अनाधिकृत रुपमा गरिएका बिज्ञापन सिद्धार्थनगरमा छ्यापछ्याप्ती


भैरहवा– बेलहिया सिमा नाकाबाट नेपाल प्रवेश गर्नासाथ राजमार्गको दुवै किनारामा रहेका सवै बिद्युत पोल तथा खाली स्थान बिज्ञापनको पर्चा पम्पलेटले छपक्क छन् । कतै बैदेशिक रोजगारीका लागि परामर्शका लागि त कतै विभिन्न बिदेशी भाषा कक्षा नामका पर्चा पम्पलेट । अधिकांश पर्चापम्पलेट विभिन्न रोगको भारतमा गरिने उपचारका बिज्ञापनसँग सम्बन्धित छन् ।
यस्ता रङ्गीचङ्गी पोल भैरहवा–बुटवल छ लेनको सडक खण्डको सडक किरनारमामात्र होइन । रुपन्देहीको जिल्ला सदरमुकाम समेत रहेको सिद्धार्थनगरको हरेक चोक र भित्री गल्ली गल्लीमा छ । उसै त टेलिफोन, टिभीको केबुल र इन्टरनेटको गुजिल्टिएको तारले कुरुप बनेको सिद्धार्थनगरका सडक किनाराका पोलहरु यस खालको बिज्ञापनका पर्चाले झन् कुरुप देखिएका छन् ।
यस खालका प्रचार प्रसार गरिएका पर्चा तथा पम्पलेट नटाँसिएको बिद्युतको पोल सिद्धार्थनगर क्षेत्रमा कतै बाँकी छैन । यस खालको बिज्ञापनले नगर नै कुरुप देखिन थालेको छ । गजवको कुरा त के छ भने, नगरपालिकाको स्विकृती तथा अनुमती नलिइकन यसरी बिज्ञापन सामाग्री टाँस्न पाइदैन । तरपनि नगरका यति धेरै पोलहरुमा अनाधिकृत रुपमा यसरी बिज्ञापन सामाग्री टाँस्दा पनि हटाउनेतर्फ नगरपालिकाको कुनै ध्यान गएको छैन ।
यस वारेमा नागरिक समाजले वारम्बार कुरा उठाएर नगरपालिकाका जिम्मेवार जनप्रतिनिधिदेखि कर्मचारीसम्मलाई ध्यानाकर्षण गराउँदा पनि नगरपालिका मौन बसेको छ । नागरिक समाजका अगुवा तथा भैरहवा मर्निङ वाक समूहका अध्यक्ष विजय सागर श्रेष्ठले यस वारेमा आफूले पटक पटक नगर प्रमुख, उपप्रमुख र जिम्मेवार कर्मचारीहरुको ध्यान आकृष्ट गराएपनि कुनै मतलव नगरेको बताउँछन् । ‘यस वारेमा धेरै पटक म आफैले उहाँहरुसँग कुरा गरेपनि कुनै प्रगती भएन’, पब्लिक कुरासँग श्रेष्ठले भने, ‘अनाधिकृत रुपमा बिदेशी प्रचार सामाग्री छ्याप्छ्याप्तै नगर भरी टाँसेर नगर नै कुरुप हुँदासम्म पनि हाम्रा जनप्रतिनिधि र कर्मचारीलाई कुनै लाज छैन ।’

नगरपालिका र आसपास क्षेत्रमा यसरी टाँसिएका प्रचार सामाग्री ९५ प्रतिशत भन्दा धेरै पायल्स, फिस्टुला, गुप्तरोग, धातुरोग, हाइड्रोशिल, वावासिर, भगन्दर जस्ता स्वास्थ्य समस्या समाधान गरिने भन्दै भारतीय बिज्ञापन सामाग्री छन् । बिदेशी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले यसरी अनाधिकृत रुपमा गरेको प्रचारको वास्तविकता के छ ? भन्ने वारेमा बुझ्ने काम नेपालको प्रशासनिक क्षेत्रबाट समेत हुन सकेको छैन । स्वास्थ्य उपचार गराउने नाममा कतै नेपाली नागरिक त्यस्ता ठाँउमा उपचार गराउँदा ठगिएका त छैनन् ? वा स्वास्थ्य समस्या झन् जटिल त बनेको छैन ? भन्ने प्रश्न अहम छ ।
सम्बन्धित बिषयको बिज्ञ बिनाका गैर प्राविधिकले उपचार गर्ने र बिरामीलाई ठग्ने प्रवृत्ति भारतीय सिमावर्ती क्षेत्रमा हुने र स्वघोषित आफूलाई चिकित्सक बताउँदै शल्यक्रियासम्म गरिदिने प्रचलनले बिरामीको अवस्था झन जोखिममा पर्ने गरेको जानकारहरु बताउँछन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगरक्षेत्रका विभिन्न पोल तथा सार्वजनिक स्थानमा टाँसिएका पम्प्लेटहरू अवैधानिक भएको बताउँछन् । यस्तो कार्य कानुनविपरीत रहेकाले जो कोहीले समेत पम्प्लेट टाँसेको पाइए कानुनी दायरामा ल्याई कारबाही गरिने उनले बताए । ‘पोलमा टाँसिएका सबै पम्प्लेट हटाउन नगर प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ थापाले भने ।
नगर क्षेत्रका पोलहरुमा भारतीय बिज्ञापनमात्र नभएर स्वदेशकै पनि विभिन्न भाषा शिक्षा तथा बैदेशिक रोजगारीका लागि भन्दै बिज्ञापनका पम्पलेट टाँसिएका छन् । तर, त्यस्ता भाषा कक्षा सञ्चालन गर्ने र बैदेशिक रोजगारीका लागि संस्थाको आधिकारिकताको वारेमा कुनै मतलव गरिएको छैन ।
सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य अधिकृत माधबप्रसाद ज्ञवालीले पनि ती पम्प्लेटहरूमा कुनै तथ्यगत आधार नरहेको जनाउँदै जनताले यस्ता भ्रमपूर्ण प्रचारप्रति विश्वास नगर्न आग्रह गरे । ‘यस्ता पम्प्लेटहरू कानुनी रूपमा समेत अवैधानिक छन्,’ ज्ञवालीको भनाइ छ ।
नगर क्षेत्र भरी यतिधेरै अनाधिकृत रुपमा प्रचार गरिरहँदा नगरपालिकामा ठूलोे धनराशी खर्च गरेर धेरै संख्यामा तैनाथ गरिएका नगर प्रहरीलाई के कामको प्रयोजनमा खटाइने गरिन्छ ? भन्ने प्रश्न नगरपालिकाप्रति तेर्सिन थालेको छ ।








प्रतिकृया दिनुहोस्