October 8, 2026, Thursday
२०८३ आश्विन २३ शुक्रबार

साना हतियारको त्रास

Advertisement

भैरहवा – लुम्बिनी प्रदेशका सिमावर्ती जिल्लामा साना हतियार प्रयोग गरेर घटना हुन थालेपछि सर्वसाधरण त्रसित बनेका छन् । यस्ता घटनामा भारतीय नागरिक र हतियारको प्रयोग भएको पाइएको छ । यसले झन डर लाग्न थालेको नागरिक सुनाउँछन् ।

Advertisement

एक महिनाअघि भैरहवाको निर्वाणा होटल परिसरमा भारतीय नागरिकले एक नेपालीमाथि पेस्तोलबाट गोली प्रहार गरेका थिए । गोली प्रहारको घटना सीसीटीभी फुटेजमा कैद भए पनि अहिलेसम्म गोली प्रहार गर्ने व्यक्ति र हतियार फेला पर्न सकेको छैन ।

प्रहरीले उक्त घटनाको अनुसन्धान लम्बिए पनि संलग्न व्यक्ति र हतियार पत्ता लाग्ने विश्वास जनाएको छ । लगत्तै प्रहरीले भैरहवा र सिमापारी भारतसम्म हतियारको खोजी गरे पनि पेला नपरेको जनाएको थियो । अहिले पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका–३, मा पनि दोहोरिएको छ । उक्त वडाको पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट शुक्रबार राति कटुवा पेस्तोल १ थान र २ राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद रमजान र भारत थानाबासी मरचहवा बस्ने ४२ वर्षीय सञ्जय पासी छन् ।

इलाका प्रहरी सूर्यपुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै प्रदेश राजधानी रहेको दाङको लमही नगरपालिका–५ स्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार हुँदा एक जना घाइते भएका छन् । गोली प्रहारबाट सुन पसलमा काम गर्ने कालिगढ १८ वर्षीय दीपक सुनार घाइते भएका थिए ।

उक्त गोली प्रहारको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली हानेर एक व्यक्ति भागेका थिए । अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई घोराहीबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ । तर, पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन । ‘घटनामा संलग्न भएको व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘ती व्यक्तिले सुनचाँदी पसललाई फोन गर्दै आफूलाई धेरै सुन चाहिएको भनेको खुलेको छ ।’