लुम्बिनीमा ५ जिल्लाबाट कांग्रेस उम्मेदवारको नाम सिफारिस भएन


भैरहवा– नेपाली कांग्रेसले महाधिवेशन र फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी एकसाथ बढाएको छ । एकातिर कार्यकर्ता पार्टीका अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । अर्कोतिर प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस चलिरहेको छ ।
लुम्बिनी प्रदेशमा पनि आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया जारी छ । पार्टीको निर्देशनअनुसार क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा सिफारिस पठाउने र जिल्ला कार्यसमितिले प्रदेश समितिमा पठाउने व्यवस्था छ ।
लुम्बिनी प्रदेशका १२ जिल्ला कार्यसमितिमध्ये हालसम्म ७ जिल्लाबाट सिफारिस प्रदेश पार्टी कार्यालयमा आइसकेको लुम्बिनी प्रदेश सभापति अमर पुनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७ जिल्लाबाट सिफारिस प्राप्त भइसकेको छ भने बाँकी ५ जिल्लाबाट आउने क्रममा छन् ।
कांग्रेसले मङ्सिर २६ गते साँझसम्म जिल्लाबाट प्रदेशमा सिफारिस पठाउनुपर्ने समयसीमा तोकेको थियो । तर अहिलेसम्म बर्दिया, नवलपरासी, गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लाबाट प्रदेश कार्यसमितिमा सिफारिस पठाउन बाँकी छ ।
ती जिल्लामध्ये केहीमा क्षेत्रबाट सिफारिस आए पनि जिल्लाले प्रदेशमा पठाउने प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाइएको छ भने कतिपय जिल्लामा अझै निर्णय टुङ्गो लाग्न बाँकी छ । सभापति पुनका अनुसार क्षेत्रबाट सिफारिस आए पनि जिल्लाले बुझ्ने र समन्वय गर्ने क्रममा ढिलाइ भएको हुनसक्छ, तर अधिकांश स्थानमा क्षेत्रीय समितिले सिफारिस पठाइसकेका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । अर्घाखाँची, रोल्पा र रुकुम पूर्वी जिल्लामा एक–एक निर्वाचन क्षेत्र छन् । क्षेत्रबाट आएका सिफारिस जिल्ला हुँदै प्रदेशमा पठाइनुपर्ने व्यवस्था छ ।








प्रतिकृया दिनुहोस्