October 15, 2024, Tuesday
२०८१ आश्विन २९

कञ्चनको नीति तथा कार्यक्रमः कृषि क्षेत्रको विकासमा जोड

भैरहवा– रुपन्देहीको कञ्चन गाउँपालिकाले कृषि क्षेत्रको विकासमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । कञ्चनको १६औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आर्थिक वर्ष २०८१–०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनकाबेला वाचा गरेका कार्यक्रमलाई समेटेर नीति तथा कार्यक्रम ल्याइएको जनाए । पालिकाले ‘समुन्नत कञ्चन, सुखी कञ्चनवासी’ लाई साकार पार्न फजुल खर्च कटौँती गरि विकासमा लगानी गर्ने योजना ल्याएको छ ।

Advertisement

यस्तै, सुशासनयुक्त गाउँपालिका बनाउन जनप्रतिनिधि, कर्मचारी, राजनितिक दल, नागरिक समाज, संचारमाध्यम लगायत सबैको अपनत्व हुन जरुरी रहेको अध्यक्ष ढकालले बताए । पालिकाले कृषि क्षेत्रको विकासमा जोड दिएको छ । व्यवसायिक खेती गर्ने कृषकहरुलाई पालिकाले सोचेको, कृषकले रोजेको कृषक प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालन गरिने, उत्पादकत्व वृद्धि गर्न कृषि यान्त्रीकरण र बजारीकरणको नीतिलाई अवलम्बन गरिने, रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न अडहर बालीलाई प्राथमिकता दिई बाँझो जग्गालाई निरुत्साहन गरिने छ उल्लेख छ ।

पशु सेवातर्फ ‘उत्पादन साथमा अनुदान हात हातामा’ भन्ने नारालाई आत्मसाथ गर्दैै पशुपन्छी पालक किसानको हानी नोक्सानी कम गर्न पशु बिमा कार्यक्रम सञ्चालनमा गरिने जनाइएको छ । श्रम तथा रोजगार तर्फ बैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्याणकारी सेवाहरु कामदारको घरपरिवारका लागी सदस्यलाई प्रदान गरिने, औषधी उपचार सहयोग, आर्थिक सहायता तथा सेवाहरु बोर्ड संगको सहकार्य र समन्वय सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पालिका भित्र रहेका पर्यटकीय स्थलहरुको विकासमा जोड दिई आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विशेष कार्यक्रम सञ्चालन गरिने, वित्तीय तथा सहकारीलाई उत्पादन तथा आत्मनिर्भरका कार्यक्रम ल्याउन विशेष जोड दिइने, स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटी कच्चा पदार्थ, सिप, श्रम र प्रविधिको उपयोग गर्न घरेलु उद्योगको स्थापना गर्न जोड दिइने उल्लेख छ ।

यसैगरि शिक्षा क्षेत्रको विकासका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुको असल अभ्यास आदानप्रदान गरि नतिजा सुधार गर्न विषयगत शिक्षक कलष्टर तयार गरिने, सामुदायिक विद्यालयका शैक्षिक प्रशासन सञ्चालन एवं व्यवस्थापनका लागि प्रधानाध्यापकले गाउँपालिकाको कार्यालयसंग र शिक्षकले प्रधानाध्यापकसंग कार्यसम्पादन सम्झौत गर्ने व्यवस्था मिलाउने नीति कार्यक्रममा जनाइएको छ । खेलकुदको विकास र प्रोत्साहनमुखी कार्यक्रम अघि सारिने, ‘स्वस्थ कञ्चन, समृद्ध कञ्चन’ बनाउनका लागि स्वास्थ्य कार्यक्रमसंगै सचेतनाका अभियानलाई निरन्तरता दिइने बताइएको छ । ‘अध्यक्षसंग स्वस्थ्य शिशुदेखि जेष्ठ नागरिक सम्मको नीति लिँदै नवजात शिशु र आमाको पोषण, स्वास्थ्य परीक्षण शिविरहरुलाई घरदैलोसम्म पुर्याइनेछ’, अध्यक्ष ढकालले भने ।

पालिका भित्र रहेका ऐतिहासिक तथा पुरात्वितक वस्तुको संरक्षणसंगै भाषा, कला संस्कृति र पर्यटनतर्फ पहिचानमुखी सामाग्री उत्पादन तथा वितरणमा सुविधा तथा सहुलियत उपलब्ध गराइने, गाउँपालिकाका विपन्न परिवारहरुलाई निःशुल्क धारा जडान गर्नका लागि खानेपानी उपभोक्ता समितिसंग आवश्यक छलफल गरि सामाजिक उत्तरदायित्व मार्फत धारा जडान गर्न र अनुगमन र नियमनका लागी आवश्यक व्यवस्था मिलाइने, लैंगिक समानता र सामाजिक समावेशीकरण कार्यक्रममा महिलाहरुलाई सक्रिय सहभागी बनाई सहकारी तथा समूहहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

बालमैत्री स्थानीय तह निर्माणका लागि अध्यक्षसंग बालबालिका कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, अपांग, दलित, विपन्न, अल्पसंख्यक परिवारलाई ज्ञान र सिपमूलक कार्यक्रम सञ्चालन गरिने, हिलाम्मे बाटाहरु पिच, ढलान, सिंचाई, तटबन्ध र जोड्ने पुल निर्माण गरि आम जनतामा विकास अनुभूति गर्ने नीति ल्याइएको छ । प्रदेश तथा केन्द्र सरकारसंग आवश्यक बजेट माग गरि अपुरा र अधुरा रहेका पूर्वाधारलाई पूर्णता दिई पालिका भित्र रहेका डकर्मीहरुलाई भवन संहिता सम्बन्धी तालिम दिइने उलेख छ ।

मानव संशाधनको विकाससंगै राजश्व वृद्धिका लागि करको दायरा फराकिलो बनाई मैले तिरेको कर मेरै विकास लागि भन्ने धारणालाई बढवा दिइने जनाइएको छ । पालिकाले गत वर्ष वेरुजु कम गराएको जनाउँदै आगामी वर्षमा शुन्य बेरुजु बनाउन प्रतिबद्ध रहेको अध्यक्ष ढकालले उल्लेख गरे । आम जनतामा सार्वजनिक सूचनाको पहुँच पुर्योउन रेडियो, टेलिभिजन कार्यक्रम सञ्चालन गरिने र वन तथा सार्वजनिक सम्पति संरक्षण गर्दै क्षति पुर्याउनेलाई कानुनी दायरामा ल्याउन पहल गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।

न्याय पाउनु हरेक नागरिकको अधिकार भन्ने मान्यतालाई आत्मसाथ गर्दै जितजितको माध्यमबाट न्याय दिलाउन पालिका कटिबद्ध भएको उनले बताए । पालिकालाई हरवरा र स्वच्छ बनाउन फोहोरमैला व्यवस्थापन कार्यक्रमलाई अघि सारि निजि साझेदारीको अवधारणा अनुरुप ल्याण्डफिल्ड साइट निर्माण गरि फोहोरमैला व्यवस्थापन गर्ने निकाय, व्यक्ति, संस्थासँग आवश्यक समवन्य गरि फोहोर मलाई भन्ने नारासहित मुख्यमुख्य चोकहरुमा डष्टविन राख्ने, सुकुम्बासी समस्या समाधान गर्न लागि आवश्यक प्रयास भएको र करको दर घटाउन निरन्तर पहलकदमी भएको बताइएको छ ।