June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

नियम बिपरीत रोहिणीमा विद्यालय हातामा राजनीतिक कार्यक्रम

Advertisement

भैरहवा– गत बुधवार रुपन्देहीको धकधई क्षेत्रमा राजनीतिक चहलपहल बिहानैदेखि बढेको थियो । रोहिणी गाउँपालिकास्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय परिसरको खेल मैदानमा माइक घन्केको थियो । विद्यालय हातामा जताततै राजनीतिक दलका पर्चा पम्पलेट टाँसिएका थिए । राजनीतिक दलका स्थानीयदेखि केन्द्रीय तहसम्मका दर्जनौं नेताले राजनीतिक भाषण गर्दै स्थानीय जनताको ध्यान आफूप्रति केन्द्रित गरेका थिए ।

Advertisement

भाषण मार्फत् आफ्नो राजनीतिक दलको लोकप्रियता जनता सामु स्थापित गर्ने प्रयत्न गरिरहेका ती नेताहरुले विद्यालय हातामा राजनीतिक दलको कार्यक्रम गर्न नपाइनेप्रति भने सचेत देखिएनन् ।

प्रसङ्ग हो, जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको आमसभा तथा विरोध प्रदर्शन कार्यक्रमको । राजनीतिक कार्यक्रमका लागि विद्यालय परिसर प्रयोग गर्न नपाइने वारेमा ती नेतालाई जानकारी नभएको हो ? वा बेवास्ता गरेको हो ? प्रश्न उब्जिएको छ ।

गजवको कुरा त के छ भने त्यस कार्यक्रममा प्रमुख अतिथि पार्टीको केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामबचन यादव, लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले, रोहिणी गाउँपालिका अध्यक्ष बिद्याप्रसाद यादव लगायत सार्वजनिक पदमा रहेका नेता धेरैजना सहभागी थिए । उक्त कार्यक्रमले विद्यालयको पढाइ प्रभावित हुने भएपछि रोहिणी गाउँपालिकाले अघिल्लो दिन राती अवेरमात्र ३ दिनका लागि जाडो बिदा दिएको थियो । तर, उक्त बिदा दिइएको वारेमा गाउँपालिका कार्यालयमा कुनै लिखित निर्णय गरिएको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले पालिकाकै अध्यक्ष बिद्याप्रसाद यादवको निर्देशन बमोजिम गाउँपालिकामा रहेका विद्यालयहरुमा तीन दिनको जाडो बिदा दिइएको र यसबारेमा कुनै लिखित निर्णय नगरिएको बताए । ‘यस वारेमा प्राविधिक त्रुटी भएको हो’, उनले भने ।

विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल सरकारले विद्यालयलाई गरेको शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ ले बिद्यालय हाता क्षेत्रमा राजनीतिक दलका कार्यक्रम गर्न निशेध गरेको छ । तर, उक्त विद्यालयमा यो नियमको ठाडै उल्लंघन भयो । त्यो पनि गाउँपालिका अध्यक्षसहित राष्ट्रियस्तरका प्रभावशाली जिम्मेवार नेता र सार्वजनिक पदमा रहेका व्यक्तित्वको सहभागितामा ।

यस वारेमा कार्यक्रमका आयोजक प्रदेश अध्यक्ष रामअवतार यादवसँग सम्पर्क गर्दा उनले विद्यालयको खेलमैदान प्रयोग गर्न नपाइने जानकारी आफूलाई नभएको बताए । उनले कार्यक्रमका लागि अनुमति लिने जिम्मेवारी क्षेत्रीय समिति र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादबलाई रहेको जनाए ।

गाउँपालिका अध्यक्ष यादवले भने विद्यालय भवन भन्दा टाढा रहेको खेलमैदान भएकाले समस्या नहुने ठानेर कार्यक्रम गरिएको प्रतिक्रिया दिए । ‘विद्यालयका प्रधानाध्यापकसँग मौखिक अनुमति लिइएको हो’, यादवले भने, ‘पालिकाभित्र अन्य उपयुक्त स्थान नभएकाले खेलमैदान प्रयोग गरिएको हो ।’

विद्यालयका प्रधानाध्यापक अब्दुल हलिस खाँले पनि राजनीतिक दललाई विद्यालय क्षेत्र प्रयोग गर्न नपाइने विषय आफूलाई जानकारी नभएको स्वीकार गरे । यसअघि पनि जनमत पार्टीले यस्तै कार्यक्रम गरेको उनले बताए । ‘गाउँपालिका अध्यक्ष यादवले २३ गते कार्यक्रम छ, मैदान चाहियो भनेपछि पत्र दिनुस् भनेको थिएँ’, गाउँपालिका अध्यक्ष बिद्या यादवको भनाइलाई उदृत गर्दै प्रधानाध्यापक खाँले भने, ‘म गाउँपालिकाको अध्यक्ष हुँ, मागेपछि दिनुपर्छ भनेपछि मैले अनुमती दिएको हुँ ।’

विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ को परिच्छेद ४ अन्तर्गत मुख्य क्रियाकलापको (घ) मा विद्यालय हाताभित्र तथा वरिपरि विद्यालय सञ्चालनमा बाधा पुग्ने गरी राजनीतिक सभा, सम्मेलन, नारा–जुलुस वा विरोधसभा गर्न बन्देज गरिएको छ । यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीमा बुझ्दा विद्यालय सार्वजनिक सम्पत्ति भएकाले कुनै पनि राजनीतिक दलले प्रयोग गर्न नपाउने स्पष्ट पारिएको छ ।

विद्यालय हाताभित्र गरिने यस खालको राजनीतिक कार्यक्रमका घटनाले शिक्षा क्षेत्रको शान्ति र मर्यादामाथि गम्भीर प्रश्न उठाएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले राजनीतिक दल तथा अन्य कुनै पनि निकायले विद्यालय हाताको प्रयोग गर्दा सम्बन्धित पालिकाबाट अनुमती लिनु पर्ने र यस वारेमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पनि जानकारी दिनु पर्ने भन्दै हालै रुपन्देही जिल्लामा सर्वपक्षीय बैठक गरिएको बताए ।