October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

पहाडका तीन रूप

एक : अपायकमा बग्ने पानी
म आफ्नो कोठामा
स्वतः नग्न हुन्छु
ऐनासम्मुख उभिएर 
स्वतः निमग्न हुन्छु

Advertisement

मजस्तै अरू पनि
अवाक् हुन सक्छन् 
सुसौष्ठव शरीरको
परिपाक हुन सक्छन् 
सोच्नु पाप हैन भने 
सबै सुन्दर स्त्रीहरूको
स्पष्ट र पुष्ट अवयव
म इच्छानुरूप कप्न सक्छु 
कथेर स्मृतिमा 
किल्लादग्ध कृतिझैँ
क्रिया मनपरी कल्पन सक्छु
पोशाक परिधान कुनै पनि 
कवच होइनन् कसैका
इच्छाबिना जेसुकै अलङ्करण 
नाहक भार ठहरिन सक्छ 
स्त्रीपुरुष कोही पनि 
सपथ होइनन् सधैँका 
पुरुष आफ्नै ओजदेखि
असुरक्षित रहन सक्छ 
सबै उमेरका नारीसम्मुख 
ऊ समुचित नरहन सक्छ 
स्त्रीहरू त्यसैले अङ्गविन्यासको
तेस्रो उपाय सोचून् 
पानी हो प्रत्यङ्ग 
पत्नीहरू सचेत हुन् 
कतै अपायकमै पनि
त्यो बहन सक्छ !

Advertisement

दुई : पाप नचिताईकन तर, प्रेम गर्नु
बैंस बफाएजस्तै
बटुकामा
बासी मासु तावामा तताएजस्तै
जङ्गलमा होस्
वा जेलमा
मन लगाएरै जानू
शिकारमा होस्
वा समरमा
मुटु जगाएरै जानू 
निर्लाज सापट माग्नू
सुटुक्क,
बत्ती निभाएर बाहिरको 
निर्भय, अनि ढुक्कले
प्रेम प्रत्याक्रमणमा लाग्नू

चारैतिरबाट चोरेर
भेटेसम्म अभिसाररत हुनू
नचुक्नू तर,
चुकुल लगाएरै मात्र
ललित लाक्षापथ
परस्त्री–प्रत्याञ्चालाई छुनू

छोएर छाप लगाइसकेपछि 
आधुनिक भाषामा, त्यसैले
मन लाग्नु पाप हैन भने
मन बिसाएरै प्रेमको परितोषलाई आँक्नू 
प्रेम पशुवत् व्यवहार हो
निर्दोष, त्यसैले
पराजेय पापाचरण भए पनि
पवित्र ऋतुपारायण हो
नचिताईकन तर निर्घात प्रेम गर्नू
पराई जातलाई नै हो प्रेम गर्ने
प्रेम उधारो पत्रपत्र प्याजजस्तै हो ।

तीन : दमित वासनाको गणित
हाम्रा पुर्खाले हामीलाई
अँध्यारोमा प्रेम गर्न सिकाए,
त्यसैले योविधि अपराध बढेको हो
शतप्रतिशत नरनारी त्यसैले
जङ्गली कोकिनजसरी
बगैँचामा यत्रतत्र
जथाभाबी ऐजेरु फलेको हो

हरेक मानिसको आँतमा
दमित वासनाको आगो बलेको हो
अधकल्चा अनारहरू
कट्मिरा अम्बाहरू 
मानिसले स्वाद पाएकै छैन 
वास्तविक अंगुुरको, जुनारको 
प्राकृत परिपाक
बैंसले मगमगाउँदो मधु मुहारको ! 
खालि, सडेको–ओइलिएको
केही पनि त पुष्ट छैन
प्रच्छन्न छैन
चिचिलैमा चिम्टिएको, चोक्टिएको
सुनगाभा या सयपत्री
कतै, कुनै समय स्वेच्छानुभूत हुँदैन
अभिजालो,
पृथ्वीलाई आकाशले
आकाशलाई बादलले
विषाक्त बादल वायु ब्रह्माण्डले
सार्कीले सिनोमाथि बर्को ओढाएझैँ 
प्रदूषण प्रायोजित छ जताततै
विकृति निर्देशित छ
कुन सौर्यविधि गणितले बताउँछ खै ?
पशुपन्छीमा जति पनि
ऋतुध्यान, सन्धान छैन मानिसमा
वीरोचित वीर्य अस्मिता उसको
कुन ज्ञान गर्त, विज्ञानले बचाउँछ खै ? -baahrakhari