बेमौसमी वर्षाले लुम्बिनीमा ८९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट



भैरहवा– अघिल्लो हप्ताको वर्षाले लुम्बिनी प्रदेशमा करोडौंको धानबालीमा क्षति पुगेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बेमौसमी वर्षाका कारण भित्र्याउन ठिक्क पारिएको धानबालीमा ठूलो क्षति पुगेको हो । निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले वर्षाका कारण १३ करोड ४३ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको तथ्यांक आएको जनाए ।
बेमौसमी वर्षाका कारण ८९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको थियो । यस वर्ष लुम्बिनी प्रदेशमा कुल २ लाख ९८ हजार १० हेक्टरमा धान खेती गरिएको थियो, जसमध्ये ०.३० प्रतिशत बालीमा क्षति पुगेको हो । वर्षाले प्रदेशका दाङ, बाँके, रोल्पा, प्यूठान र रुकुम पूर्वमा भने कुनै क्षति नपुर्याएको निर्देशनालयले जनाएको छ ।
गैरेले प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसाको समर्थन मूल्य र प्रतिहेक्टर ४.३३ मेट्रिक टन उत्पादकत्वको आधारमा क्षतिको मूल्यांकन गरिएको जनाए । निर्देशनालयको तथ्यांकअनुसार हालसम्म प्रदेशभर करिब १ लाख ६९ हजार ३१५ हेक्टरको धान काटिसकिएको छ भने ७ हजार २५० हेक्टरको काटेको धान खेतमै भिजेको छ । अझै १ लाख २१ हजार २१५ हेक्टरमा धान काट्न बाँकी छ ।
वर्षाका कारण सबैभन्दा बढी क्षति रुपन्देही, गुल्मी र नवलपरासीमा भएको छ । ५९ हजार ९६१ हेक्टरमा धान खेती गरिएकोमा रुपन्देहीमा २४० हेक्टरमा पूर्ण क्षति भएको छ । जिल्लामा ३१ हजार १८० हेक्टरको धान भित्र्याइएको छ भने ३६० हेक्टरको धान खेतमै भिजेको छ ।
नवलपरासी (पश्चिम)मा २० हजार ७० हेक्टरमध्ये २०१ हेक्टरमा पूर्ण क्षति पुगेको छ । यहाँ १२ हजार ६४४ हेक्टरको धान भित्र्याइएको छ र ४१० हेक्टरको धान खेतमा भिजेको छ । कपिलवस्तुमा ६५ हजार ५४१ हेक्टरमध्ये १४४ हेक्टरको धानबालीमा क्षति पुगेको छ । जिल्लामा अझै ३९ हजार १८८ हेक्टरमा धान काट्न बाँकी छ । त्यस्तै, अर्घाखाँचीमा ५३ हेक्टर, पाल्पामा ३२ हेक्टर र बर्दियामा ५ हेक्टर क्षेत्रफलको धानबालीमा पूर्ण क्षति भएको तथ्यांक छ । गुल्मीमा पनि वर्षाले ठूलो क्षति गरेको छ । कुल ७ हजार ३८७ हेक्टरमध्ये २२२ हेक्टरको धानबाली पूर्ण रूपमा नष्ट भएको छ ।








प्रतिकृया दिनुहोस्