अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन
इराक युद्धको घोषणा गर्ने बेलाका अमेरिकी रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ । उनलाई इराक युद्धका प्रमुख ‘आर्किटेक्ट’ का रुपमा पनि लिइन्छ ।
पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनमा रक्षा मन्त्री रहेका उनी ‘आतंकवाद विरुद्धको युद्ध’ का प्रमुख पक्षधर थिए ।
सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिकी सुरक्षा बलले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । यस्तै सन् २००३ मा इराकमा युद्ध सुरु गरेको थियो ।
विवादास्पद द्वन्द्वको नतिजा स्वरुप रम्सफेल्डले सन् २००६ मा रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए । तर उनले युद्धको पक्षमा आफ्नो निर्णयको सदैव बचाउ गर्दै आए ।
तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले रम्सफेल्डलाई निकै राम्रो मानिस र उदाहरणीय सार्वजनिक सेवक रहेको बताएका छन् । उनी कहिल्यै पनि जिम्मेवारीबाट नभागेको पनि बुसले बताएका छन् ।
रम्सफेल्डको परिवारले उनको निधन न्यू मेक्सिकोको ताओस स्थित घरमै मंगलबार निधन भएको जानकारी दिएको छ । सन् १९३२ मा सिकागोमा जन्मिएका रम्सफेल्ड पहिलोपटक सन् १९६० को दशकमा वासिङ्टन डिसी पुगेका थिए । उनले रिचर्ड निक्सन र गेराल्ड फोर्डको प्रशासनमा विभिन्न पदमा रहेर काम गरेका थिए ।
उनी फोर्डको प्रशासनमा पनि रक्षा मन्त्री बनेका थिए, त्यो बेला उनी सो जिम्मेवारी पाउने कम उमेरको व्यक्ति बनेका थिए । त्यसपछि बुस प्रशासनमा सो जिम्मेवारी लिँदा उनी रक्षा मन्त्री बन्ने पाको उमेरका व्यक्ति बनेका थिए ।
सन् २०११ मा प्रकाशित मेमोयर मार्फत उनले युद्धको निर्णयको बचाउ गरे पनि आफ्ना केही टिप्पणीहरुप्रति भने खेद जताएका थिए ।
प्रतिकृया दिनुहोस्