August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

टुप्पी

टुप्पी भनेको मानव शरीरको सवैभन्दा माथिको भाग ।  राज्यका कार्यकारी प्रमुख ओलीको प्रधानमन्त्री पद पनि अहिले टुप्पी सरह नै छ ।

सनातन धर्ममा टुप्पीको महत्व पनि त्यत्तिकै माथि छ ।

अहिलेको बन्दाबन्दी अवस्थामा योगको पनि महत्व छँदै छ । शीर-आशन योग गर्दा भने टुप्पी नै सवैभन्दा तल पर्छ । टुप्पीको महत्व र सन्धर्व राजनीतिका खेलमा पनि तुलना गर्न सकिन्छ ।

इतिहाँसमा पनि राजनैतिक इगो पालेका चाडक्यले मगधको सिंहाशनमा बसेका राजाका विषयमा पनि शिखा (टुप्पी) खुलै राख्ने कसम खाएका थिए । इगो पुरा भएपछि मात्र शिखा बाँध्छु भनेर कसम खाएका थिए । सम्राट धनानन्दलाई राजगद्दिबाट फाल्नु उनको इगो थियो ।

खासमा नियम अनुसार त टुप्पी भनेको गाईको खुर बराबरको साइजमा हुनु पर्छ भन्छन् । तर, म जान्ने हुँदासम्ममा कालिदाशको क दुब्लाए जस्तै टुप्पी दुब्लाएर गाईको खुर आकारबाट ट्रान्जिस्टरको एरियल जस्तो भैसकेको थियो । नाममात्रको धर्सो मात्र बचाएको हुन्थेँ ।

नौ कक्षामा पढ्दा तीन रूपैँया लिएर फूलचन्दको सैलुनमा गएर कपाल काटाएको थिएँ । उसले त टुप्पि नै नराखिकन गोलकट कपालको बानकी मिलेको बराबरी बनाइदिएछ । भयो फसाद, हजुरआमाले अलि दिन त थाहा पाउनु भएन, थाहा पाएपछि राम्रोसँग लम्बेदान नैतिक शिक्षाको लेक्चर दिनु भयो ।

स्कूलतिर बाटै अङ्गेजी सिक्षातिर लगाव र संस्कृत शिक्षातिर वितृष्णा जगाइएको थियो । त्यसैको प्रभावले होला मनमा भने टुप्पी मोह छँदापनि थिएन । ‘टुप्पी छैन यसको’ भन्ने नपरोस भन्नलाई बरू अलि लामो कपाल पाल्ने धुन थियो । तर, अलि कपाल बढ्यो कि “जा कपाल काट” भनेर पठाइ हाल्ने घरबाट । कपाल काटाएर आयो, अलि छोँटो नगराएकोमा टोकसो पाइहालिन्थ्यो ।

तर, समयसंगै विस्तारै विस्तारै टुप्पी पाल्न पर्ने कडाइको नियम पनि फेरिँदै गयो र पाल्नै छाडियो । ब्रतबन्ध गर्दा र अरू कुनै धार्मिक संस्कारका क्रममा मडुलो टाउको पार्दा भने अझै पनि टुप्पी हुनै पर्ने चलन चलिआएको छ ।

अहिलेका टाउके टुप्पीवालको अध्यादेशको हल्लाले पनि त्यही सैलुनले सम्मै पारिदिएको टुप्पीको झल्को दिइरहेको छ।

नेपालको राजनीतिमा पनि टुप्पीको महत्व त्यस्तै नै छ । पार्टीमा ओलीले आफ्नो हैसियत पनि टुप्पी सरह नै बनाएका छन् । ठाडो शीर हुने मान्छेको उचाइ नै टुप्पीसम्म मात्रै त हुन्छ । त्यसभन्दा माथि सिमाना नै सकिन्छ । त्यसैले टुप्पीभन्दा पनि अग्लो कद बनाउन खोज्नुलाई अधोगति मानिन्छ । भलै त्यो गति मोटरगाडीको जस्तो तीब्र नभएर बयल-गाडाको जस्तै धिमा नै किन नहोस ।

बैलगाडाको गति भनेको काजु कान्छालाई गणतन्त्रको गन्तब्यको लक्ष्य हासिल गर्न मन परेको गति हो । काजु कान्छा भनेको गणतन्त्रको लडाइ लड्दा रत्नपार्कमा काजु खाँदै परपर तर्कँदै हिँड्ने गरेकाले लेखक खगेन्द्र संग्रौलाले जानेरै ओलीका लागि राखिदिएको नाम हो ।

यो टुप्पीलार्इ टुपी भने पनि हुन्छ । टुपीलाई उल्टायो भने “पीटु” हुन्छ । त्यसैले बयलगाडाको गति मन नपर्नेहरूले टुपीलाई उल्टाउन मन गरेको पनि नभेटिएको भने होइन । तर अहिलेको परिस्थितिमा सुरक्षा कवच तोडेर टुप्पीलार्इ उल्टाउन खोज्नेहरूलाई सजिलो भने छैन ।

टुप्पी त छाप-गाउँका कान्छा सार्कीको पनि लामै थियो । मैले सम्झने सबैभन्दा राम्रो टुप्पी उनकै थियो, लामो न लामो । आजभोलि त टुप्पी पाल्ने चलन पनि हराउँदै गएको छ । म सानो छँदा हाम्रो गाउँतिर टुप्पी नभएका कि त जोगी हुन्थे, कि त मुसलमान मात्र हुन्थे । क्रिश्चियन भन्ने त मैले सुनेकै थिइनँ । बुद्ध धर्म हिन्दूकै शाखा भनेर बुझाइएको थियो । विष्णुका दशौँ अवतार ।  अरू सवैले टुप्पी पालेकै हुन्थे । धेरै जसोको टोपीले टाउकोको सिमाना तोकेको घेरालाई नाघेर पनि पछाडिपट्टि टुप्पी झुण्डिएको हुन्थ्यो । अहिले लिपुलेक-लिम्पियाधुरासम्मको भागले नेपालको नक्साको सिमाना नाघेको जस्तै भनेर तुलना गर्न पनि सकिन्छ ।

महाकाली सन्धी गर्दा पनि काजु कान्छाको झेल्लि खेलको खुवै चर्चा चलेको थियो । उनकै कारण कालापानी टोपीको घेरा बाहिर झुण्डिएको झुण्डै छ पनि भन्छन, जान्ने बुझ्नेले । कसैकसैको टुप्पीले त्यो घेरा तोडेर दयाँ वा वायाँतिर पनि झुण्डिएको हुन्थ्यो । त्यो घेरा तोड्ने टुप्पीलाई नयाँ चुच्चो परेको ढर्लक्क ढल्केको ढाका टोपीको घेरा हो कि, गाउँकै दर्जीले हातेकल घुमाएर सिलाएको एउटै रङ्गको खुइलेको टोपी हो भन्ने कुरासँग कुनै महत्व हुन्थेन । टोपी नयाँ राम्रो भए पनि झुत्रो मैलो भए पनि सहजै घेरा तोडिदिन्थ्यो ।

काखमा उचालेका केटाकेटीले मौका पर्दा टुप्पी समातेर तानिदिन्थे । भारतले कालापानीमा ताने जस्तै ।

पछि तराइ झरेपछि स्कूल पढ्दा अगाडिको बेञ्चमा बसेका साथीको टुप्पी पछाडिका साथीले तानिदिने चलन पनि सामान्यजस्तै थियो । उहिले उहिले पढ्ने विषयमा पनि टुप्पीको महत्व हुन्थ्यो । टुप्पी बानेर पाठ घोक्न बस्दा नीद लागेर टाउको झुल्दा टुप्पी तानिन्थ्यो र दुखेर नीद भागेपछि पढ्ने र घोक्ने गरिन्थ्यो । खासमा संस्कृत शिक्षा पढ्ने विद्यार्थीहरूका बीचमा टुप्पी बानेर घोक्ने चलन थियो ।

मैले पढ्ने समयमा गाइखाने विद्या (अंग्रजी) पढ्नुलाई समाजले सहजै स्वीकार गरिसकेको थियो । त्यसैले टुप्पी बानेर नाकमा ढेबरी (टुकी)को कालो धुँवा जम्ने गरी घोक्न परेन । आठ कक्षासम्म लाल्टिन बालेरै पढियो । दिनदिनै साँझमा खरानी हालेर लाल्टिनको सिसा माझ्न पर्थ्यो । कहिलेकाही त्यो सिसा झराम्मै फुटेर ढेबरीको धुवाँ त गजबले खाइयो नि खान त ।

टाउकोबाट टुप्पी हराउन सहज भए पनि पार्टी तथा संगठन सुचारू हुन त टुप्पी सहितको टाउको हुनै पर्छ । शरीरको टाउको जस्तै केन्द्रिय समितिमा टुप्पीजस्ता अध्यक्ष वा सभापति हुनै पर्ने । सामान्यतया टुप्पी एक बचन मानिन्छ तर आवस्यकता पर्दा पार्टीको टुप्पी भने टुप्पीलाइ पनि रौँ जसरि चिरा पारेर ओली र प्रचण्डको गठजोडको टुप्पी बनाउन पनि मिलिहाल्छ । तर, टुप्पीको हक भने ओली सापले लट्पटाएर प्रचण्ड रन्थनिएको भन्ने खबर पनि यत्रतत्र चर्चा छ । षणयन्त्रको गन्ध हरहरि गनाउने गरी अध्यादेश जारी हुँदा, त्यो हल्ला पनि ‘सही हो कि क्याहो’ भन्ने हल्ला पनि छ ।

धार्मिक नियम अनुसार टुप्पीमा गाँठो पारिराख्नु पर्छ । त्यस्तो टुप्पीलार्इ शिखा भनिन्छ । दीसा, पिसाप गर्दा तथा लास छुने जस्तो असुद्ध हुँदा टुप्पीको गाँठो फुकाएर गर्ने र कार्य समपन्न भएपछि फेरि टुप्पीमा गाँठो पार्नु पर्छ । हातगोडा धुने, नुहाउने गरेर सुद्ध भएपछि फेरि गाठो पार्नु पर्छ । त्यसमा पनि बाहुनहरूले त आचमन गरेर गायत्री जपेर सुद्ध भएपछि बल्ल शीखाबन्धन गर्नु पर्ने हो ।

यस्तो चलन देख्दा टुप्पीको गाँठोले धार्मिक नियम तोड्न पाइँदैन भन्ने आदर्श बोकेको हो कि भन्ने पनि भान हुन्छ । टुप्पीभन्दा पनि माथि धार्मिक नियम छ भन्ने विम्ब पनि टुप्पीको गाँठोले झल्काउँछ । कानूनको शासन भनेको कानूनले बाँधेर राख्ने हुनाले कानूनभन्दा माथि कोही हुन सक्दैन भने जस्तै धार्मिक नियममा सवै बाँधिनु पर्छ भन्ने शिखाबन्धनको मर्म हुनु पर्ने हो । त्यसैले धनानन्दलाई मगधको राजगद्दिबाट फाल्न धार्मिक नियम उलंघन हुनसक्ने अवस्थालार्इ पनि स्वीकार गर्न चाँडक्यले टुप्पीको गाँठो फुकाएको अर्थ लाग्न पनि सक्छ ।

टुप्पी जस्ता अध्यक्षहरूलार्इ पनि टुप्पीको गाँठो जस्तै संविधान, विधान, घोषणापत्रले बाँधेको हुनुपर्ने हो । तर, त्यस्तो गाँठो संशोधनको नाममा मनपरि खोल्ने र बाध्ने गर्न पाउने गर्न थालेको चाला भने फूलचन्दको सैलुनमा टुप्पी बिनाको गोलकट कपाल जस्तै भैसकेको छ ।

धर्म र संस्कार नमान्ने कम्निष्टहरूलाई केको टुप्पी र शिखाको नियम लाग्ने कुरा भयो र !! तै पनि औलीज्यूले थरमा शर्मा थपेर टुप्पीको फुर्ति दिन छाडेका छैनन् । अङ्गेजी तालमा नाम छोट्याएर खड्ग प्रसादबाट केपीमा बनाए । तर, जात जालाकि भन्ने पिरले थर छोट्याउन भने उनी निकै डराएका छन् । त्यत्तिले पनि नपुगेर टुप्पी अधिकारमा अध्यादेशको ध्वासले चालीस पुगेसी रमाउँला भन्न थालेका छन् ।

कहिले मुरली बजाउँछन् कहिले चालीसेको गीत गाउँछन् । छन त यिनी रमाइलै मान्छे छन् । ठट्टामा मात्र हैन चालिस पुगेसी रमाउन पनि सिपालु छु भनेर फुर्ति पनि लाउँछन् । उनका टाउकामा रौँ पो कति छन् कुन्नी टोपिको घेरा तोडेर वाहिर निस्कनेजति टुप्पीका रौँ नै बाँकी छैनन् कि भन्ने शंका लाग्दैछ ।

तर, कालापानी नेपाली नक्साको टुप्पीबाट बाहिरिएको बाहिरिएकै छ, तैपनि यिनलाइ कुर्सी समाउन चालिस शुत्र समाउन परेको छ । संसद चालिस र पार्टीमा पनि चालिस गरी दुवै ठाउँमा चालिस प्रतिशत भए पार्टी फुटाउन पाउने ठाउँमा संसदीय दलमा मात्र चालिस प्रतिशत पुर्याएर पार्टी फुटाउन पाउने बनाएका छन् । चालीसे गीत बजाएकै छन् । – by nepalisahityaghar