April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गाउँपालिकामा बेथिति : कर्मचारीलाई सुविधा दिन स्रोतको दुरुपयोग

भैरहवा– रुपन्देहीको मर्चवार क्षेत्रका गाउँपालिकाको कार्यालय भैरहवामा छ । प्रशासनिक भवन गाउँपालिकामै हुँदा–हुँदै २५ किलोमिटर टाढा कार्यालय राखिएको छ ।

Advertisement

वि.सं. २०७४ फागुन एक गते तात्कालीन मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेल र गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले कार्यालयका लागि भैरहवामा घर भाडामा लिएका थिए । सम्झौतामा कार्यालय सामाग्री भण्डारण र अतिथि गृह हुने उल्लेख छ ।

Advertisement

घरभाडा मासिक १५ हजार लिने–दिने दुईपक्षले सम्झौता गरेका छन् । अहिले यो कार्यालय नियमित खुल्दैन । बेलाबेलामा प्राविधिक, योजना र लेखा शाखामा कामको चाप हुँदा भैरहवाबाट हुने गरेको छ । गाउँसभाले भैरहवामा भएको कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर कर्मचारीहरुको अटेरीले बन्द गर्न नसकेको गाउँपालिका अध्यक्षको बनियाँको आरोप छ ।

‘जनप्रतिनिधिहरुले कार्यालय आवश्यक नरहेको भन्दै गाउँसभामा कुरा उठाए । बन्द गर्ने निर्णय भयो । तर, कर्मचारीले त्यसको बिरोध गरे । भैरहवामा कार्यालय नराखे कार्यालय उपस्थित नहुने कर्मचारीले बताएपछि उनीहरुको माग सम्बोधन गर्न लचिलो बनेको हौं’, गाउँपालिका अध्यक्ष बनियाले भने ।

विगतमा दुई–तीन महिनानै कर्मचारी आउँदैनथे, भैरहवाबाट काम हुन्थ्र्यो । तर अहिले त्यस्तो समस्या नभएको अध्यक्ष बनियाँले बताए । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भैरहवामा कार्यालय रहेको बारे अनभिज्ञता प्रकट गरे । कुनै कर्मचारीलाई भैरहवामा बसेर गाउँपालिकाको काम गर्ने अनुमति नदिएको उनको दाबी छ ।

‘न मेरो पालामा कुनै सम्झौता भएको छ न त्यो भैरहवामा भाडामा लिएको घरमा म गएको छु’, उनले भने, ‘न कुनै कर्मचारीलाई भैरहवा बसेर काम गर्ने अनुमति दिएको छु ।’ भैरहवामा कार्यालयको केही आवश्यक नरहेको उनले बताए ।

यता कोटहीमाई गाउँपालिकाको पनि भैरहवामा कार्यालय छ । मासिक १६ हजार भाडा गाउँपालिकाले तिर्छ । मर्चवार क्षेत्र रुपन्देहीको ग्रामीण क्षेत्र हो । सडक, सञ्चार र अन्य पूर्वाधार राम्रो छैन् । गाउँपालिकामा रहेको कार्यालयमा इन्टरनेटको समस्या हुन्छ । भुक्तानीका लागि भैरहवा थुप्रै पटक धाउनुपर्छ, त्यसैले कामको सहजताका लागि भैरहवामा कार्यालय खोलेको गाउँपालिकाको दाबी छ ।

सेवाग्राहीको सजिलोका लागि भनिए पनि यी कार्यालयबाट सेवा भने केही पनि छैन । स्रोतको दुरुपयोग गरेर कर्मचारीलाई सुबिधा पुर्याउन मात्रै भैरहवामा कार्यालय खोलिएको स्थानीयको बुझाइ छ । स्थानीय सरकार ब्यर्थको ब्ययभार रोक्नुभन्दा बहानाबाजी बनाउनमै केन्द्रित छन् । ठेक्कापट्टा र योजनाका फाइल भैरहवामै राखेर काम गर्ने गरेको स्थानीयको आरोप छ ।