August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

‘निर्धक्कसाथ खरिद गरेको सामानको सही बिल माग्नुस्’

भैरहवा – केही दिन अघि सिद्धार्थनगर नपा–९ का प्रेम बस्नेत भैरहवाको नारायणपथस्थित एक कम्प्युटर पसलमा युपीएस र मोनिटर किन्न पुगे । उनले मूल्य सोधे । बिक्रेताले मूल्य बताएपछि सक्दो डिस्काउन्ट आग्रह गरे । बिक्रेताले ५ सय रुपैयाँ डिस्काउन्ट गरिदिने बताए पछि बस्नेत किन्न तयार भए ।

Advertisement

बस्नेतले आफूलाई भ्याट बिल चाहिने बताए । बिक्रेताले भ्याट बिल चाहिने हो भने ५ सय रुपैयाँ डिस्काउन्ट दिन नसक्ने बताए । भ्याट बिल माग्दा डिस्काउन्ट दिन नसक्नुको कारण उनले बुझ्न सकेनन् । त्यही वेला अर्को समस्या थपियो । बस्नेतले आफूसंग नगद पैसा नभएकाले चेकबाट भुक्तानी दिन खोजे । बिक्रेताले मानेनन् । चिनेजानेको बिक्रेता भएर पनि चेकबाट भुक्तानी चेकबाट लिन नमान्दा बस्नेत अझ अचम्मित भए । अन्तिममा उनले बैंकको उटीएमबाट पैसा निकालेर किनेको सामानको नगद भुक्तानी दिए ।

Advertisement

कर बिशेषज्ञहरु भन्छन्,– `ग्राहकले किनेको सामानको बिल माग्दा दिन नमान्नु, सादा बिल दिनु, भ्याट बिल माग्दा अलग पैसा लाग्छ भन्नु, भ्याट बिल माग्दा दिन खोजेको सहुलियत तथा डिस्काउन्ट नदिनु र चेकबाट भुक्तानी दिन खोज्दा नमान्नु गलत हो ।´

आन्तरिक राजश्व राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्ती आचार्यले भने, `बिक्रेताको यस खालका सवै प्रवृत्ति गलत हुन् । बिक्रेताको यस खालका प्रबृत्तिले आफूले तिर्नु पर्ने यतार्थ कर नतिरेर छल्न खोजेकोतर्फ संकेत गर्छ ।’ चेकबाट भुक्तानी लिँदा आफ्नो कारोवार बैंकबाट देखिने र उसले आफूलाई साना करदाताको रुप देखाएर बार्षिक रुपमा थोरै कर तिरेर उम्किनकालागि चेकबाट भुक्तानी लिन नखोजेको हुन सक्ने उनले बताए ।

‘यहाँ यस्ता बिक्रेता धेरै छन्, जो कारोवार ठूलो गर्ने तर साना करदातामा समावेश भइ कर छल्नका लागि सही ढंगले बिल बिजकको प्रयोग गर्दैनन्’, आइतवार कार्यालय परिसरमा स्थानीय संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आचार्यले भने, ‘यसका लागि सवै नागरिक सचेत भइ आफूले खरिद गरेको सामानको बिल माग्ने बानीको बिकास गर्न जरुरी छ ।’ बिक्रेताको यस खालको प्रबृत्तिको अन्त्य गर्नका लागि एउटामात्रै बिकल्प भनेको भुक्तानीमा नगद कारोवार हटाएर बैंकिङ तथा डिजिटल कारोवारमा जानु भएको उनले बताए ।

भ्याट बिल माग्दा दिन खोजेको डिस्काउन्ट नमान्नु र चेकबाट भुक्तानी नमानेर पीडित हुनु परेको बस्नेत जस्ता ग्राहक धेरै छन् । किनेको सामान बिल माग्दा आनाकानी गर्ने, सादा बिल दिने, प्यान नम्बरसहितको पनि बिल नदिने, भ्याट मागे अतिरिक्त पैसा खोज्ने जस्ता बिक्रेताको प्रबृत्ति अधिकांश ग्राहकले भोग्दै आएका छन् । लुज बिल दिने प्रबृत्ति अझ बढि होटेल, रेष्टुरेन्ट, हार्डवेयर पसल, किला काटी लगायतका भवन निर्माणसंग सम्बन्धित पसलहरुमा अध्याधिक छ ।

‘यदि कुनै व्यवसायीले आफ्नो प्यान नम्बर बिनाको सादा बिल दिएका छन् भने कम्तीमा पसल वा फर्मको छाप लगाएर हामीसंग पेश गरिदिनु होला’, ग्राहकलाई आग्रह गर्दै आचार्यले भने, ‘बिना दर्ता कुनै पनि व्यवसाय वा कारोवर गर्न पाइँदैन । चिया बिक्री गर्नेए सामान्य व्यवसायीले पनि प्यान नम्बरसहितको बिल प्रयोग गर्नु पर्ने हुन्छ ।’

आगामी वर्षलाई सरकारले करदाताले यतार्थ कर तिरे/नतिरेको वारेमा बुझ्नका लागि ‘अनुगमनको बर्ष’ को रुपमा मनाउँदै छ । तर सिमीत जनशक्ति र साधन श्रोतका कारण सरकारी पक्षको अनुगमनको प्रभावकारीतामाथि धेरै समस्या देखा परेका छन् ।

आन्तरिक राजश्व कार्यालय भैरहवाकै कुरा गर्ने हो भने पनि यस कार्यालय मातहतमा ५० हजार भन्दा धेरै करदाता छन् । १०/१२ जना संख्याको कर्मचारीले ति सवै करदाताको व्यवसायिक फर्ममा स्थलगत गएर अनुगमन गरेमा बर्षमा एक पटक भन्दा धेरै पटक संभव छैन । ‘हामी सवै उपभोक्ता सशक्त भएर यतार्थ बिलको माग गर्ने बानी बसालेमा बिक्रेताले कर छल्न खोज्ने प्रबित्तिको अन्त्य हुन्छ’, आचार्यले भने, ‘उपभोक्ता तथा ग्राहकलाई जागरुक बनाउनका लागि राज्यले मिडियामा लगानी गरेर मिडियाको प्रयोग गर्न सक्नुपर्छ ।’

प्यान बिलको प्रयोग सामानको बिक्री गर्ने व्यवसायीमात्रले नभएर नीजि क्लिनिकमा बिरामी जाचेर आम्दानी गर्ने चिकित्सक, वकिल, लेखन्दास, शिक्षक लगायत्का सवै सेवामूलक कारोवार गरेर आम्दानी गर्ने सवैले प्यान बिलको प्रयोग गर्न अनिबार्य छ ।