन नदिन कडाई गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आइतबार रुपन्देही क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय, भैरहवामा भएको सरोकारवालाबीचको छलफलमा उक्त कुरामा जोड दिइएको हो । छलफलमा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले निर्वाचन दलहरुको उत्सव भएको बताए ।

Advertisement

उनले दलहरुकै सहमतीमा आचारसंहिता बनाइएको उल्लेख गर्दै यसको कार्यान्वयनकर्ता पनि दलहरु नै रहेको जनाए । ‘हामीले निर्वाचन आचारसंहिता कार्यान्वयनलाई कडाई गर्छौं’, उनले भने, ‘यसका लागि सबैको साथसहयोग जरुरी हुन्छ ।’ कानूनले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने निर्दिष्ट अधिकार दिएको जनाउँदैं त्यो अवस्था आउन दिन नहुनेमा उनको जोड छ । निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित तरिकाले सम्पन्न गर्न सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।

छलफलमा मुख्य निर्वाचन अधिकृत बस्नेतले सहभागी दलका प्रतिनिधि तथा जिल्ला अध्यक्षहरुलाई निर्वाचन आचारसंहिताबारे जानकारी समेत गराएका थिए । दलहरुले पनि निर्वाचनलाई सभ्य बनाउन आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (हाल जसपा नेपाल)का नेता अजय बर्माले आचारसंहिता सानाठूला दलहरुलाई बराबर हुनुपर्ने बताए । ‘ठूलाले उल्लंघन गर्दा निर्वाचन आयोग मौन बस्ने र सानालाई कडाई गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’, उनले भने ।

एमाले रुपन्देही उपाध्यक्ष हितराज पन्थीले आफ्नो पार्टीले निर्वाचन सम्बन्धी सबै ऐननियम पालना गर्ने जनाउँदै सबैले सोही अनुसार सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस रुपन्देहीका सहसचिव विष्णु थापाले आफ्नो पार्टीले निर्वाचन सम्पन्न गर्न आयोगसँग सहकार्य गर्दै अघि बढ्ने जनाए । आमनागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई भयरहित वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

छलफलका क्रममा दलहरुलाई मंगलबार उम्मेदवारी दर्ता गर्ने क्रममा समय निर्धारण समेत गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दलहरुको चाहना अनुसार समय निर्धारण गरेको जनाएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।