June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

राजमार्गमा ट्राफिक प्रहरीको चालकसँग ३ मिनेट कार्यक्रम

Advertisement

भैरहवा–एक हप्तादेखि भैरहवा लगायत पश्चिम तराई क्षेत्रमा बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ । मौसममा आएको यो परिवर्तन सँगै चिसो एक्कासी बढ्न थालेको छ । चिसोका कारण सडकमा यात्रुको आवागमन घट्दो छ । जरुरी काम बाहेक सर्वसाधारण घरबाट बाहिर निस्किन छाडेका छन् ।

Advertisement

बाक्लो हुस्सु, कुहिरो र शीतलहरको प्रकोप बढ्न थालेपछि भैरहवा आसपासका क्षेत्र र रुपन्देहीमा रहेका मुख्य राजमार्ग तथा अन्य सडकहरुमा भने ट्राफिक प्रहरीको उपस्थिती बढ्न थालेको छ । यसको मुख्य कारण हो, जाडो याममा यात्रुलाई ट्राफिक सचेतना जगाउँदै दुर्घटनाको जोखिम कम गराउनु ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले हुस्सु कुहिरो र शीतलहर बढेपछि सडकमा दुर्घटनाको जोखिम बढ्न थालेको बताउँछिन् । ‘यस्तो मौसममा सडकमा दुर्घटनाको जोखिम बढ्दो हुन्छ, बिशेष गरि दुई पाँग्रे सवारी साधनमा’ पब्लिककुरासँग कार्कीले भनिन्, ‘तेसैले यतिबेला ट्राफिक प्रहरीको उपस्थिती सडकमा बढ्न थालेको हो ।’

अघिल्लो सोमवार बिहानै हुलाकी राजमार्ग अन्र्तगत भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी गाउँपालिका–३, परासीझुमामा सडक किनारमा रोकिराखेको भारतीय ट्रकसँग परासीबाट भैरहवातर्फ आउँदै गरेको एउटा नेपाली नम्बरको मोटरसाइकल ठोक्कियो । मोटरसाइलमा यात्रा गरेका दुईजना यात्रुको मृत्यु भयो । दुर्घटनाको कारण थियो, बाक्लो हुस्सुु र कुहिरोले सडकको दुरी धेरै नदेखिनु । जाडोमा छिटो गन्तब्यमा पुग्न चालकले तिब्र गतीमा चलाउनु । शीतलहरले बाटो चिप्लो हुँदा सवारी साधन रोक्न चालकले ब्रेक लगाउँदा सडक चिप्लेर ब्रेक नलाग्नु ।

सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले बढि आवागमन हुने र सडक दुर्घटनाबाट बढि जोखिम भएको क्षेत्रको पहिचान गरि सडकमैं ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । सडक तथा राजमार्गमा खटिएका ट्राफिक प्रहरीले दुई पाँग्रे सवारी चालकलाई रोक्न लगाएर ‘एकै छिन हाम्रो कुरा सुनिदिनु है’ भन्दै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चलेको बेलामा कसरी सुरक्षित ढंगले सवारी चलाउने ? भन्ने वारेमा ३ मिनेटको प्रशिक्षण दिने गर्छन् ।

यस खालको ट्राफिक सचेतना कार्यक्रमलाई ‘चालकसँग ३ मिनेट ट्राफिक प्रहरी’ को नाम दिइएको छ । यो सचेतना कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका मंगलापुर, धकधही, बेथरी, लुम्बिनी, सालझण्डी, छपियाले पनि सञ्चालन गर्ने गरेका छन् ।

प्रहरी निरीक्षक कार्कीले हुस्सु कुहिरो र शीतलहर चलेको वेलामा सवारी चालकले आँखाले कम दुरी देख्ने गरेपनि जर्वजस्ती चलाउने, हेल्मेटको फित्ता नबाँध्ने, जाडोमा चाँडो गन्तब्यमा पुग्ने भन्दै ओभर स्पिडमा चलाउने, जाडो हटाउन भन्दै मादक पदार्थ सेवन गरेर चलाउने जस्ता लापरवाही चालकले गर्ने गरेको पाइएको बताइन् । उनका अनुसार, हुस्सु कुहिरो र शीतलहर चल्न थालेपछि रुपन्देहीमा सडक दुर्घटनाबाट ६ जनाको मृत्यु भैसकेको छ ।

‘सडकमा भिजिविलिटी कम हुँदा र शीतलहरले सडक चिप्लेर सवारीसाधन अनियन्त्रित हुन थालेकाले सडक दुर्घटनाको जोखिम बढेको छ’ उनले भनिन, ‘बाक्लो हुस्सु र कुहिरोले नजिकै भएको बस्तुपनि देखिँदैन । ठोक्किनै लागेपछि देखेर ब्रेक लगाउँदा शीतलहरको चिसोले चिप्लेर ब्रेक लाग्दैन र अनियन्त्रित भइ पल्टिने गर्छ ।’

‘चालकसँग ३ मिनेट ट्राफिक प्रहरी’ ट्राफिक प्रहरी सचेतना कार्यक्रम बाक्लो हुस्सु, कुहिरो र शीतलहरको प्रकोप रहुञ्जेल सञ्चालन गरिने कार्कीले जनाइन् । तीन दिनदेखि सुरु गरिएको यो सचेतना कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट मात्रै ४ सय भन्दा धेरै चालकलाई प्रशिक्षण दिइएको जनाइएको छ ।