March 18, 2025, Tuesday
२०८१ चैत्र ५

इजरायलमा नेतन्याहूको १२ वर्षे शासन अन्त्य हुने, गठबन्धन सरकार बनाउन विपक्षी सहमत

इजरायलका विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएका छन्।

विपक्षी दलहरुबिच नयाँ सरकार बनाउने सम्बन्धमा सहमति भएसँगै प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ ।

Advertisement

मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिडले गठबन्धनको घोषणा गरेका हुन् ।

रोलक्रममा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति अनुसार पहिले दक्षिपन्थी पार्टीहरुको गठबन्धन यामिनाका नेता नाफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन हुनेछ । उनी सन् २०२३ को अगस्टसम्म प्रधानमन्त्री रहने छन् । उनी न्यू राइट पार्टीका नेता हुन् ।

त्यसपछि लेपिड प्रधानमन्त्री बन्ने छन् ।

गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनु पर्ने हुन्छ ।

लेपिडले जारी गरेको वक्तव्यमा सहमतिबारे राष्ट्रपति रेउवेन रिभ्लिनलाई जानकारी गराएको उल्लेख गरेका छन् । नयाँ सरकारले सबै इजरायली नागरिकको हितमा काम गर्ने पनि उनले बताएका छन् ।

नयाँ सरकारले विपक्षीलाई पनि सम्मान गर्ने उनले उल्लेख गरेका छन् । लेपिड, बेनेट र अरब इस्लामिस्ट राम पार्टीका नेता मन्सुर अब्बासले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्

योसँगै नेतन्याहूको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । नेतन्याहू इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने व्यक्ति हुन् । उनी विगत १२ वर्षदेखि देशको प्रधानमन्त्री छन् । उनी सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले भने सहमतिको सरकार बनाउने नयाँ प्रयासले इजरायललाई कमजोर बनाउने दाबी गर्दै आएका छन् ।

घोटालाको मुद्दा खेपिरहेका नेतन्याहूले गएको मार्चमा भएको आम निर्वाचनमा बहुमत ल्याउन सकेका थिएनन् । पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक चुनाव भएको हो ।