June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

काँग्रेसको महाधिवेशन मिति तोकिनु लोकतान्त्रिक यात्राः मन्त्री तिमिल्सिना

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री एवं नेपाली काँग्रेसका नेता जन्मजय तिमिल्ल्सिनाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा लामो समयदेखि चल्दै आएको बहस, मतभेद र निरन्तर संवादपछि नेता, कार्यकर्तामा उत्साह आएको जनाएका छन् । उनले महाधिवेशनको मिति पुस २६ देखि २८ गते सम्म निर्धारण हुनु पार्टीको लोकतान्त्रिक यात्रा र संस्थागत संस्कारको महत्वपूर्ण उपलब्धि भन्दै नेता–कार्यकर्तामा उत्साह देखिएको जनाएका हुन् । विशेष वा नियमित महाधिवेशन भन्ने विषयमा उठेका वैचारिक बहसहरूले पार्टीभित्रको सक्रिय सहभागिता र लोकतान्त्रिक चेतनालाई झनै स्पष्ट बनाइदिएको उनले बताएका छन् ।

Advertisement

‘सबैभन्दा पहिले, म पार्टी सभापति तथा श्रद्धेय नेता शेरबहादुर देउवाज्यूप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु । आन्तरिक बहस, आलोचना र मतभेदका बीच पनि पार्टीलाई विभाजन होइन– सम्झौता, संयम, छलफल र सहमतितर्फ उभ्याउँदै महाधिवेशनको मिति तोक्ने साहसिक र परिपक्व निर्णयले उहाँको राजनीतिक संस्कार, जिम्मेवारी र संस्थागत प्रतिबद्धताको उज्वल उदाहरण देखाउनु भएकोछ’, उनले बुधबार फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन् ।

पार्टीबाट विदाई हुँदै गर्दाको परिस्थितिमा समेत संगठनलाई कमजोर हुन नदिन गरेको प्रयास अमूल्य रहेको जनाउँदै सभापतिप्रति सम्मान व्यक्त गरेका छन् । ‘सम्पूर्ण केन्द्रिय कार्यसमितिका पदाधिकारीहरू, नेतृत्व पंक्ति तथा केन्द्रिय कार्यसमितिलाई पनि विशेष धन्यवाद प्रकट गर्न चाहन्छु । लामो समयको संवाद, बैठक, सुझाव–विचार र साझा प्रयासबाट नै हामी आज एक निष्कर्षमा पुग्न सकेका छौँ । यो नैतिक जिम्मेवारी, संगठनप्रति समर्पण र लोकतान्त्रिक अभ्यासकै प्रतिफल हो’, उनले भनेका छन् ।

आजको राजनीतिक युगमा लोकतान्त्रिक विधि मात्र पार्टीको आन्तरिक संयन्त्र होइन पार्टि भित्रका विकृति विसङ्गतिको मुद्दालाई पनि पार्टीले प्राथमिकता दिएर र देश तथा समाजलाई रुपान्तरण गर्न आवश्यक छ, यो समय नै नागरिकलाई मार्गदर्शन गर्ने समय पनि भएको जनाएका छन् ।

कांग्रेसले पछिल्ला विवादलाई आपसी सहमति बाटनै समाधान गर्दै महाधिवेशनको बाटो खुला गर्नु आम नागरिकको भरोसा बढाउने सकारात्मक सन्देश बनेको जनाएक छन् । यसले कांग्रेस सदैब लोकतान्त्रिक संस्कृति र राजनीतिक परिपक्वताको दल हो भन्ने धारणा बलियो बनाएको बताएका छन् । साथै अधिवेशनका सन्दर्भमा सुझावहरू प्रस्तुत गर्दै भनेका छन्, ‘अबको कांग्रेसको भविष्य युवासँग जोडिएको छ ।’

१)पार्टीले गुटगत सोचभन्दा माथि उठेर युवा पुस्तालाई समेटेर संगठनका सबै तहमा योग्यता, मिहिनत, योगदान र आवश्यकताका आधारमा अवसर प्रदान गर्नु आवश्यक छ ।
२) युवाहरुको सबैभन्दा ठूलो चुनौती रोजगारको अभाव हो यसलाई समाधान गर्न कांग्रेसले आफ्नो घोषणा–पत्रमा स्पष्ट रोजगार केन्द्रित कार्यक्रम समावेश गर्नैपर्छ, देशमै रोजगारी सिर्जना, सीप विकास, प्रविधिमा आधारित अवसर र उद्योग विस्तार जस्ता विषयलाई पार्टीका प्राथमिकतामा राख्न आवश्यक छ ।
३) युवालाई राजनीति मात्र होइन, आर्थिक उत्पादन र सामाजिक परिवर्तनका केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।

उनले भनेका छन्, ‘हामी सबैको महाधिवेशनमा सामूहिक प्रतिबद्धताको आवश्यकता रहेकोछ, अब महाधिवेशनको मिति तय भइसकेपछि, सबै तह–तप्का र विचारधाराका साथीहरूलाई म विनम्र अनुरोध गर्दछु । महाधिवेशनलाई सफल, प्रेरणादायी र परिवर्तनमुखी बनाउन सबैजना आ–आफ्नो भूमिकाबाट सक्रिय रूपमा लागौँ । आफ्नो सुझाव, योगदान, आलोचना र भावनालाई सबैले संस्थागत प्रक्रियामा रूपान्तरण गर्ने ऐतिहासिक अवसर यही हो ।’

यसै क्रममा, ‘जेन्जी आन्दोलन’ले उठाएका नवीन सोच, परिवर्तन, पारदर्शिताको भावनालाई समेटेर कमिकमजोरीहरुलाई सुधार गर्दै युवाहरुलाई नवीन प्रविधिसँग जोडेर पार्टीलाई युग अनुसार रूपान्तरण गर्दै लोकतान्त्रिक पद्धतिमा अगाडि बढ्ने छ भन्नेमा आफू पूर्णतः विश्वस्त रहेको उनले जनाएका छन् । ‘यस आन्दोलनको मर्म र उद्देश्यलाई संस्थागत यात्रामा समाहित गर्दै अघि बढ्न हामी सक्षम छौँ भन्ने दृढ विश्वास प्रकट गर्दछु’, उनले भनेका छन् ।

नेपाली कांग्रेसलाई अझ एकताबद्ध, जनमुखी र भविष्यउन्मुख संगठनका रूपमा उभ्याउने जिम्मेवारी सबैको साझा दायित्व रहेको जनाउँदै लोकतन्त्रलाई बलियो बनाउने यो अभियानमा आफू निरन्तर सहयोग, सुझाव र जिम्मेवारीका साथ सम्पूर्णमा अघि बढ्न अनुरोध गरेका छन् ।

१५औं महाधिवेशनमा एक सक्षम, पारदर्शी, आजको आवश्यक अनुसार भोलिको कार्यदिशा तय गर्ने लोकतान्त्रिक विधि विधान अनुरुप चल्ने, सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको नेतृत्व आउने विश्वास तिमिल्सिनाले गरेका छन् ।