March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विमानस्थलमा सफल परीक्षण उडानपछि व्यवसायी उत्साहित

भैरहवा– मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अप्रेसन फ्लाइट (परीक्षण उडान) सफल भएपछि यस क्षेत्रमा खुशीयाली छाएको छ । विमानस्थल निर्माण सुरुपछि धमाधम लुम्बिनी क्षेत्रमा लगानी गरिरहेका उद्योगी, पर्यटन व्यवसायीलगायत स्थानीयमा निर्माण सम्पन्न भएर परीक्षण उडान सफल भएपछि खुशीयाली छाएको हो ।

Advertisement

‘लुम्बिनी क्षेत्रको विकासको ढोका खोल्न अब विमानस्थल कोशेढुंगा सावित हुने हाम्रो अपेक्षा छ’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भने, ‘लामो प्रतीक्षा सफल भएको छ । सरकारी सबै किसिमका तयारी गरेर नियमित व्यवसायिक उडानको चाजोपाजो भने मिलाउनुपर्छ ।’

Advertisement

गौतमबुद्ध विमानस्थल संचालन गर्ने सकारी तयारीसँगै रुपन्देही मात्रै होइन्, लुम्बिनी प्रदेशकै बासिन्दा र यस क्षेत्रमा लगानी गरेका हजारौं लगानीकर्ता उत्साहित छन् । सरकारले आउँदो जेठ २ गते बुद्ध पूर्णिमा दिनबाट व्यवसायिक उडान गर्ने तयारी गरेको छ ।

विमानस्थललाई लक्षित गरेर व्यवसायीले भाडामा सटर खोज्नेदेखि अर्बौं रुपैयाँ ऋण लिँदै पाँचतारे होटल र हाउजिङमा लगानी गरिरहेका छन् । स्तरीय रेष्टुरेन्ट, यातायात, जमिन भाडामा लिएर आधुनिक कृषि, पशुपालन, उद्योगमा लगानी गर्ने व्यवसायीसमेत कयौं छन् । भैरहवा र लुम्बिनी क्षेत्रमा मात्रै होइन, विमानस्थललाई लक्षित गरेर नवलपरासी, बुटवल, कपिलबस्तु क्षेत्रमा समेत लगानी बढ्दै गएको छ ।

‘विमानस्थल संचलनमा आउँदा थला परेको पर्यटन क्षेत्र उकासिने मात्रै होइन्, नेपाली उत्पादन विदेश निकासीमा समेत सहज हुनेछ’, न्यौपानेले भने । नेपाल वायुसेवा निगमको ३३० एयरबस (वाइडबडी) माफर्त बिहीबार गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गरिएको थियो ।

यसअघि नयाँ वर्षका दिन बैशाख १ गते परीक्षण उडान हुने भनिए पनि स्थगित गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले झण्डै ७४ वर्षपछि मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनु खुशीको कुरा भएको बताएका छन् ।

निर्माणमा ढिलाई हुँदा निरास बनेका व्यवसायी विमानस्थलमा परीक्षण उडान सफल पछि अब व्यवसायिक उडानको प्रतीक्षामा छन् । लुम्बिनी क्षेत्रमा पछिल्लो समयमा विमानस्थललाई पछ्याउँदै सबैभन्दा धेरै होटलमा लगानी बढेको छ । भैरहवा–लुम्बिनी क्षेत्रमा मात्रै ७ वटा पाँचतारे होटल निर्माण भएका छन् । जसमध्ये दुईवटा संचालनमा आइसकेका छन् । अन्य संचालनको तयारीमा छन् । व्यवसायीकाअनुसार रुपन्देहीसहित नवलपरासी, कपिलबस्तुमा पनि होटल निर्माणको कार्य तिब्र छ ।

‘पछिल्लो आठ वर्षमा मात्रै चार दर्जन चारतारे होटल निर्माण भएका छन् । साना होटलको निर्माण गनिसाध्य छैन, यो पर्यटन क्षेत्रका लागि खु्शीको कुरा हो’, सिद्धार्थ होटल संघ नेपालका महासचिव रवीन्द्र शर्मा घिमिरेले भने । यो विमास्थल संचालनको सुरुमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य सरकारले राखेको छ ।

विमानस्थलमा यसअघि यान्त्रिक परीक्षण उडान सफल भइसकेको छ । पर्यटन व्यवसायी एवं लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले विमानस्थल नै अब लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता र स्थानीय समुदायको आर्थिक समृद्धिका लागि आशा र भरोसाको आधार बनेको बताए ।

‘आठ वर्ष अघि भैरहवामा विमानस्थलको शिलान्यास भएपछि व्यवसायीहरुले आफ्नो घरखेत बिक्री गरेर, बैंकमा धितो राखेर चर्को व्याजमा ऋण लिदै लगानी गरेका थिए’, ज्ञवालीले भने, ‘बीचमा काममा विलम्ब हुँदा व्यवसायीमा निराशा थियो । अब भने विमानस्थल संचालनमा आएपछि बिदेशी मुलुकसंगको सिधा उडानले पर्यटन र औद्योगिक क्षेत्रमा लुम्बिनी प्रदेशले अर्को छलाङ मार्ने आशा म जस्ता धेरै व्यवसायी छ’, उनले भने ।