रुद्रकली र खगेन्द्र हात्ती भैरहवाबाट कतार उड्दै


भैरहवा– चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका रुद्रकली र खगेन्द्र हात्तीको जोडीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाइने भएको छ । उपहारस्वरुप कतार पठाउन दुबै हात्तीलाई सोमबार चितवनबाट भैरहवा ल्याइँदै छ । हात्तीलाई सोमबार चितवनको सौराहाबाट बिदाइ गरिँदैछ ।
चितवन निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले हात्ती पुस २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उड्ने जानकारी दिए । २०८१ वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका रुद्रकली र खगेन्द्रलाई कतार पठाउन लागिएको हो । खगेन्द्रप्रसाद भाले र रुद्रकली पोथी हात्ती हुन् । उनीहरु दुवै ६–६ वर्षका छन् ।
वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) सम्बन्धी नियम पालना लगायतका प्रक्रिया पूरा गर्दा हात्ती पठाउन ढिला भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता विभिन्न देशलाई जनावर उपहार दिने चलन छ । हात्ती दिन लागिएको भने पहिलोपटक हो ।
अहिलेसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ । एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा पनि उपहार दिइएको छ । सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगायत देशलाई गैंडा उपहार दिएको छ ।
गौतमबुद्ध विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकुमार शाहले सोमबार रातिसम्म हात्ती भैरहवा ल्याइ पुर्याइने जनाए । ‘आज यहाँ ल्याएपछि हात्ती २ गतेसम्म रहन्छ’, उनले भने, ‘त्यसपछि कतार पठाइनेछ ।’








प्रतिकृया दिनुहोस्