September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

‘पहिलो पटक नेपालमा क्यान्सरको औषधि उत्पादन भयो, अब निर्यात पनि गर्छौँ’

नेपालमा पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्राइभेट लिमिटेडले औषधि उत्पादन सुरु गरेको हो। औषधि उत्पादन गर्नकै लागि टिजिगले सन् २०१८ मा औषधि व्यवस्था विभागमा उद्योग दर्ता गराएको थियो। एलोप्याथी फार्मास्युटिकल्स अन्तर्गत यो उद्योग दर्ता छ। टिजिग फर्माले विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि प्रयोग हुने १५ वटा औषधि उत्पादन सुरु गरेको छ। हाल पाँच वटा औषधिले बजार बिक्रिका लागि अनुमति पनि पाइसकेको छ। बाँकी १० वटा औषधिले बजार बिक्रिका लागि स्वीकृति पाउन बाँकी छ। उनका अनुसार क्यान्सरका यी १० वटा औषधि विशेषगरी निर्यातका लागि उत्पादन गरिनेछ। हालसम्म ३२ करोड रुपैयाँ लगानी भइसकेको उद्योग बनेपा–१ नालामा कुल १६ रोपनी जग्गामा स्थापना गरिएको छ। यसमा भारतको भेंकाटेसम अम्बाटीको लगानी रहेको छ। उहाँको लगानीमा एक कम्पनीसँग प्राविधिक सम्झौता गरेर आधुनिक प्रविधि र व्यवस्थापनमा औषधि उत्पादन गर्न सकिएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले बताएका छन्। उद्योग र औषधि उत्पादनका विषयमा कार्यकारी निर्देशक वैद्यसँग गरेको कुराकानीः

नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने योजना कसरी बन्यो ?
यसको शत प्रतिशत लगानी भारतको भेंकाटेसम अम्बाटीको लगानी छ। हैदरावादस्थित एसपीएएल कम्पनीसँगको प्रविधि सम्झौतामा औषधि उत्पादन भइरहेको छ। यो कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरिरहेको छ। नेपालमा पनि काम गर्ने उहाँहरुको योजना रहेछ। मैले पनि यहाँ क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने योजना बनाइरहेको थिएँ। त्यसपछि दुवै पक्षको समन्वयनमा हामीले औषधि उत्पादन सुरु गरेका हौँ। 

कति समयको प्रयासपछि क्यान्सरविरुद्धको औषधि उत्पादन संभव भएको हो ?
यो कुनै ठुलो प्रोजेक्ट होइन, तर संवदेनशील काम पक्कै हो। नेपालमा धेरै औषधि उद्योगहरुले विभिन्न रोग विरुद्धको औषधि उत्पादन गरिरहेका छन्। हामीले भने नेपालमा औषधिको क्षेत्रमा ‘ब्रेक थु्र’ गर्ने प्रयास गर्‍यौँ।

क्यान्सरको औषधि उत्पादन गर्न जनशक्ति, मोलिक्युल, प्रविधिदेखि सबै विषयमा संवदेनशील हुनुपर्छ। गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्छ। उद्योग स्थापना पनि सहज छैन। तर, सरकारले सहज गराइदियो भने सजिलो पनि हुन्छ। नेपालमा यसको महत्व के हो भने भोलि विश्वको नक्सामा बनेपा पर्छ। नेपाल पर्छ। चकलेट, बिस्कुट बनाए जस्तो होइन। अन्तर्राष्ट्रिय बजारले नियाल्ने विषय हो। यही बुझाउन मलाई समय लाग्यो।

काम गर्न सजिलो छैन। जग्गा लिने, रजिष्ट्रेशनको प्रक्रिया, बैंकको प्रक्रिया लगायत काम गर्न समय लाग्यो। जग्गाको रजिष्ट्रेशन प्रक्रियामा जान मात्र करिब डेढ वर्ष लाग्यो। टिजिग फर्मा सन् २०१८ मा दर्ता भएको हो। दर्ता भएदेखि नै हामीले औषधि उत्पादनका लागि काम सुरु गरिसकेका थियौँ। यो सब यात्रा तय गर्न हामीलाई तीन वर्षभन्दा बढी लाग्यो।

यो उद्योगमा लगानी, जनशक्ति, प्रविधि जस्ता विषयको व्यवस्थापन कसरी गर्नुभयो ?
हामीले अहिले एउटा सानो प्रोजेक्टको रुपमा यसलाई अघि बढाएका हौँ। यो युनिटको लागि ३५ करोड लगानी लागेको छ। हामी दोस्रो चरणका लागि अर्को उद्योग पनि खोल्ने तयारी गरिरहेका छौँ। त्यसमा करिब ४० करोडको लगानी लाग्ने अनुमान छ। जनशक्ति व्यवस्थापन पनि भारतीय कम्पनीकै सुपरभिजनमै हुन्छ। उद्योगको डिजाइनदेखि सबै प्रविधि उहाँहरुकै सुपरभिजनमा भएको हो। उच्च तहका प्राविधिक, गुणस्तर र प्रविधि व्यवस्थापनको काम गर्ने ८/१० जनाको टिम भारतबाट आएको छ। योसहित फर्मासिस्ट, प्रशासन सबै कर्मचारी गरी ४० जना जति छन्।

यो औषधि अब कहिलेदेखि बिरामीले पाउँछन् ?
हामीले अहिले एन्टी क्यान्सरका १५ वटा औषधिको उत्पादन सुरु गरेका छौँ। केप्सिटाबिन, हाइड्रोक्सी यूरिया, मेल्फालान, टेमोजोलोमाइड, डैसाटिनिब, ओसिमर्टिनिब, लेन्भाटिनिबि, लोरलाटिनिब, भेनेटोक्लैक्स, क्रिजोटिनिब, क्याबोजानटिनिब, सुनिटिनिब, सेरिटिनिब, आइबु्रटिनिब र बारिसिटिनिब औषधि उत्पादन गरेका छौं। करिब एक महिनाभित्र यी औषधि बजारमा जान्छन्। औषधि व्यवस्था विभागसँग बिक्रि वितरणको अनुमति लिने प्रक्रिया सुरु गर्छौ। अनुमति पाएपछि मात्र औषधिको बिक्रि सुरु हुन्छ। 

हालसम्म विभागले क्यान्सरको पाँच वटा औषधिलाई बिक्रीका लागि स्वीकृति दिएको छ। अरु १० वटा औषधि निर्यातका लागि छ। तर, यी औषधि हामी स्थानीयस्तरमा पनि बिक्री वितरण गर्छौं। क्यान्सरका बिरामीले औषधि सहज रुपमा पाउन् भन्ने हाम्रो अपेक्षा हो। प्रचार सुरु भएदेखि नै ‘औषधि कहिले पाउँछौ?’ भन्दै मलाई धेरै ठाउँबाट फोन आइरहेको छ। यस्तो प्रतिक्रियाबाट झनै ठूलो जिम्मेवारी थपिएको जस्तो लागेको छ। 

नेपालमा क्यान्सरको औषधि कुन–कुन देशबाट आइरहेका छन् ?
नेपालमा क्यान्सरको औषधि मुख्यगरी भारत र बंगलादेशबाट आउने गर्छ। 

नेपालको औषधि बजारमा भारत र बंगलादेशको ठूल्लो हिस्सा छ। बजारमा आफ्नो ठाउँ बनाउनकसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
हामीलाई अलि गाह्रो हुन्छ भन्ने बुझेका छौँ। किनभने केही उद्योगहरु नेपाली औषधि बजारमा स्थापित भइसकेका छन्। तर, हाम्रो उत्पादन फरक छ। त्यसैले हामी यसलाई प्रतिस्पर्धाको रुपमा हेरेका छैनांै। हामी गुणस्तरीय उत्पादनमा सम्झौता गर्दैनौं। बिरामीको उपचार र उनीहरुको आवश्यकता नै हाम्रो पहिलो प्राथमिकता हो। साथै हाम्रो उद्देश्य भनेको औषधि स्वदेशमा उपलब्ध गराउनु र निर्यात पनि गर्नु हो। नेपालीलाई औषधि बेचेर कमाउनेभन्दा पनि निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा ठाउँ बनाई राज्यलाई सहयोग गर्ने उद्देश्य हो।

क्यान्सरविरुद्धको यी औषधिको मूल्य कतिको सर्वसुलभ हुन्छ ?
सबैभन्दा ठूलो चुनौती यही हो। किनभने स्थापित भइसकेका कम्पनीले आफ्नो ठाउँ बनाइसकेका हुन्छन्। ठूलो बजार हुन्छ। हामी बल्ल सुरु गर्दैछौँ। हाम्रो बजार पनि ठूलो छैन। तर, हामी सकेसम्म मूल्यसस्तो बनाउने प्रयास गर्छौं। मूल्यमा थोरै भए पनि सुलभ गराउने हाम्रो उद्देश्य छ।

सुरुवाती चरणमा कति औषधि बजार पठाउने तयारी हो ?
हामीले एकैपटक धेरै औषधि उत्पादन गर्न मिल्दैन। किनभने बजारको माग र आवश्यकता अनुसार उत्पादन गर्ने हो। कति मात्रामा औषधि बजारमा पठाउँछौ भन्ने निर्णय भइसकेको छैन। चरणवद्ध रुपमा बजारको मागलाई बुझ्ने कोशिश गरिरहेका छौँ। यसका लागि रणनीति पनि बनाउदैछौँ।

भारत औषधिमा आत्मनिर्भर छ। अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो हिस्सा ओगटेको छ। त्यहाँका कम्पनीलाई भारतसरकारले धेरै सहयोग गरेको छ। नेपाललाई पनि औषधिमा आत्मनिर्भर बनाउन सरकारले केही काम गरेको छ ?
सरकारले गर्ने सहयोग एक ठाउँमा छ, हामीले आफ्नो क्षमता वृद्धि गर्ने कुरा अर्को ठाउँमा छ। यो दुई फरक विषय हुन्। हामीले आफ्नो क्षमता विकास गर्न सकिरहेका छैनौँ। 

सरकारसँग लबिङ कसरी गरिरहेका छौँ? सरकारबाट हामीले के खोजिरहेका छौँ? यस्ता विषय राजनीतिक तहसम्म पुग्न सकिरहेको छैन। अर्को कुरा, नेपालमा उद्योग, निर्यातभन्दा पनि राजनीति नै मुख्य एजेण्डा बन्ने गरेको छ। 

मैले ‘म निर्यातमुखी हुन्छु’ भनेपछि सरकारले मलाई सहज गर्दै जानुपर्ने हो। तीन दिनमा हुने कुरा एक दिनमा गरेर पठाइदिने सोच र प्रणाली हुनुपर्छ। यी सबै सहजता सरकारले गरिदिने हो। यदी बंगलादेशमा हामीले जस्तो उद्योग स्थापना गर्न चाह्यो भने एक वर्षभित्र हुन्छ। उनीहरुको प्रणाली त्यति राम्रो छ। हाम्रो प्रणालीले त्यस्तो दृष्टिकोण राख्न सकेको छैन। उद्योगको विषयमा हामी एकद्धार प्रणाली भन्छौं, तर उद्योग विभाग र औषधि व्यवस्था विभागको समन्वय छ त? अवश्य छैन। यी सबै चुनौती हामी सामु छन्। 

मैले विभिन्न देशमा आफ्नो तर्फबाट नेटवर्क स्थापित गर्ने हो। त्यो आधारमा म सक्रिय हुने हो। सरकारले असहयोग गर्छ भन्ने होइन। निर्यातका लागि मलाई लाइसेन्स दिएको छ। प्रविधिहरु भित्र्याउन अनुमति दिएको छ। मलाई औषधि उत्पादक संघले पनि उत्तिकै सहयोग गरेका छ। 

क्यान्सरको औषधि उत्पादन गर्ने योजनादेखि उत्पादनसम्मको यात्रा तय गर्दा कस्ता चुनौतीहरुको सामना गर्नुभयो ?
सरकारले उद्योगको विकास गर्ने हो भने औद्योगिक क्षेत्रको विकास गर्नुपर्छ। ताकी उद्योग स्थापनाका लागि मैले जसरी डेढ वर्ष भौतारिनु पर्दैन। यो उद्योग दुई वर्ष अगाडी नै आउनुपर्ने थियो। सरकारी निकायबीच समन्वय भयो भने सहज हुन्छ। 

मैले सामाना गरेको अर्को चुनौती भनेको कोभिड हो। जुन दिन मैले जग हालेर उद्योग बनाउन थालें त्यस दिनदेखि लकडाउन भयो। तर, लकडाउनका बावजुद पनि मैले काम गरिरहें। त्यसमा सरकारले मलाई सहयोग गरेकै हो। लकडाउनको समयमा पनि मेरो काम भइरह्यो।

स्वदेशी औषधि उद्योगको क्षमता विस्तार र आत्मनिर्भरताका लागि सरकारले कस्ता कार्यक्रम ल्याए सहज र प्रोत्साहन हुन्थ्यो ?
स्वास्थ्य र मानिसको जीवनभन्दा ठूलो विषय केही हुँदैन भन्ने कुरा सरकार र सबैले बुझ्न आवश्यक छ। स्वास्थ्य हाम्रो आधारभूत कुरा हो। त्यसपछि मात्र अरु पूर्वाधारहरु आउँछन्। औषधि पनि आधारभूत कुरा हो। औषधिमा आत्मनिर्भर हुनु भनेको सबैभन्दा ठूलो कुरा हो। 

नेपालका स्वदेशी उद्योगले शून्यबाट सुरु गरेर यहाँसम्म आइपुगेका छन्। सरकारले मनिटरिङको दायरा बढाउनु आवश्यक छ। उद्योगहरुलाई सहज पनि बनाइदिनुपर्‍यो। तब मात्र उद्योगहरुको वृद्धि विकास हुन सक्छ। उद्योगको विकासका लागि सरकारले निभाउनुपर्ने भूमिका पनि यही हो।

मैले उद्योग स्थापना गरेपछि यसको विकासका लागि सरकारले पनि भूमिका खेल्नुपर्छ। नियमन गर्ने मात्र होइन, त्यसलाई सहज पनि बनाइदिनुपर्छ। कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा हुन्छ नै। मैले गरेको कामप्रति म निकै खुशी छु। जिम्मेवारी थपिएको महसुस भएको छ। पछिल्ला दिनमा म धेरैसँग यही विषयमा अन्तरक्रिया गरिरहेको छु। धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको छु। त्यसैले दायित्व र जिम्मेवारी थपिएको महसुस भएको छु। by swasthyakhabar