June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

पत्रकारिताका मुद्दामा लुम्बिनी प्रेस क्लब र काशी पत्रकार संघबीच सहकार्य हुने

Advertisement

भैरहवा– सीमा क्षेत्रका मुद्दा र दुई मुलुकका पत्रकारिता सम्बन्धी असल अभ्यासबारे लुम्बिनी प्रेस क्लब र भारतको बनारसस्थित काशी पत्रकार संघबीच सहकार्य हुने भएको छ । रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको प्रेस क्लबको टीम र काशी पत्रकार संघबीच भएको छलफलमा उक्त निर्णय गरिएको हो ।

Advertisement

भारतको महाराज प्रेस क्ल्बको समन्वयमा आइतबार बनारसमा भएको छलफल कार्यक्रममा लुम्बिनी प्रेस क्लब र काशी पत्रकार संघबीच सिमापार समाचारका विषय, पत्रकार हकहितका मुद्दा र बुद्ध जन्मस्थल लुम्बिनी र बाबा विश्वनाथ धाम काशीको संयुक्त रुपमा प्रवद्र्धन गर्ने सहमती भएको हो ।

‘दुई पत्रकारका संस्थाबीच भएको छलफलमा पत्रकारिताका मुद्दामा एकजुट भएर काम गर्ने सहमति कायम भएको छ । दुबै संस्थाबीच सिमापार समाचारका मुद्दामा सहकार्य गर्ने, धार्मिक र ऐतिहासिक स्थलको प्रवद्र्धन गर्ने सहमती भएको हो’, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले भने, ‘प्रेस क्लबले पत्रकारितासित सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासित भगिनि सम्बन्ध बिस्तारलाई जोड दिँदैं आएको छ । यसै क्रममा आइतबार प्रेस क्लब र काशी पत्रकारसंघबीच बनारसमा छलफल आयोजना गरिएको थियो ।’

काशी पत्रकार संघका अध्यक्ष अरुण मिश्रले ८५ वर्ष पुरानो संस्थाले अहिले पनि स्वतन्त्र पत्रकारिता र सम्पादकीय मर्यादालाई आत्मसाथ गरेर अगाडि बढेको जानकारी दिए । भारतका सहरमा प्रेस क्लब स्थापना गर्ने परम्परा रहे पनि बनारसमा काशी पत्रकार संघ पत्रकारिता क्षेत्रको वैभवका रुपमा कायम रहेको बताए । यही संघ अन्तर्गत बनारस प्रेस क्लब पनि छ । संघको कार्यालयमा भएको छलफलमा बनारसका प्रतिष्ठित पत्रकार र सञ्चारकर्मीको सहभागिता थियो । त्यसक्रममा नेपाल र भारतको महाराजगन्जबाट अध्ययन भ्रमणमा पुगेका पत्रकारलाई कार्यालयको अडिटोरियम हल, पुस्कालय र अतिथि गृह अवालोकन गराइएको थियो ।

महाराज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले यसअघि लुम्बिनी प्रेस क्लबसित सहकार्यमा सीमा क्षेत्रमा रहेर नेपाल र भारतका धार्मिक, ऐतिहासिक र पर्यटकीय मुद्दामा समाचार सम्प्रेषणका साथैं आपसी सदभाव बृद्धिका क्रियाकलाप सञ्चालन गरिँदैं आएको जानकारी गराए । यसपटक परम्परादेखि भाषा, संस्कृति, शिक्षा र राजनीतिको केन्द्रको रुपमा रहेको बनारस क्षेत्रको अध्ययन भ्रमणका लागि संयुक्त रुपमा आएको बताए । ‘दुबै मुलुकका पत्रकार काशी क्षेत्र अध्ययन भ्रमणमा आउँदा काशी पत्रकार संघलाई भुल्न सकेनौं,’ उनले भने, ‘यहाँ आएर छलफल गर्दा पत्रकारितामात्र संस्थागत बिकासका बारेमा पनि सिक्ने अवसर मिल्यो ।’

लुम्बिनी प्रेस क्लबका अध्यक्ष रायमाझीले नेपालका पत्रकारको छाता संगठनका रुपमा पत्रकार महासंघ भए पनि स्वतन्त्र रुपमा गठित प्रेस क्लबले पत्रकारको क्षमता अभिबृद्धि र उनीहरुलाई स्वदेश र बिदेशका महत्वपूर्ण स्थानको भ्रमण गराएर लेखन क्षमता बिकास र ज्ञानको दायरा बृद्धिमा भूमिका खेल्दैं आएको जनाए । यसक्रममा बिदेशमा रहेका प्रेस क्लबसित भगिनि सम्बन्ध कायम गर्दै आएको बताए ।

प्रेस क्लबले अहिलेसम्म भारतको सिक्किम प्रेस क्लव, महाराज प्रेस क्लवसित भगिनि सम्बन्ध कायम गरिसकेको छ । काशी पत्रकार संघसित पनि समन्वय र सहकार्यका लागि आइतबार भेटघाट गरिएको उनले बताए । आगामी दिनमा क्लब र संघबीच सीमाचार समाचारका विषयमा सहकार्य गर्ने सहमति भएको उनले बताए । क्लबले काशी पत्रकार संघका पदाधिकारीलाई आगामी पुस पहिलोसाता लुम्बिनीमा सञ्चालन गरिने लुम्बिनी न्युज फेस्टिवलमा सहभागिताका लागि औपचारिक रुपमा आमन्त्रण गरेको छ ।

प्रेस क्लबको टोलीले भारतको अयोध्या र बनारसमा नेपालका धार्मिक पर्यटकीय स्थल प्रबद्र्धनको कार्यक्रम पनि गरेको थियो । सो क्रममा विभिन्न धार्मिक गुरुहरुलाई भेटेर नेपाल भ्रमण निम्तो दिइनुको साथै पर्यटकीय स्थलबारे जानकारी गराएको थियो । क्लबका सदस्य तथा भ्रमण एवं अवलोकन समिति संयोजक भीम भण्डारीका अनुसार अध्योध्या र बनारसमा र्याली गरिएको थियो । भारतीयहरुलाई नेपाल भ्रमणका लागि निम्तो समेत दिइएको छ ।