January 23, 2025, Thursday
२०८१ माघ १०

बाइडेनको प्रतिवद्धता : रुसी साइबर आक्रमणको प्रतिकार गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले कुनै रुसबाट हुने साइबर आक्रमण रोक्नका लागि आवश्यक पर्ने ‘कुनै पनि प्रकारको कार्य’ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताएका छन् ।

बाइडेन र पुटिनबिच एक घण्टा लामो टेलिफोन वार्ता भएको र सो क्रममा बाइडेनले साइबर आक्रमणलाई लिएर अमेरिका गम्भीर रहेको बताएको ह्वाइट हाउसले उल्लेख गरेको हो ।

Advertisement

साइबर आक्रमणको मूल्य वा परिणाम रुसले चुकाउनु पर्ने टेलिफोन वार्तापछि पत्रकारहरुसँग बाइडेनले बताएका छन् ।

गएको महिना भएको साइबर आक्रमणको सम्बन्ध रुससँग रहेको अमेरिकाले बताउँदै आएको छ । त्यसअघिका साइबर आक्रमणमा पनि रुसी साथ पाएका समूहहरु संलग्न रहेको अमेरिकाले आरोप लगाउने गरेको छ । तर रुसले भने साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

गएको जुनमा जेनेभामा प्रत्यक्ष भेटवार्ता गरेको बाइडेन र पुटिनबिच शुक्रबार टेलिफोन संवाद भएको हो ।

अमेरिका सरकारी कार्यालय तथा कम्पनीहरुमा पछिल्ला महिनामा साइबर आक्रमण तीव्र बन्दै गएको छ । जुलाई मात्रै भएको साइबर आक्रमणले १५ सय कम्पनीहरुलाई कमजोर बनाएको छ ।

टेलिफोन वार्तापछि बाइडेनले पत्रकारसँग भने, ‘राज्यले सहयोग वा साथ नदिएको भए पनि रुसी भूमिबाट हुने कुनै पनि साइबर आक्रमण स्वीकार्य नरहेको र त्यसविरुद्ध तत्काल काम गर्नु पर्ने स्पष्ट पारेको छु । साक्रमणकारीका बारेमा हामीले दिने जानकारीपछि उनीहरुले कारवाही प्रक्रिया थाल्ने विश्वास छ । त्यस्तो नभएमा प्रतिकारका लागि कुनै पनि कार्य गर्न सकिने छ ।’

साइबर आक्रमणकारीले प्रयोग गरेको सर्भरमा अमेरिकाले आक्रमण गर्न सक्ने पनि बाइडेनले बताएका छन् । तर रुसले भने साइबर आक्रमणका बारेमा जानकारी लिन वा त्यससँग जोडिएर अमेरिकाले अहिलेसम्म सम्पर्क नगरेको बताएको छ । आफूहरु आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना साझा गर्न तयार रहे पनि पछिल्लो महिना यता अमेरिकाले सम्पर्क नगरेको दाबी रुसको छ ।

तर एक उच्च अमेरिकी अधिकारीले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार रुससँग साइबर आक्रमणलाई लिएर धेरैपटक जानकारी माग गरिए पनि प्राप्त भएको छैन ।