वीर्यदातामा क्यान्सरयुक्त जिन भेटिएपछि युरोपमा तरंग !


भैरहवा– युरोपमा एकजना शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने एक आनुवंशिक उत्परिवर्तन अर्थात् जेनेटिक म्युटेसन भएको पत्ता लागेसँगै उनको वीर्यबाट जन्मिएका १ सय ९७ जना बालबालिका जोखिममा परेका छन् ।
एउटा व्यापक तथा गहन अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएसँगै त्यसले ठूलो तरंग सिर्जना गरेको छ । युरोपियन ब्रडकास्टिङ युनियनको अनुसन्धानात्मक पत्रकारिता सञ्जाल अन्तर्गत बीबीसीलगायतका विभिन्न १४ वटा सार्वजनिक सेवा प्रसारकहरूले संयुक्त रूपमा गरेको अनुसन्धानले त्यस्तो डरलाग्दो तथ्यको खुलासा गरेको हो ।
ती वीर्यदाता पुरुषलाई आफ्नो वंशाणुमा त्यस्तो उत्परिवर्तन रहेको बारेमा जानकारी नै नभएको तथ्य पनि खुलेको छ । शोधकर्ताहरुका अनुसार त्यस्तो म्युटेसन युक्त जिन भएका पुरुषको शुक्रकिटबाट गर्भधारण भई जन्मिएका बच्चाहरू भविष्यमा क्यान्सरबाट बच्न सक्ने सम्भावना निकै कम छ । केही बच्चाहरूको त क्यान्सरबाट मृत्यु भइसकेको खुलेको छ ।
बीबीसीका अनुसार डेनमार्कमा गरिएको एक प्रजनन उपचारका क्रममा बेलायतका केही दम्पतिहरुले ती पुरुषले दान गरेको शुक्रकिटको प्रयोग गरेका थिए। त्यस्ता अभिभावकहरुलाई त्यस विषयमा जानकारी गराइसकिएको बीबीसीले उल्लेख गरेको छ । (एजेन्सी)








प्रतिकृया दिनुहोस्