काल्पनिक बिपद् घटनाको भीम अस्पतालमा वास्तविक उपचार व्यवस्थापनको अभ्यास



भैरहवा–मंगलबार बिहान करिब ८ बजे भैरहवास्थित भीम अस्पतालमा एकाएक विपद्को खबर आयो । सिद्धार्थनगर नगरपालिका–२, मेउडिहवास्थित सामुदायिक भवनमा आगलागी हुँदा ठूलो संख्यामा मानिस घाइते भएको सूचना प्राप्त भयो ।
सूचना प्राप्त हुनासाथ अस्पतालले घाइतेको उद्धारका लागि तत्कालै एम्बुलेन्स घटनास्थलतर्फ पठायो । साथै, घाइतेलाई अस्पताल ल्याएपछि गरिने उपचार तथा अन्य आवश्यक व्यवस्थापनको तयारी पनि थालियो ।
केही मिनेटमै घटनास्थलबाट बिरामी बोकेका एम्बुलेन्सहरू अस्पताल परिसरमा आइपुग्न थाले । सशस्त्र प्रहरी, नेपाल प्रहरी र अस्पतालका कर्मचारीले स्ट्रेचरमार्फत एकपछि अर्को घाइतेलाई अस्पतालको आकस्मिक कक्षमा पु¥याउन थाले । अस्पतालमा विपद् सूचक साइरन बज्न थाल्यो । साइरन बजेसँगै चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू आ–आफ्नो जिम्मेवारी सम्हाल्न सक्रिय भए ।
आकस्मिक कक्षमा ल्याइएका बिरामीमध्ये कोही आगलागीमा परेर जलेका थिए भने कोहीको हातखुट्टा भाँचिएको र कसैलाई चोटपटक लागेको थियो । घाइतेको अवस्था हेरेर चिकित्सक तथा स्वास्थ्यकर्मीले तत्काल उपचार सुरु गरे । अस्पतालबाहिर जम्मा भएको भीडलाई सुरक्षाकर्मीले व्यवस्थित गरे ।
एकैपटक १३ जना घाइते अस्पताल आइपुगेपछि आकस्मिक कक्षमा उपचार व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भयो । पर्याप्त बेडको व्यवस्था मिलाउन कठिन भएपछि केही बिरामीलाई बेडमा र केहीलाई भुइँमै राखेर उपचारको प्रबन्ध मिलाइयो ।
करिब आधा घण्टाको उपचारपछि चिकित्सक डा. मदन अधिकारीले अस्पतालमा ल्याइएका १३ जनामध्ये एक जनाको मृत्यु भएको, एक जना गम्भीर अवस्थामा रहेकाले थप उपचारका लागि अन्यत्र रिफर गरिएको, ६ जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको जानकारी दिए ।
तर, अस्पतालमा देखिएको यो दृश्य वास्तविक विपद्को थिएन । यो त सम्भावित आगलागीजन्य विपद्को सामना गर्न भीम अस्पतालले गरेको आपत्कालीन उपचार व्यवस्थापनसम्बन्धी पूर्वतयारी अभ्यास थियो ।
सामुदायिक भवनमा आगलागी भएको काल्पनिक घटनालाई आधार बनाएर घाइतेको उद्धारदेखि अस्पतालमा उपचार, बिरामीको अवस्थाअनुसार वर्गीकरण, रेफरल तथा मृतकको शव व्यवस्थापनसम्मका प्रक्रियालाई वास्तविक घटनाकै झल्को दिने गरी अभ्यास गरिएको थियो । बिहान ८ बजेदेखि करिब ९ बजेसम्म सञ्चालन भएको अभ्यासमा विपद्का बेला अस्पतालले तत्काल गर्नुपर्ने कामको नमुना प्रस्तुत गरिएको थियो ।

भीम अस्पतालको आयोजना तथा भैरहवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीको समन्वयमा उक्त अभ्यास गरिएको हो । भीम अस्पतालमा नौ सदस्यीय विपद् व्यवस्थापन समिति रहेको छ । अस्पतालले सम्भावित विपद्को सामना गर्न हरेक वर्ष यस्ता पूर्वतयारी अभ्यास गर्दै आएको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापाले विपद् कहिल्यै पूर्वसूचना दिएर नआउने भएकाले त्यसको सामना गर्न अस्पताल सधैँ तयारी अवस्थामा रहनुपर्ने बताइन् । उनले पूर्वसूचना र जानकारीबिनै गरिएको अभ्यासले भविष्यमा आउन सक्ने विपद्का बेला उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
‘विपद् बिना जानकारी अचानक आउने भएकाले त्यसको सामना गर्न सधैँ तयारी अवस्थामा रहनुपर्छ । यही उद्देश्यले यो अभ्यास गरिएको हो,’ उनले भनिन् ।
अभ्यासका क्रममा विपद्को सूचना प्राप्त भएदेखि घटनास्थलमा उद्धारका लागि टोली परिचालन, घाइतेको अवस्था पहिचान, अस्पतालसम्म सुरक्षित स्थानान्तरण, प्राथमिक उपचार, प्रयोगशालासहित विभिन्न उपचार उपकरणको उपयोग, गम्भीर बिरामीलाई अन्यत्र रिफर गर्ने तथा मृतकको शव व्यवस्थापनसम्मका प्रक्रियाको अभ्यास गरिएको थियो ।
विपद्का बेला एकैपटक ठूलो संख्यामा घाइते अस्पताल आइपुग्दा उपचार तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अभ्यासको मूल्याङ्कनसमेत गरिएको थियो । युनिभर्सल शिक्षण अस्पताल भैरहवाका प्रशासन संयोजक तेज केसीले अभ्यासका क्रममा अस्पतालले अपनाएका प्रक्रिया, समन्वय र व्यवस्थापन पक्षको मूल्याङ्कन गरेका थिए ।
केसीले समग्रमा अभ्यास प्रभावकारी रहेको प्रतिक्रिया दिँदै भविष्यमा कुनै विपद् आइपरे त्यसको सामना र व्यवस्थापन गर्न भीम अस्पताल सक्षम देखिएको बताए ।
अभ्यासबाट प्राप्त अनुभव र देखिएका कमी–कमजोरीलाई समेत आगामी योजनामा समेटिने अस्पतालले जनाएको छ । यसका लागि अस्पतालको विपद् व्यवस्थापन समितिको बैठक बसेर अभ्यासको समीक्षा गरिने र आवश्यक सुधारसहित परिमार्जित विपद् व्यवस्थापन योजना तयार पारिने अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारीले जानकारी दिए ।








लेखकको सम्वन्धमा