तिलौराकोटमा ५१ राष्ट्रका पर्यटक


भैरहवा–सन् २०२५ मा भारत सहित १ सय ५ राष्ट्रका बिदेशी पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दा लुम्बिनीबाट करिव २५ किमी दुरीमा रहेको प्राचीन तिलौराकोटको भ्रमणमा भने ५१ राष्ट्रका मात्रै पर्यटक पुगेका छन् ।
तथ्याङ्कले लुम्बिनी आएका मध्ये अति न्युन सँख्यामामात्रै स्वदेशी र बिदेशी पर्यटक तिलौराकोट पुग्ने गरेको देखाएको छ । साथै, तिलौराकोट पुग्ने पर्यटकको बसाइ अवधि पनि अत्यन्त कम देखिएको छ । सन् २०२५ मा तिलौराकोटमा तेश्रो मुलुक ५० देशका ४६ हजार ३ सय ७ जना र भारतबाट १९ हजार २१ जनाले भ्रमण गरेका छन् । ४२ हजार ६ सय ३० जना नेपाली समेत गरी तिलौरोकोट भ्रमण गर्ने कुल पर्यटक १ लाख ७ हजार ९ सय ५८ पुगेको छ ।
प्राचीन तिलौराकोट बुद्धले २९ बर्षसम्म व्यतित गरेको र बुद्धका वुवा राजा शुद्धोधनको दरबार क्षेत्र हो । तिलौराकोट क्षेत्र आसपासको कपिलबस्तु जिल्लामा भगवान बुद्धसँग सम्बन्धित धेरै पुरातात्विक तथा ऐतिहासिक स्थल छन् । लुम्बिनी विकास कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले म्यान्मार, भियतनाम, थाइल्यान्ड, श्रीलङ्का, चीन, अमेरिका ताइबान, दक्षिण कोरिया, मलेसिया, फ्रान्स, रुस, न्युुजिल्यान्डलगायतका मुलुकका पर्यटकले तिलौराकोट अवलोकन गरेको बताए ।
तिलौराकोटमा उत्खननपछि विदेशी पर्यटक निरन्तर बढ्दै गएको आचार्य बताउँछन् । बेलायतको दुरहाम विश्वविद्यालयको प्राविधिक सहयोगमा पुरातत्व विभागले तिलौराकोटमा सन् २०१४ देखि २०२४ सम्म उत्खनन गरेको थियो । लुम्बिनीमा भने सन् २०२५ मा तेश्रो मुलुकका १ सय ४ राष्ट्रका १ लाख ४० हजार ९ सय ६९ जना पर्यटक आएका थिए । नेपाली ७ लाख २ हजार ९ सय १० र भारतीय पर्यटक २ लाख ७० हजार ३ सय ८७ जना आएका थिए ।
बिगतका तुलनामा पछिल्ला बर्षमा तिलौराकोटमा बिदेशी पर्यटकको आगमन बढ्न थालेको र यसले स्थानिय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको भनाइ छ । अधिकाँश बौद्धमार्गी बिदेशी पर्यटक तिलौराकोटको मुख्य दरबार भग्नावशेषमा आई सुत्रपाठ, पूर्वी र पश्चिमी गेटमा भगवान् गौतम बुद्धको बाल्यकालको जीवन लीला पाठ गर्ने गर्छन् । ती पाठहरु गरेपछि मात्र शान्ति प्राप्त भई आत्मसन्तुष्टि हुने हुँदा पाठ गर्नका लागि बौद्ध धर्मावलम्बी आउने गरेको बताइन्छ ।
तिलौराकोटपछि निग्रमोधराम कुदान, धमनिया स्तूप, सगरहवा, निगालीकोट, गोटीहवा, सिसहनियाँकोटसमेत पर्यटक जाने गरेका छन् । एक तथ्याङकले भने तिलौराकोटमा आएका पर्यटक सरदर ३९ मिनेट मात्र बिताएर फर्कने गरेका छन् । तिलौराकोट आएका पर्यटकको बसाइ समय बढाउने किसिमले पूर्वाधार योजना र सुन्दरीकरण गर्नुपर्ने स्थानिय पर्यटन व्यवसायीको माग छ ।








प्रतिकृया दिनुहोस्