February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

अघोषित लोडसेडिङले मर्कामा उद्योगी–व्यवसायी

भैरहवा– झ्याप्प–झ्याप्प विद्युत् आउजाउ गर्ने कुनै नौलो कुरा रहेन । विद्युत्को यस्तै कारणले उद्योगी–व्यवसायीका भने करोडौंका उपकरण कामै नलाग्ने गरी विग्रिएका छन् । विद्युतकै कारण कति सर्वसाधरणका कम्प्युटर, ल्यापटप, मोबाइल, फ्रिज लगायत अन्य उपकरण विग्रिए, त्यसको कुनै लेखाजोखा छैन ।

अझ पछिल्ला दिनमा त उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ नै हुन थालेको छ । विद्युत आउँदासमेत लो भोल्टेज, ट्रिपिङलगायतका समस्या छन् । यस्तै, कारण रुपन्देहीका दर्जन बढी उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योगीहरुले गुनासो गरेका छन् ।

Advertisement

कोरोनाले थला परेका उद्योगी–व्यवसायी विस्तारै लयका फर्कँदै थिए । तर, अघोषित लोडसेडिङका कारण फेरि नराम्रोसँग मारमा पर्न थालेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । ‘एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको छ’, उनले भने, ‘यस्तै, अवस्था रहे उद्योग बन्द गर्नुको विकल्प रहँदैन ।’

विद्युत अनियमित हुँदा उद्योगी, व्यवसायी मात्रै होइन् सर्वसाधरण पनि सहज ढंगले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषित रुपमा भइरहेको लोडसेटिङले आमनागरिकको जीवन निकै कष्टकर बन्दै गएको छ । ‘छिनछिनमा बत्ति जान्छ, न कुनै जानकारी हुन्छ’, स्थानीय अस्मिता केसीले भनिन्, ‘मोबाइल, फ्रिजलगायतका सामान विग्रने डर मात्रै छ ।’

दिनको समयमा पनि पटक–पटकको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको न्यौपानेले बताए ।

रुपन्देहीका ३३ केभीए विद्युततबाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको संघका एशोसियट सदस्य विकास गोयनकाले जनाए । ‘यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने गरेको छ, यसबाट हामी निकै पीडित छौं’, उनले भने ।

उद्योगमा उत्पादन भइरहेका बेला बीचमै विद्युत जाँदा वस्तु उत्पादन नभई फाल्नु पर्ने अवस्था उद्योगीको छ । यस विषयमा नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको भए पनि कुनै सुनुवाई नभएको उद्योगी व्यवसायीको गुनासो छ ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले पछिल्ला दिनमा विद्युत आपूर्तिमा समस्या भएको स्वीकार्दै यसबाट उद्योगतर्फ समस्या भएको जनाए । ‘अघोषित लोडसेडिङ भन्नु गलत हो, तर उद्योगको माग अनुसारको आपूर्ति भने भएको छैन । हामीले मागअनुसारको आपूर्ति गर्ने प्रयासमा भने छौं’, उनले भने ।