June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

अँ के, म त बैंकर पो …

Advertisement

मानिसहरु भन्छन्– ‘बैंकमा काम गर्छौ, पैसा त प्रशस्तै होलानी ?, पैसाको खानी, एटिएम हौ यार तिमी त’ । मनमनै सोंच्छु अनि मुस्कुराउँछु, छ नी बैंकमा त, तर अरुको । म अचम्म मान्दिनँ । किनकी समाजको आँखामा बैंकर भनेको पैसाको भण्डार र चल्तीको नोट जस्तै जहाँ चाह्यो त्यही निकाल्न मिल्ने प्राणी हो । म पैसाको मालिक, नोट छाप्ने मेसिन, मान्छेले हेर्दा राष्ट्र बैंकको गभर्नर । किनकी म त बैंकर पो… ।

Advertisement

बैंक खुल्नुभन्दा अघि मेरो अलार्म बज्छ, मेरो आँखा खुल्छ, तर मेरो सपना अभैm सुतेको हुन्छ । बैंक बन्द भएपछि पनि मेरो टेन्सन बन्द हुँदैन । कम्प्युटर अफ हुन्छ, तर दिमागमा हिसाव मिलान अनलाइन नै हुन्छ । सुट टाइवाला म ऐनामा हेर्दा सफल देखिन्छु तर मलाई मेरो मनले भन्छ– तं झुटो छस् ।

बैंकभित्र पस्दा हामी सुट–टाइका कवज लगाएका आधुनिक युगका योद्धा हौं । हाम्रो युद्ध हुन्छ– गलत अंकसँग, क्लोजिङ टाइमसँग, र ‘सर पाँच मिनेट मात्र’ भन्ने वाक्यसँग । कहिलेकांही त लाग्छ– मान्छेहरुले हामीलाई गुगल सर्च इन्जिन ठानेका छन् । ‘लोन कति मिल्छ ?, सरकारी बैंक ढिलो पो हुन्छ कि ? मेरो काम तुरुन्तै हुन्छ नि ? पैसा काट्यो तर उता गएन, पैसा काट्यो तर एटिएमले फालेन । सिस्टम चलेन, बैकल्पिक व्यवस्था गर्नु पर्दैन ?’ सबै प्रश्नको उत्तर मेरो टेवलमाथि नै हुनुपर्छ रे ! दिनभर, कोही भन्छ– ‘सर पैसा तुरुन्त चाहियो, कोही भन्छ सर नियम त तपाईंले बनाएको हो नी,’ मनले भन्छ, सोंच्छु नियम बनाउने हामी होइनौं, हामी त नियममा बाँधिने कैदी हौं ।

घरमा भने म कुनै बैंकर होइन । मेरो पदवी काम लाग्दैन घरमा । न त ब्याज चल्छ, न पेनाल्टी माफ हुन्छ, न रिकभरी न त लगानी नै । ‘बच्चाको मौन प्रश्न र भान्साबाट आउने खामोस आवाज’– मेरा लागि सबैभन्दा कडा सजायँ ।

‘बैंकमा काम गर्ने तलब त एक डेडलाख होला है,’ ‘के च्या खाको पैसोनी हामीलाई तिराउँछस यार,’ ‘आज जाऊ गुड फ्राइडे बैंकर साथी भएसी हामीलाई के टेन्सन,’ ‘यो बाट त दरो गिफ्ट आउँछ,’ ‘ओए, बैंकर भएर नि कस्तो जुत्ता लगाएको…’ घडेरी कति ठाउँमा किनिस बे, …’ मात्र हो र ‘यिनी त बैंकरको श्रीमती पो हुन, आज यिनले खर्च गर्छिन्,’ (श्रीमतीलाई)… ‘तेरो बाउ त बैंकमा होइन र के लोब गरिरा… (छोरालाई) ।’ मेरो समाजको प्रश्न वा भनौ अपेक्षा । अरुको नजरमा बैंकमा काम गर्नेको जिन्दगी सेट हुन्छ, सेट त हुन्छ तर कम्युटरको सेटिङ जस्तै अलिकति गडबड भयो कि पुरै सिस्टम ह्याङ् ।

दिनभरी अरुको पैसा गन्छु, तर आफ्नै समय गन्न भ्याउँदिन । अरुको सपनामा ऋणको साइन गर्छु । आफ्नो सपनालाई दराजमा थन्काउन बाध्य छु । मेरो हाँसो औपचारिकताका लागि हुन्छ । तर त्यो हाँसोभित्र लक्ष्यको दवाव, ग्राहकको गुनासो, त्रुटी हुन नदिनु पर्ने सतर्कता अनी समयसँगै दौडिरहेको जिम्मेवारी लुकेको हुन्छ । गल्ती शुन्य हुनुपर्छ किनकी एउटै अंकको भूलले इमान्दारितामाथि प्रश्न उठ्छ । अरुको खातामा खुसी भर्र्ने म आफ्नो डायरी थकान र बेदनाले भर्ने गर्छु ।

मानिसहरु बैंक बन्द भएपछि ढोका ढकढकाउँछन्, ‘थोरै काम बाँकी छ ।’ उनीहरुलाई थाहा छैन मेरो पनि घरमा कसैले बाटो हेरिरहेको छ । कोही आउँछन् आशा बोकेर, कोही आवेग बोकेर त कोही अकारण रिस बोकेर ।

बैंकभित्रको जिन्दगी तिमीले सोंचेजस्तो एसी र कुर्सी मात्र होइन । यो त अंकसँगको अखडा हो, जहाँ गल्ती गर्नेलाई ताली होइन, अडिटले स्वागत गर्दछ । सिस्टमले सम्झाउँछ, सिनियरबाट सोधिन्छ…।

तर, गुनासो मात्र होइन, त्यो भन्दा बढी गर्व छ मलाई, बैंकर हुनुमा । कसैको व्यवसाय उभिन मद्दत गर्दा, कसैको घर बन्ने सपना पुरा हुँदा, कसैको छोराछोरीका भविष्य सुरक्षित भएको देख्दा, मन भित्रैबाट सन्तोषको सानो दीप बल्छ । म पैसाको मात्र होइन, विश्वासको रक्षक हो । आर्थिक सहयोद्धा ।

संवेदनशिल र महत्वपूर्ण क्षेत्र हो बैंकिङ । अझ बढी सुझबुझ र जिम्मेवार बन्नुपर्छ हामी । हामी माथिको विश्वास सदैव बरकरार हुनुपर्छ । बैंकिङ प्रणाली व्यवस्थित, विश्वाशिलो र धेरैको पहुँचमा हुँदा मात्र समाजको उन्नयनमा टेवा पुग्छ । त्यही जिम्मेवारीको आत्मवोध छ म मा ।

ए श्रीमती, ए छोराछोरी, ए आफन्त, ए समाज– तिमीले मलाई देख्दा सायद एटिएम सम्झियौ, नोटको दराज सम्झियौ, पैसाको भकारी सम्झियौ, ति सबै मेरै हुन तर मेरो बैंकको, सर्वसाधारण जनताको– न की मेरो व्यक्तिगत । किनकी म बैंक होइन नि त । म त बैंकर पो… ।
(अर्याल, राष्ट्रिय वाणिज्य बैंक, भैरहवा शाखामा सहायक म्यानेजरको रुपमा कार्यरत छन् ।)