June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

भारतमा हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली कराँते खेलाडीले स्पर्धा गर्ने

Advertisement

भैरहवा– नेपाली राष्ट्रिय कराँते टीम भारतमा हुने अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन जाने भएको छ । जापान गोजुरियो कराँते डो मिसन संघ नेपालको नेतृत्वमा नेपाली टीम भारत जान लागेको हो । संघले मंगलबार भैरहवामा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको हो । भारतको महाराष्ट्रस्थित पुणेमा यही पुस पुस १४ र १५ (डिसेम्बर २९ र ३०) गते १७ औं अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिप–२०२५ हुँदैछ ।

Advertisement

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरुको सहभागिताता रहनेछ । उक्त प्रतियोगितामा नेपाली टीमको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक काजी रानासहित भारत जाँदैछन् । नेपाली टीममा २२ कराँते खेलाडी, प्रशिक्षक र अफिसियल ६ जना गरी २८ जना सहभागी हुनेछन् । संघका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरुमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक जित्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रशिक्षक तथा संघका संस्थापक काजी रानाले प्रशिक्षण अनुशासन, शिक्षा खेल कौशल हेरेर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने विश्वास व्यक्त गरे । उनले नेपाली टीमले आर्थिक अभाव लगायतका कारण भारत बाहेक अन्य देशमा प्रतियोगितामा सहभागी हुन जान नसकेको गुनासो गरे ।

संघका लुम्बिनी प्रदेश सल्लाहकार भरत केसीले नेपालको मान राख्न खेलाडीहरुलाई शुभकामना दिए । उनले राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्ने विश्वास गरे । कुनै तहका सरकारले सहयोग नगरेको उनको दुखेसो थियो ।

प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरु लुम्बिनी प्रदेशका जिल्लाहरुका छन् । संघका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा गर्नेछन् । नेपाली टीम यसअघि २०१७, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो ।