February 8, 2025, Saturday
२०८१ माघ २७

एशिएन कंक्रिटो प्रालिलाई नेपाल गुणस्तर प्रमाण चिन्ह

भैरहवा– भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रहेको एशिएन कंक्रिटो प्रालिले मुलुकमा पहिलो पटक नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ ।

मुलुकमा पहिलो पटक जर्मनको विश्वप्रसिद्ध प्लान्ट मार्फत कंक्रिटका निर्माण सामाग्री उत्पादन गरिरहेको उद्योगले गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको जनाएको छ । मुलुकमा कंक्रिट जन्य निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी मध्ये यस्तो गुणस्तर चिन्ह प्राप्त गर्ने एसियन कंक्रिटो प्रालि पहिलो भएको यसका सञ्चालक मनिष रुंगटाले जनाए ।

Advertisement

कम्पनीले प्राप्त गरेको सफलताबारे बिहीबार साँझ भैरहवास्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराउने भएको छ । उक्त पत्रकार सम्मेलनमा कम्पनीले राम्रो बजार ओगटेका क्षेत्र चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र पाल्पाका सञ्चारकर्मीलाई निम्त्याइएको छ ।

गुणस्तरीय सामाग्री उत्पादन गरेर छिमेकी भारतमा निर्यात लक्ष्य लिएको कम्पनीले कोरोना महामारीका कारण बजार बिस्तारमा बाधा पुगेको जनाएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि कम्पनीका उत्पादनलाई मुलुकभर रुचाइएको लगानीकर्ताले जनाएका छन् ।

नवलपरासीको रामग्राम नगरपालिका–१६, हकुईमा २ अर्ब लगानीमा एशियन कंक्रिट उद्योग प्रालि संचालनमा ल्याइएको थियो । रोबटको प्रयोग गरिएको उक्त उद्योग पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । दैनिक ५ सय टन अर्थात् तीन किलोमीटर सडकलाई पुग्ने ब्लक उत्पादन क्षमता रहेको उद्योगले पेभर, ब्लक, स्लाव, कर्व स्टोन, इँट्टा र टायल उत्पादन गर्छ ।

राम्रो गुणस्तर हुने एकाले यी उत्पादन सडक, आगन, पुल, प्रांगण, वेयर हाउस, मिल, सपिङ मल, व्यापारिक भवनहरु, होटल रिसोर्ट तथा पार्किङस्थल बनाउन प्रयोग गर्न सकिने उद्योगका संचालक रुंगटाले बताए । नेपालमा हालसम्म उत्पादन हुने ब्लकहरु एम १०, एम १५ तथा एम २० मात्रै छन् । तर, यो उद्योगले उत्पादन गर्ने ब्लक न्यूनतम एम ३५ भन्दा बढी हुन्छ । जुन ठूला आयोजनामा पनि प्रयोग गर्न सकिन्छ । संचालकका अनुसार प्लान्टको उत्पादन, गुणस्तर तथा सम्पूर्ण इकाई जर्मनबाट नै निगरानी हुन्छ ।

यस्तै उद्योगमा लाग्ने सम्पूर्ण कच्चा पदार्थहरुको आधुनिक ल्यावमा टेष्ट जमर्नीबाट स्वीकृत गराएर मात्रै प्रयोग गरिन्छ । संचालकका अनुसार उद्योगका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ स्वदेशमै उपलब्ध छ । बाँकी १० प्रतिशत मात्रै बाह्य मुलुकबाट आयात गर्नुपर्छ ।

यहाँका उत्पादन कम्तिमा २० देखि २५ वर्ष टिकाउन हुन्छन् । उत्पादित ब्लकहरुको उत्पादन मूल्य प्रतिवर्गफिटमा ४० रुपैयाँ भारतीयदेखि ६५ रुपैयाँसम्म पर्छ । उद्योगका उत्पादनहरु हाल भैरहवा, बुटवल बाहेक काठमाण्डौ, पोखरा, चितवन, हेटाँैडा, नेपालगंज, धनगढी लगायत मुलुकभरका धेरै क्षेत्रमा गइरहेको छ ।