June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

बासुदेव घिमिरेः एमाले छाडे, फर्किए, अनि एमालेबाटै उम्मेवार बने

Advertisement

भैरहवा– तीन साता अघि एमाले रुपन्देही वृत्तमा खैलाबैला मच्चियो, एमाले रुपन्देहीका नेता तथा क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले पार्टी परित्याग गरे भनेर । रास्वपा नेता बालेन शाहसँग विगतदेखि नै नजिक रहेका घिमिरे अब उतै जान्छन् भन्ने अड्कल भयो । घिमिरेका सहयोगीले यो कुरालाई थप बल पुग्ने गरी सहमती जनाए । तर, बासुले भने आफै रास्वपा जाने घोषणा गरिसकेका थिएनन् ।

Advertisement

एमाले छाडेको घोषणा बीच एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही आएर घिमिरेसँग भेटे । लामो छलफल पछि उनी एमालेमै रहने निर्णय भयो । एमाले केन्द्रीय सदस्यमा पराजित भए पछि एमाले छाडेका घिमिरेलाई विष्णुले सम्झाएर पार्टीमै रहने निश्चित गरे । तिलोत्तमा नगरपालिकाका पूर्व मेयर समेत रहेका घिमिरे स्थानीय रुपमा चर्चित छन् ।

यिनै घिमिरेलाई नेकपा एमालेको सचिवालय बैठकले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । केही साताअघि मात्रै सामाजिक सञ्जालमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका घिमिरेले अन्ततः एमालेबाटै टिकट सुरक्षित गरेपछि फेरि चर्चामा आएका छन् । उनलाई पार्टी छाड्ने धम्की दिएर टिकट लिएको आरोप लागेको छ । उनीसँगै क्षेत्रबाट उम्मेदवार बन्न चाहाने धेरै थिए । तर, घिमिरेले पार्टी छाड्छु भनेर घुक्र्याएर टिकट लिएको एक नेताले बताए ।

गत पुस १५ गते घिमिरेले फेसबुकमार्फत एमालेको सबै जिम्मेवारी त्याग गरेको घोषणा गरेका थिए । उनले आम जनताको चाहना सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण र पुस्तान्तरण भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट नागरिकको अपेक्षा सम्बोधन हुने अवस्था नदेखेकाले आफू अलग भएको बताएका थिए । त्यतिबेला उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने र रुपन्देही–२ बाटै चुनाव लड्ने चर्चा थियो ।