भीम अस्पतालमा अल्ट्रासाउण्ड र छाला रोग उपचार सेवा पुनः सञ्चालन



भैरहवा–रुपन्देहीको भीम अस्पतालमा लामो समयदेखि अवरुद्ध अल्ट्रासाउण्ड तथा छाला रोग उपचार सेवा पुनः सञ्चालनमा आएको छ । सम्बन्धित चिकित्सक तथा विशेषज्ञको अभावमा रोकिएका दुवै सेवा आवश्यक जनशक्तिको व्यवस्था भएसँगै गत मंगलबारदेखि पुनः सञ्चालनमा आएका हुन् ।
अस्पतालमा छाला रोगसम्बन्धी उपचार सेवा चिकित्सकको अभावमा करिब साढे तीन महिनादेखि बन्द थियो । रेडियोलोजिस्टको अभावमा अल्ट्रासाउण्ड सेवा पनि पछिल्लो दुई सातादेखि ठप्प रहेको थियो । गत असोज १ गतेदेखि अल्ट्रासाउण्ड कक्ष बन्द भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामी, विशेषगरी गर्भवती तथा जटिल अवस्थाका बिरामीलाई समस्या भएको थियो ।
अल्ट्रासाउण्ड सेवा बन्द हुँदा ओपीडी तथा आकस्मिक सेवामा आउने बिरामीलाई आवश्यक परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा पठाउनुपर्ने अवस्था थियो । यसबाट बिरामीले अतिरिक्त खर्चसमेत व्यहोर्नु पर्ने बाध्यता थियो ।
भीम अस्पतालका सूचना अधिकारी तथा चिकित्सक आरिफ हुसैनले रेडियोलोजिस्ट र छाला रोग विशेषज्ञको अभावका कारण लामो समयसम्म सेवा प्रभावित भएकोमा अहिले दुई जना रेडियोलोजिस्ट र एक जना छाला रोग चिकित्सकको व्यवस्था भएसंगै सेवा सुचारु भएको बताए ।
उनका अनुसार दुई जना रेडियोलोजिस्टमध्ये एक जनाले अस्पतालको नियमित समयमा सेवा दिनेछन् भने अर्का चिकित्सकले अस्पताल समयबाहेक बिहान र बेलुकाको अतिरिक्त समयमा सेवा उपलब्ध गराउनेछन् ।
‘अस्पतालमा लामो समयसम्म अल्ट्रासाउण्ड र छाला रोगको उपचार सेवा अवरुद्ध हुँदा अस्पतालबाट प्रदान गरिने उपचार सेवाप्रति नै नकारात्मक सन्देश समाजमा पुगेको थियो’ हुसैनले भने, ‘अब सर्वसाधारण बिरामीले यी सेवा नियमित रूपमा पाउनेछन् ।’

अस्पनतालमा अल्ट्रासाउण्ड सेवा बन्द भएपछि बिरामीहरू निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउन बाध्य भएका थिए । भीम अस्पतालमा अल्ट्रासाउण्ड परीक्षणको शुल्क ६ सय रुपैयाँ रहेकोमा निजी क्लिनिकहरूमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।
करिब ६–७ महिनादेखि सर्जनको अभावमा प्रभावित हुँदै आएको शल्यक्रिया सेवा पनि नियमित सञ्चालन गर्ने तयारी अस्पताल प्रशासनले थालेको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट वर्षा थापाले अस्पतालबाट उपलब्ध हुने सबै स्वास्थ्य सेवामा गुणस्तर र नियमितता कायम गर्न अस्पताल प्रशासन तथा अस्पताल विकास समितिको पहल निरन्तर भइरहेको बताइन् ।
‘सर्जनको अभावले रोकिएको शल्यक्रिया सेवासमेत नियमित बनाउन प्रक्रियागत तयारी थालिएको छ । तीन–चार हप्ताभित्र समाधान हुने अवस्था छ’ थापाले भनिन्, ‘भीम अस्पतालको सेवा अब पहिलाको भन्दा अझ गुणस्तरीय र सहज बनाइनेछ ।’
रुपन्देहीको जिल्ला अस्पतालका रूपमा रहेको भीम अस्पतालमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको चाप निरन्तर बढिरहेको छ । अस्पतालको तथ्यांकअनुसार ओपीडी र आकस्मिक सेवामा गरी दैनिक औसत ७ सय बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये दैनिक ८० भन्दा बढी बिरामीले अल्ट्रासाउण्ड सेवा लिने गरेका छन् ।
सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा उपलब्ध हुन थालेपछि भीम अस्पतालमा बिरामीको चाप थप बढेको छ । भैरहवा तथा आसपासका क्षेत्रका बिरामीसँगै सीमावर्ती भारतीय क्षेत्रबाट समेत उपचारका लागि बिरामीहरू भीम अस्पताल आउने गरेका छन् ।








प्रतिकृया दिनुहोस्