अर्थतन्त्रलाई लयमा ल्याउन लागेका छौं: अर्थमन्त्री पौडेल


उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजश्व परिचालनको अवस्था गत वर्षको तुलनामा अत्यन्त कमजोर भएको बताएका छन्।
प्रवासी नेपाली मञ्च अमेरिकाको शिक्षा तथा सीप विभागले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री पौडेलले यस्ताे बताएका हुन्।
यस वर्षको मंसिर मसान्तसम्मको राजश्व परिचालनलाई गत वर्षको सोही अवधिसम्म तुलना गर्दा करिव २० प्रतिशत कम भएको उनकाे भनाइ छ।
‘राजश्वको लक्ष्य कहिले पूरा हुन्छ, कहिले पूरा हुंँदैन। तर गत वर्षको जति पनि परिचालन गर्न नसक्नु चिन्ताको कुरा हो’, अर्थमन्त्री पौडेलले भने, ‘भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट जोगाएर ल्याएको अर्थतन्त्रलाई अहिले कुनै प्रतिकूलता नहुँदा पनि जोगाउन निकै कठिन भएको छ।’
राजश्वले सामान्य खर्चसमेत धान्न नसकेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले अहिले वैदेशिक सहयोगमा पनि नेपाल पछि परिरहेको बताए।
‘नेपाली अर्थतन्त्रलाई लयमा फर्काउनका लागि सरकार क्रियाशील भएको छ र अर्थमन्त्रीको रूपमा म यसपट्टि केन्द्रित छु’, अर्थमन्त्री पौडेलले भने, ‘नेपाली अर्थतन्त्रलाई जोगाउनका लागि प्रवासमा भएका नेपालीहरूले अहिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको छ।’
प्रवासमा भएका सबै नेपालीहरूले वैध माध्यमबाट मात्रै रेमिट्यान्स पठाइदिए नेपाली अर्थतन्त्रलाई निकै सहयोग पुग्ने चर्चा गर्दै उनले वैध ढंगले रेमिट्यान्स पठाउन कानुनमा संशोधन गर्न आवश्यक भए पनि सरकार तयार रहेको बताए।
कार्यक्रम संयोजक थोमस बास्तोलाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले गरेका थिए।
कार्यक्रममा युनिभर्सिटी अफ मिनासोटाका एसोसिएट प्रोफेसर डा. सतीस देवकोटा र युनिभर्सिटी अफ इलिनोइमा अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका विद्यार्थी थोमस बास्तोलाले शीर्षकमाथि कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा सन् २००० पछि निरन्तर बढ्दै गएको र करिब एक चौथाइ हिस्सा कायम रहेको अवस्थालाई ग्राफ र पाइ चार्टहरूबाट स्पष्ट पारिएको थियो।
कार्यपत्रले विदेशी मुद्राको सञ्चितिमा सकारात्मक प्रभाव पारेतापनि श्रमशक्तिको विदेश पलायनले आयात बढ्ने र उत्पादन घट्ने एकसाथ भएको समेत चित्रण गरिएको छ।
कोभिड १९ का कारण अर्थतन्न्त्रका तमाम क्षेत्र खस्किए पनि वैदेशिक मुद्रा सञ्चितिमा आर्थिक वर्ष सन् २०२० र२१ मा रेमिट्यान्सले करिब ७० प्रतिशत योगदान गरेर अर्थतन्त्रलाई टेवा पुगेको कार्यपत्रमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्