बालकल्याणद्वारा २१ विद्यार्थीलाई छात्रबृत्ति, दुईवटा विद्यालयलाई सहयोग


भैरहवा– नेपाल बालकल्याण संस्था, सिद्धार्थनगर रुपन्देहीले बाल दिवसका अवसरमा भैरहवा र आसपास क्षेत्रका २१ जना विद्यार्थीलाई छात्रबृत्ति तथा सहयोग प्रदान गरेको छ । ‘बालवालिकाका लागि लगानी सुनुश्चित, भविष्यको थालनी’ नाराका साथ मनाइएको यस बर्षको ५९ औं बाल दिवसका अवसरमा उक्त संस्थाले सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु उच्च माध्यमिक बिद्यालय र सिद्धार्थनगर–१२ स्थित सिद्धार्थ आधारभूत सामुदायिक बिद्यालयलाई छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि १–१ लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरका अध्यक्ष बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले उक्त रकमबाट स्थापित छात्रबृत्ति गरिव तथा जेहेन्दार बिद्यार्थीलाई प्रदान गरिने बताए । संस्थाले सिद्धार्थनगरस्थित बहिरा बाल बिद्यालयका ५ जना, आशाज्योति सहयोग समिति बिद्यालयका ५ जना, रामनरेश उच्च मावि धकधईका ५ जना, बोधवार माविका २ जना, जनजागृति आधारभूत प्राविका २ जना, भानु माविका १ जना र भैरहवा नमूना उच्च माविका एक जना बिद्यार्थीलाई छात्रबृत्ति तथा सहयोग उपलब्ध गराएको हो ।
कक्षा १२ को परीक्षामा ३ दशमलव ७५ जिपीए नम्बर ल्याइ सिद्धार्थनगर क्षेत्रका सामुदायिक बिद्यालयमध्येबाट उच्च अंक प्राप्त गरेको भन्दै भानु माविकी छात्रा सुरक्षा सापकोटालाई सम्मान गरिएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाले बालवालिकाले गल्ती गरे पनि अपराध मान्न नसकिने र अपराध गर्ने मनसाय नहुने बताए ।
‘वालवालिकाले गरेको गल्तीलाई सजाय होइन्, सच्याउन सकिन्छ’, कोइरालाले भने, ‘उनीहरुले गरेको गल्तीलाई फौजवदारी सजाय दिएमा उनीहरु भविष्यमा अझ अपराधी बन्ने सम्भावना हुन्छ ।’ गल्ती गरेका वालवालिकालाई कारागार र बयस्क कैदीसँग नराखेर बाल सुधार गृहमा राखेर उनीहरुको मुद्दाको सिलसिलामा बालमैत्री व्यवहार अपनाउनु पर्ने उनको भनाइ थियो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले अहिलको बिद्यार्थीमा सानै उमेरदेखि नैतिक शिक्षामा जोड दिन जरुरी भएको बताए । कतिपय राम्रा काम गर्न खोज्दा पनि कर्मचारी र अन्य निकायबाट बेलाबेलामा असहयोग हुने गरेको गुनासो उनले गरे ।
जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाईंले बालवालिकामा रहेको फरक खालको क्षमता तथा व्यवहारलाई अभिभावक तथा बिद्यालयका शिक्षकले बुझ्न जरुरी भएको बताए । ‘बिद्यालयको कक्षा शिक्षकले सवै वालवालिकाको घरायशी परिस्थिति बुझेर त्यही अनुरुपको व्यवहार उनीहरु माथि अपनाउन जरुरी छ’, उनले भने ।
संस्थाका उपाध्यक्ष धर्म खड्काले बालवालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था बिच आपसमा समन्वय हुन नसक्दा अपेक्षा गरे अनुरुपको सफलता हासिल गर्न नसकिएको बताए । अग्रज पत्रकार तथा संस्थाका पूर्व अध्यक्ष दिलीप भट्टराई, लुम्बिनी प्रेस क्लवकी अध्यक्ष सम्झना शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले पनि बालअधिकार संरक्षणमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस्