June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

थुनामुक्त भए रास्वपा सभापति लामिछाने

Advertisement

भैरहवा– रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ भैरहवा आइपुगेका लामिछानेले रुपन्देही अदालतमा उपस्थित भएर धराटी बुझाएर थुनामुक्त भएको अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।

Advertisement

उनी शुक्रबार साँझ ५ बजेर ३७ मिनेटमा अदालत उपस्थित भएका थिए । बिहीबार बुटवलस्थित तुलसीपुर उच्च अदालत बुटवल इजलासले लाछिानेलाई धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालत उपस्थित भएका हुन् । खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रुपन्देही आइपुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दाको आरोपमा उनी यसअघि उच्च अदालतको आदेशले पुर्पक्षका लागि थुनामा थिए । यसपछि उनले आफ्नो भागमा पर्ने रकम बुझाएर थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए । रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको थियो । अदालतबाट प्रक्रिया पूरा गरेपछि थुनामुक्त भएका लामिछानेले समर्थकहरुलाई समेधन गर्दै न्यायको लडाइँ अझै बाँकी रहेको जनाए ।

रुपन्देही अदालतका सूचना अधिकारी अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै काम सकिएको जनाए । जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गरिएको थियो ।

लामिछाने अदालत उपस्थित हुने खबरपछि विहानैदेखि जिल्ला अदालत परिसर र गौतमबुद्व विमानस्थल बाहिर कार्यकर्ताको भीड लागेको थियो । दिउँसो विमानस्थलको रुट परिवर्तन भएपछि कार्यकर्ता विमानस्थलबाट अदालत केन्द्रित भएका थिए । लामिछानेको स्वागतका लागि अदालत बाहिर समर्थकको भीड लागेको थियो । साँझ अबेरसम्म समर्थकले नाचगान गरेका थिए भने रविका पक्षमा नाराबाजी गरेका थिए । लामिछानेसँगै रास्वपा सभापति डीपी अर्याल र उनकी धर्मपत्नी निकिता पौडेल पनि भैरहवा आएकी थिइन् ।