November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

‘हाम्रो सपना र संकल्प समृद्ध सिद्धार्थनगर हो’

Advertisement

खेलकुद, शिक्षा, उद्याोग, पर्यटन, उत्पादन, अटो व्यवसाय तथा बिभिन्न सामाजिक जिम्मेवारी सम्हालेका हरिबहादुर थापा यस क्षेत्रमा हरेक हिसाबले सफल मानिन्छन् । सिद्धार्थनगर नगरपालिका–८ निवासी थापा भैरहवा क्षेत्रका लागि नयाँ अनुहार होइनन् । उनले नेतृत्व लिएक सबै संघसंस्था सफल भएका छन् । यसैले होला उनको राजनीतिक, सामाजिक, व्यवसायिक र निजी क्षेत्रमा राम्रो पकड छ । पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रका व्यववसाय तथा सामाजिक संघसंस्थामा उनी आबद्ध छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको उपाध्यक्ष, रुपन्देही क्रिकेट संघका अध्यक्ष तथा प्रोफेसनल मास्टर्स–११ का अध्यक्ष, होटल संघ नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष, रुपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान (रेसा नेपाल) का अध्यक्ष समेत रहेका थापासँग तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल), केही महिनामै हुन लागेको सिद्धार्थ उद्योग बाणिज्य संघको अधिवेशन, आगामी स्थानीय तह निर्वाचन, निजी क्षेत्रको अपेक्षा, सरकारको भूमिका लगायत विषयमा रहेर पब्लिक कुराका लागि प्रेमबहादुर बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

Advertisement

सुरुमै यहाँलाई खेलतर्फ लैजान्छौं । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक छाएको छ, यसलाई क्रिकेटको ठूलो उत्सवको रूपमा लिइएको छ । रूपन्देही क्रिकेट संघको अध्यक्ष र खेलप्रेमी उद्यमीको नाताले एनपीएल र समग्र नेपाली क्रिकेटको विकासलाई यहाँले कसरी हेरिरहनु भएको छ ?
नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली खेल क्षेत्रको ब्राण्ड बनिसक्यो, यसले क्रिकेटसँगै पर्यटन र अर्थतन्त्रलाई बहुआयामिक ढंगले अगाडि बढाउन टेवा पुर्याएको छ । त्यसैले सबैभन्दा पहिले म एनपीएलको यो भव्य आयोजनालाई नेपाली खेलकुद इतिहासको एक सुनौलो र ऐतिहासिक कोसेढुंगाको रूपमा लिन चाहन्छु । यसको आयोजना गर्ने नेपाल क्रिकेट संघ, सहकार्य गर्ने निजी क्षेत्र, सरकारी निकाय र देशविदेशका खेलाडीहरुमा धन्यावाद व्यक्त गर्दछु । आज क्रिकेट केवल एउटा खेल मात्र रहेन, यो राष्ट्रिय एकता, उत्सव र ठूलो आर्थिक गतिविधिको माध्यम बनेको छ । रूपन्देही क्षेत्र सधैं नेपाली क्रिकेटको उर्वर भूमि रहँदै आएको छ । हामीले ग्रासरूट लेभलबाटै खेलाडी उत्पादन र पूर्वाधार विकासमा निरन्तर काम गरिरहेका छौँ । एनपीएल जस्ता व्यावसायिक प्रतियोगिताहरूले हाम्रा युवा खेलाडीहरूलाई आर्थिक सुरक्षा र अन्तर्राष्ट्रियस्तरको एक्सपोजर दिएका छन् । यसले कर्पोरेट क्षेत्रलाई पनि खेलकुदमा लगानी गर्न आकर्षित गरेको छ । सरकार, निजी क्षेत्र र क्रिकेट संघ मिलेर अघि बढ्ने हो भने नेपाली क्रिकेटले चाँडै नै विश्व मञ्चमा नयाँ पहिचान बनाउनेछ । यो ऐतिहासिक प्रतियोगिताको थप भव्य सफलताको काम गर्दछु ।

यहाँ खेलकुदसँगै निजी क्षेत्रमा पनि सफल मानिनुहुन्छ । पछिल्लो समय मुलुकको आर्थिक गतिविधि सिथिल भनिएको छ, निजी क्षेत्रमा त्यति उत्साह नभए जस्तो देखिन्छ । सरकारले गरिरहेको कामकारबाहीलाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ? एउटा व्यवसायी र सिद्धार्थ उद्योग वाणिज्य संघको उपाध्यक्षको हिसाबले तपाईंलाई निजी क्षेत्रको उत्थानका लागि सरकारले अब के–के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?
निजी क्षेत्रको सधैं एउटै माग छ– व्यवसायिक वातावरण । लामो चुनौतीबीच मुलुकमा नवयुवाहरुले सरकार चलाउने अवसर पाएका छन् । यो हामी निजी क्षेत्रका लागि एउटा खुशीको क्षण हो । तर, वर्तमान समयमा मुलुकको अर्थतन्त्र र विशेषगरी व्यापारिक तथा औद्योगिक क्षेत्र निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको विदितै छ, सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन केही नीतिगत प्रयासहरू गरे पनि व्यावहारिक रूपमा त्यसको नतिजा व्यवसायीहरूले महसुस गर्न पाएका छैनन् । यसैले होला अझै त्यति धेरै उत्साह नदेखिएको, निजी क्षेत्र सिथिल भएको । नीतिहरु प्रिवर्तन गरेर मात्रै हुँदैन, त्यसको कार्यान्वयन मुख्य कुरा हो । निजी क्षेत्र भनेको देशको अर्थतन्त्रको मुख्य इन्जिन हो । हामीले रोजगारी सिर्जना गरेका छौँ र राज्यलाई राजस्व बुझाएका छौँ । मेरै कुरा गर्नुहुन्छ भने सात–आठ सय जनालाई रोजगारी दिएको छु । करोडौं राजस्व तिर्छु । राज्यलाई व्यवसायबाटै ठूलो टेवा पुर्याउने व्यवसायी धेरै छन् । उनीहरुको सुरक्षा र व्यवसायिक वातावरण आजको आवश्यकता हो । कुनै पनि आन्दोलन होस् वा सरकार फेरियोस्, निजी क्षेत्र ढुक्क हुने बलियो नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । यसमा वर्तमान सरकारले विशेष ध्यान दिन्छ भन्ने आजको दिनसम्म मेरो विश्वास छ । उच्च ब्याजदर, वित्तीय तरलताको समस्या, सीमावर्ती बजारका चुनौतीहरू र नीतिगत अस्थिरताका कारण व्यवसायीहरू मारमा भने परेका छन् । सरकारले अब भाषणमा भन्दा पनि काममा सुशासन देखाउनुपर्छ । कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, बैंक ब्याजदरमा व्यवसायीमैत्री पुनरावलोकन गर्ने र सिद्धार्थनगर (भैरहवा) जस्ता मुख्य व्यापारिक नाकामा पूर्वाधार र निर्यात प्रवद्र्धनका ठोस योजनाहरू तत्काल लागू गरिदिने, पर्यटनमैत्री वातावरण बनाउने, अन्तर्राष्ट्रिय बजारमा हाम्रा गन्तव्यको प्रबद्र्धन गर्ने र राज्यले निजी क्षेत्रलाई सधैं साझेदारका रुपमा हेर्छ है भन्ने वातावरण तयार हुनुपर्छ ।

यहाँ निजी क्षेत्रको नेता पनि हुनुहुन्छ, सिद्धार्थ उद्योग वाणिज्य संघको अधिवेशन नजिकिँदैछ । तपाईं हाल उपाध्यक्ष हुनुहुन्छ, आगामी अधिवेशनमा माथिल्लो (अध्यक्ष वा अन्य मुख्य) पदमा उठ्दै हुनुहुन्छ कि ?
सिद्धार्थ उद्योग वाणिज्य संघ यस क्षेत्रका व्यवसायीहरूको अभिभावकीय संस्था हो । नेपालकै पूरानोमध्येको गौरवशाली संस्था पनि हो । यसले मुलुकको निजी क्षेत्रमैत्री नीति निर्माणमा पैरवी गर्दै आएको छ । उद्योगी–व्यवसायीको पीरमर्कामा साझेदारी गरी काम गरिरहेको छ । विभिन्न प्लेटफर्म मार्फत् उद्यमशीलता विकासमा योगदान गरिरहेको सबैलाई थाहा भएकै कुरा हो । यो संस्थालाई यहाँसम्म ल्याई पुर्याउने सबै अभिभावकहरुलाई मैले नमन गर्न चाहन्छु । हामी सहकार्य, एकता र सामूहिकतामा विश्वास गर्छौं । कुनै पनि बहानामा यो संस्थालाई कमजोर बनाउनुहुन्न भन्ने कुरामा सचेत छौं । सोहीअनुसार सबैको रायसुझावका आधारमा म अघि बढ्छु । उपाध्यक्षको रूपमा काम गर्दा मैले उद्योगी–व्यवसायीका पिरमार्क र समस्याहरूलाई धेरै नजिकबाट बुझ्ने अवसर पाएको छु । आउँदो अधिवेशनको सन्दर्भमा, संस्थालाई अझ उचाइमा पुर्याउन, व्यवसायी साथीहरूको हकहितका लागि लड्न र नेतृत्व सम्हाल्न अग्रजहरू र साथीहरूको सल्लाह बमोजिम म माथिल्लो पदको जिम्मेवारी लिन पूर्ण रूपमा तयार र प्रतिबद्ध छु । तर, अध्यक्ष नै उठिहाल्छु भन्ने छैन । अग्रज तथा सबै निजी क्षेत्रका हाम्रा व्यवसायी साथीहरु सबैको सल्लाहमा कुन पदमा उठ्ने भन्ने कुरा उपयुक्त समयमा हामी यसको आधिकारिक घोषणा गर्नेछौँ ।

बदलिँदो अवस्थामा उद्योग वाणिज्य संघको भूमिका कस्तो हुनुपर्छ ?
निजी क्षेत्रले पछिल्ला केही वर्षमा धेरै चुनौतीहरु झेल्नु परेको छ । सधैं यस्तो अवस्था रहनु हुँदैन । सरकार र निजी क्षेत्र एकअर्कामा आलोचक होइनन्, साझेदार हुन्, यही कुरा सरकारलाई बुझाएर अघि बढ्नुको विकल्प छैन । अबको समयमा उद्योग वाणिज्य संघ केवल औपचारिक कार्यक्रम गर्ने संस्था मात्र बनेर पुग्दैन । यसले राज्यका नीति निर्माण तहमा बलियो दबाब समूहको भूमिका खेल्नुपर्छ । नयाँ उद्यमीहरूलाई प्रवद्र्धन गर्ने, सीमावर्ती असमझदारीहरू सुल्झाउने र सिद्धार्थनगरको समग्र आर्थिक रूपान्तरणको नेतृत्व संघले लिनुपर्छ ।

अर्को प्रसंग, यहाँलाई थाहै छ । सरकारले नजिकै स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ । सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा कस्तो किसिमको प्रतिनिधि आउनुपर्छ जस्तो लाग्छ ?
स्थानीय सरकार भनेको जनताको घरदैलोको सरकार हो । सिद्धार्थनगर (भैरहवा) एक ऐतिहासिक, रणनीतिक र ठूलो व्यावसायिक सम्भावना बोकेको सहर हो । त्यसैले यहाँ दुरदर्शी, निष्कलंक, राजनीतिक रूपमा सचेत र उद्योग–व्यापार बुझेको सशक्त नेतृत्व आउनु आवश्यक छ । अहिलेसम्मका जनप्रतिनिधिले जति काम गर्नुभयो, त्यसका लागि धन्यवाद । तर, अब त्यतिले मात्रै सिद्धार्थनगरको पहिचान स्थापित हुँदैन । अब आउने जनप्रतिनिधिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि केन्द्रसँग बलियो समन्वय गर्ने, व्यवस्थित ढल तथा फोहोर व्यवस्थापन गर्ने र सिद्धार्थनगरलाई एउटा सुन्दर ‘व्यापारिक तथा पर्यटकीय हब’का रूपमा विकास गर्ने स्पष्ट खाका ल्याउनुपर्छ । यस्तै, सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै सबै खेलकुदको विकास र खेल पर्यटनमा ध्यान दिन जरुरी छ । लुम्बिनीलाई पर्यटनको हब बनाउन तीनै तहका सरकारसँग समन्वय गरी प्याकेज बनाएर काम गर्नु सिद्धार्थनगरले अग्रसर लिनुपर्छ, नाका व्यवस्थापन अझ महत्वपूर्ण छ, त्यसमा ध्यान दिन जरुरी छ । सबैलाई थहा भएकै कुरा हो, पैसा नभए पनि पब्लिक पार्टनसीपमा काम गर्न सक्ने धेरै कामहरु भएका छैनन् । स्पष्ट योजना, पारदर्शी, दुरदर्शी र सबैलाई समेटेर जानसक्ने जनप्रतिनिधि नगरले पाए धेरै कुरामा रुपान्तरण गर्न सकिन्छ । के काम कसरी गर्न सकिन्छ भन्ने योजनाहरु हामीले बनाएका छौं । सहकार्य गरे नमूना नगर बनाउन हातेमालो गर्न म तयार छु । हाम्रो संकल्प, समृद्ध सिद्धार्थनगरको सपना नै हो ।

विगतमा यहाँ पनि उम्मेदवार बन्ने भन्ने चर्चा सुनिएको थियो, यसपटक पनि त्यस्तै चर्चा चलिरहेको छ । यहाँ स्वयं पनि राजनीतिक रूपमा सचेत व्यक्ति हुनुहुन्छ, के तपाईं पनि स्थानीय चुनावमा उम्मेदवार बन्ने सोंचमा हुनुहुन्छ ?
सबैलाई थाहा छ, म खुल्ला किताब हुँ । जहाँ–जहाँ काम गरेँ, त्यहाँ त्यहाँ सबै पारदर्शी ढंगले गरेको छु । मेरो बारे धेरै भनिरहनु परेन । सधैं समाज, व्यवसाय र खेलकुदको माध्यमबाट नागरिकको सेवामा समर्पित रहँदै आएको छु । राजनीति पनि समाजसेवाकै ठूलो माध्यम हो । साथीभाइ, उद्योगी–व्यवसायी र नगरबासीहरूको चाहना र आवश्यकता परेको खण्डमा म जुनसुकै भूमिकामा रहेर सेवा गर्न तयार छु । मानसिक रुपमा त्यसको तयारी पनि गरेको छु भने केही सुधार, विकास र दुरदर्शी योजना पनि बनाएको छु । प्रस्तावहरु धेरै आइरहेका छन्, सबैसँग सल्लाह सुझाव लिइरहेको छु । सिद्धार्थनगरमा उम्मेदवार बन्ने कुरालाई नकार्न सक्दैन । तर अहिले मेरो प्राथमिकता संस्थागत जिम्मेवारी पूरा गर्नुमै केन्द्रित छ ।

मानसिक रुपमा पनि तयार छु, प्रस्तावहरु पनि आइरहेका छन् भन्नुभयो । यदि चुनाव लड्नु भयो भने कुन पार्टीबाट, कुन पदमा लड्नुहुन्छ ? स्पष्ट पारिदिनुस् न ।
म जत्तिको राजनीतिक चेत भएको व्यक्ति राजनीतिमा आउँदा यो समाज र यो नगरलाई घाटा हुन्छ, थप क्षति व्यहोनुपर्छ जस्तो मलाई लाग्दैन । बरु नयाँ खाका कोरेर विकास गर्न सकिन्छ । मैले माथि नै भने चुनाव लड्ने कुरा नकार्न सक्दैन । धेरै पार्टीहरुले हाम्रो पार्टीबाट निर्वाचन लड्नुपर्छ भनेका छन्, तर मैले यो विषय टुंग्याइसकेको छैन । सल्लाहमै छु । यदि चुनावमा होमिएँ भने मेयर पदमै प्रतिस्पर्धा गर्छु ।