December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

इजरायलमा नेतन्याहूको १२ वर्षे शासन अन्त्य

इजरायलमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य भएको छ । विपक्षी गठबन्धनले संसदमा नयाँ सरकार बनाउने पक्षमा मत पाएपछि विगत १२ वर्षदेखि प्रधानमन्त्री रहँदै आएका नेतन्याहू सत्ताबाट बाहिरिएका हुन् ।

Advertisement

राइट–विङ्ग राष्ट्रवादी नेता नाफ्ताली बेनेटले इजरायलको नयाँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । उनको गठबन्धनले संसदमा ६०–५९ को बहुमत पाएको हो ।

बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री रहने छन् । उनी न्यू राइट पार्टीका नेता हुन् । गठबन्धन बनाउने बेला भएको सहमति अनुसार त्यसपछि मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिड प्रधानमन्त्री हुने छन् ।

प्रधानमन्त्री नरहे पनि नेतन्याहू राइट–विङ्ग पार्टी लिकुडको नेता रहने छन् । उनी संसदमा प्रमुख विपक्षी दलको नेताका रुपमा हुने छन् ।
नेतन्याहूको शासन लेपिड, बेनेट र अरब इस्लामिस्ट राम पार्टीका नेता मन्सुर अब्बासबिच भएको सहमतिपछि ढलेको हो ।

नेतन्याहू सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका थिए । घोटालाको मुद्दा खेपिरहेका नेतन्याहूले गएको मार्चमा भएको आम निर्वाचनमा बहुमत ल्याउन सकेका थिएनन् । पछिल्लो दुई वर्षमा इजरायलमा मार्चमा चौथोपटक चुनाव भएको थियो ।