October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

भैरहवाको गहना सेज जीर्ण, संरचना अलपत्र

भैरहवा– पहिले सबैले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि दबाब दिए । मुलुककै ठूलो मध्येको स्थलगत बेलहिया–सुनौली नाका भएकाले उक्त माग जायज थियो । नाका नजिकै सेज स्थापना भएपछि लगानीकर्तालाई आयात–निर्यातमा सहज हुने विश्वास थियो । तर, अहिले भैरहवाको गहनाका रुपमा रहेको सेजका संरचना खेर जान थालेका छन् ।

Advertisement

यसलाई पूर्णता दिन सरकारले बेवास्ता गरेको छ । यस्तो बेवास्ताले लगानीकर्ता निरास छन् । मुलुकमै पहिलो निर्यातमुखी परियोजना र नमुना सेज लामो समयदेखि अलपत्र छ । यसको सञ्चालनमा गम्भीर नबन्दा सेज परिसर अस्तव्यस्त बनेको छ । यहाँ निर्माण गरिएका संरचना जीर्ण बनेका छन् । पूर्ण सञ्चालनमा नआउँदै सेज भवन भत्किएको छ । भित्तामा लेउ लागेर कुरुप देखिन्छ । भवन चुहिएर पानी जमेको छ ।

Advertisement

छ–सात वर्षदेखि वर्षेनि मर्मतका नाममा रकम खर्चिए पनि समस्या ज्युँ का त्युँ छ । परिसरमा निर्माण गरिएका कालोपत्र सडक भत्किन थालेका छन् । बुट्यान काटेर सरसफाइ नगरिँदा सेज परिसर झाडी र जंगलले ढाकेको छ । सर्प, स्याल, बँदेल, निलगाइ लगायतका जंगली जनावरको वासस्थान बनेको छ । यहाँ दिउँसो एक्लै हिंड्न डर लाग्ने गरेको छ ।

परिसरमा निर्माण गरिएका नाली जाम भएकाले वर्षा याममा जताततै पानी जमेर डुबान र हिलोको समस्या छ । यहाँ प्रशासनिक तथा सेवाग्राहीलाई प्रदान गर्नुपर्ने सुविधाको बिजोग छ । रेखदेख गर्ने कोही छैन । आधिकारिक र जिम्मेवार कर्मचारी भेटिँदैनन् । चौकिदार र करारमा नियुक्ति गरिएका एक–दुई जना कर्मचारीले धानेका छन् ।

माथिल्ला तहका र जिम्मेवार कर्मचारीको अनुहार देखिँदैन । नमुना आर्थिक क्षेत्र बेला–बेला विभागीय मन्त्रीलाई अवलोकन तथा निरीक्षण गराउने स्थाल मात्र बनेको छ । ‘सेजमा उद्योग स्थापना गर्न भनेर सोधखोज गर्न आइरहन्छन्, तर हामीलाई धेरै कुराको जानकारी नहुने भएकाले आधिकारिक रुपमा केही बताउन सक्दैनौं,’ यहाँस्थित सेजमा कार्यरत कम्प्युटर अपरेटर निरा भट्राइले भनिन्, ‘त्यस्ता सेवाग्राहीलाई अहिले जग्गा सम्झौता खुलेको छैन, खुलेपछि आउनुस् भन्दै पठाउने गरिएको छ ।’

उनका अनुसार, चिउरीको घिउ, गार्मेन्टस, आर्गेनिक तथा हर्वल्स, प्रशोधित खाद्यान्न, प्लाष्टिकका भाडाबर्तन, मेटलसँग सम्बन्धित उद्योग सेजमा राख्नका लागि भन्दै भारतीय र स्वदेशी व्यवसायीले रुचि देखाउने गरेका छन् । यस्ता उद्योग स्थापनाका लागि आउने लगानीकर्तालाई यहाँको बारेमा जानकारी दिन भैरहवा सेजमा अहिले कम्प्युटर अपरेटर भट्टराई भन्दा माथिल्लो स्तरका कर्मचारी कोही छैनन् ।

सेजले ऐन अनुसार उद्योगीलाई कुनै सेवा सुविधा उपलब्ध गराउन सकेको त छैन नै । आवश्यक नियम, कानून बनाइएको छैन । सेज ऐन संशोेधन भएको दुई वर्ष बितिसक्दा पनि नियमावली संशोधन हुन सकेको छैन । सेज संचालन र व्यवस्थापनमा देखा परेका कानुनी समस्या हटाउन ऐन संशोधनको केही महिनापछि नै नियमावली संशोधन भैसक्नु पर्नेमा संशोधनको प्रक्रिया अहिले पनि सरकारी प्रबित्तिमै अल्झिरहेको छ ।

नियमावली संशोधन नभएकाले सेजमा के–कस्ता प्रकृतिका उद्योग संचालनका लागि अनुमती दिने ? भन्ने वारेमा अन्यौलता छ । सेज ऐन अनुरुप सुबिधा पाउने आशामा उद्योग संचालन गरेका व्यवसायी सेजको यो लथालिङ्ग र भद्रगोल अवस्थाले हतोत्साहित हुन थालेका छन् । सेजमा खानेपानी, टेलिफोन, सुरक्षा, बिद्युत लगायतका पूर्वाधार अभैm उपलब्ध छैनन् । नत आवश्यक पर्दा भन्सार र अन्य मन्त्रालयसंग समन्वय गरि उद्योग संचालनका लागि सहजिकरण गरिदिने जिम्मेवार पदाधिकारी र कर्मचारी नै ।

करिव ५० करोड रुपैयाँको लगानीमा भैरहवा सेजमा उद्योग स्थापना गराइरहेका ‘तिरुपती मेटल इण्डष्ट्रिज’ का संचालक प्रशान्त अग्रवाल सेजमा भनिए अनुरुपको सेवा सुबिधा नपाइँदा र भैरहवा सेजको अस्तव्यस्त रहेको प्रशासनिक परिपाटीले धेरै पीडित छन् । व्यवसायीलाई परेको समस्या सहजिकरण गर्न सेज प्रशासनले वास्ता नगरेकाले सेजमा उद्योग स्थापना गर्नुमा नै उनी अहिले पछुतो मान्न थालेका छन् ।

‘भनिए अनुरुपको कुनै पनि सेवासुबिधा सेजमा पाउन सकिनँ । जिम्मेवार र आधिकारिक कर्मचारी नहुनाले सामान्य काम र सिफारिश गराउन पनि काठमाडौंमैं धाउनु पर्ने बाध्यता छ’, अग्रबालले भने, ‘अभिभावक बिहीन बनेको छ भैरहवा सेज, हामी व्यवसायी अभिभावक बिहीन सन्तानजस्तै ।’ सेजमा उद्योग लगाएर यतिवेला आफू दलदलमा फसेको अनुभूति हुन थालेको उनले बताए ।

वार्षिक २२ करोड रुपैयाँ मूल्यको उत्पादन बाह्य निर्यात गर्ने योजना बुनेका अग्रवाल उद्योग दर्ता गर्नका लागि मात्रै तीन महिना काठामाडौं धाउनु परेको र यसका लागि पनि उद्योग मन्त्री समक्ष नै गुनासो गरेपछि बल्ल सम्भव भएको सुनाए । सेजको ऐन नियम स्पष्ट नभएको गुनासो उनले गरे । सेजमा उल्लेख गरिए अनुरुपको सेवा सुबिधाको विषयमा अर्थ मन्त्रालय तथा भन्सारसंग मेल नखाँदा व्यवसायी धेरै पीडित बन्नु परेको छ । भन्सार र सेजबीच समन्वय छैन ।

समन्वय गरेर सहजिकरणको भूमिका निभाउनु पर्ने जिम्मेवार सेजका पदाधिकारी तथा कर्मचारी आफ्नो दायित्वबाट बिमुख छन् । सेजमा उद्योग स्थपनाका लागि आयातित सामानमा भन्सार महशुल नलाग्ने सेज ऐनमा भए पनि भन्सार नियममा त्यो समावेश नहुँदा व्यवसायी मर्कामा परेका छन् । ‘सेजमा उद्योग लगाउन जग्गा लिजमा लिँदा जे–जे सुबिधा दिने भनेको हो, त्यो केही पनि पाइएको छैन’, अग्रवालले भने, ‘उद्योग लगाउने स्थलसम्म आउने बाटो बनाउनका लागि माटो पुर्नमैं १० लाख खर्च भयो । पूर्वाधार पनि व्यवसायीले नै बनाउनु पर्ने हो भने सेजले के बापत पैसा लिने ?’

भैरहवा सेज कार्यालय प्रमुख बिहीन बन्न पुगेको तीन महिना भयो । कार्यालय प्रमुख हुँदा पनि उसलाई कुनै पनि अधिकार र बजेट उपलब्ध गराइँदैन । सेज पदाधिकारी र उच्च ओहदाका कर्मचारी पाइने सेवा सुबिधा लिँदै केन्द्रमा बस्ने र माथिबाटै निर्देशन लाद्ने परिपाटी छ । उनीहरुबाट सेजको अनुगमन, निरीक्षण नियमित रुपमा हुँदैन । भवन मर्मतको बर्षेनि ठेक्का लगाएर ठेकेदारकै भरमा छाडिन्छ । यसैको परिणामा हो, बर्षेनि भवन मर्मतमा पैसा खर्च गर्दा पनि पानी चुहिन बन्द नहुने ।

सेजमा उद्योग दर्तादेखि उत्पादन र निर्यात गर्दासम्मका लागि आवश्यक पर्ने हरेक कामका लागि एकद्वार प्रणाली अनुरुप एकै ठाउँबाट सेवा सुबिधा पाइने प्राबधान छ । आइपर्ने समस्यामा सहजिकरणका लागि भैरहवा सेजमा उप सचिव पदको दरबन्दी छ । दरबन्दी अनुरुपको कर्मचारी हुने हो भने सेज ऐन अनुरुप व्यवसायीले पाउनु पर्ने सिफारिशका लागि काठामाडौं धाउनु पर्ने बाध्यता हट्ने व्यवसायी बताउँछन् । सेज परिसरमा बर्षौं अघि तानिएका हाइटेन्सनका बिद्युतका तार खुकुलो भएकाले झोल्लिएका छन ।

सामान्य हावा चल्दा पनि आपसमा ठोक्किएर आगलागी हुने गर्छ । बारम्बार दमकल बोलाउनु पर्छ । तार तन्काउने वा मर्मत गर्नेतर्फ सेज प्रशासनको ध्यान गएको छैन । बिद्युत प्राधिकरण भैरहवालाई भन्दा त्यो काम आफ्नो नभएको र सेज भित्रको बिद्युत सव स्टेशनको हो भन्ने जवाफ दिने गरेको एक चौकिदारले बताए ।

सेज प्राधिकरणले भैरहवा सेजमा बिद्युत ट्रान्सर्फरमर सहितको सवस्टेशन राख्नका लागि टेण्डरको प्रकृया अन्तिम चरणमा पुगेको र अन्य पूर्वाधारहरु धमाधम तयार हुने क्रममा रहेको बर्षैंदेखि बताउँदै आइरहेको छ । यद्यपि सवस्टेशन निर्माणको काम कहिलेदेखि अघि बढ्ने हो ? टुंगो छैन । शवस्टेशन निर्माणका लागि बिनियोजन गरिएको बजेट तीन–चार बर्षदेखि लगातार फ्रिज हुँदै आएको छ ।

सेज परिसरमा १०–१२ वटा सिसी क्यामेरा जडान गरिए पनि हेर्ने कर्मचारी कोही छैन । लेखा शाखा समेत छैन । सेजको कार्यकारी निर्देशक चण्डीका भट्ट पदमुक्त भएपछि झण्डै २ बर्षदेखि त्यसको ठाउँमा अर्को नियुक्ती हुन सकेको छैन । अहिलेलाई उद्योग मन्त्रालयका सहसचिव बलराम रिजाललाई र प्रबक्ता सुन्दर थापाको ठाउँमा लबराज जोशीलाई जिम्मेवारी दिइएको छ । तर, ति दुवैजना व्यवसायीलाई समस्या परेको वेला सम्पर्क गर्दा मोवाइल फोन समेत नउठाउने गरेको गुनासो सवै व्यवसायीको छ ।

‘समस्या परेको वेला कसैले फोन उठाउँदैनन् । यहाँको समस्या भनि साध्य छैन’, भैरहवा सेजमा स्थापना भएको पहिलो उद्योग शक्ति मिनरल्सका सहायक महाप्रबन्धक सतिश कुमार शर्माले भने, ‘विभिन्न सुबिधा पाउने आशामा यहाँ उद्योग लगाउँदा अहिले पछुतोमा परेका छौं ।’ सेजमा उद्योग लगाए बापत तिर्नु पर्ने भूमि कर बापत तिर्नु पर्ने पैसाले सेज बाहिर भाडामा जग्गा लिएर उद्योग चलाएको भए धेरै राम्रो र सहज हुने दावी उनले गरे ।

सेजमा हरेक आधा घण्टामा बिजुली जाने गर्दा उत्पादन बन्द गर्नु पर्ने, कहिले हाइ भोल्टेज आएकाले लाखौं मूल्यका उपकरण जलेर नष्ट हुने, सेजमा जिम्मेवार वा सहजिकरण गरिदिने कर्मचारी नभएकाले बिद्युत आपूर्ति सुचारु गरिदिन व्यवसायी आपैm धाउनु पर्ने, उद्योगको सुरक्षा, टेलिफोन, इन्टरनेट, बाटा, पार्किङ लगायतका सवैको व्यवस्थापन व्यवसायी आपैmले गर्नु परेको उनले बताए ।

‘सेजमा बत्ति गएर अन्धकार भएको जानकारी हामीले सेजको केन्द्रमा गराउनु पर्छ’, शर्माले भने, ‘हामीले जानकारी गराएपछि माथिबाट भन्ने गर्छन्, ए हो र ?’ सेज संचालनमा ढिलाइ भएको भन्दै यस भन्दा अघि पाँचवटा उद्योगले सम्झौता रद्ध गरिसकेका छन् । उद्योग स्थापना र संचालनका लागि २४ सै घण्टा उपलब्ध हुनु पर्ने बिजुली, एकद्वार सेवा प्रणाली, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन, भन्सार, बैंक, बिमा, कर लगायतका पूर्वाधार तयार हुन नसकेको आरोप व्यवसायीको छ ।

‘सेजमा एकद्वार प्रणालीबाट सु्विधा उपलब्ध गराउनुको सट्टा घरि यो पुगेन घरि त्यो पुगेन भन्दै फाइल हातमा बोक्दै काठमाडौं धाएका व्यवसायीलाई महिनौं दिनसम्म अल्झाउन थालेपछि सम्झौता रद्ध गरेें’, नानो हर्वल प्रालिका संचालक ईस्तियाक अहमदले भने । भैरहवा सेजको स्थापना भएको दुई दशक बित्यो । यस अवधिमा सेजमा सवै उद्योग भरिएर अवौं रुपैयाँ मूल्यका उत्पादन बिदेश निर्यात् भैसक्नु पर्ने हो । तर बिडम्बना, सेज प्राधिकरणको असक्षमता र सेज प्रति एक अर्को सरकारी निकायबीच समन्वय हुन नसक्दा सेजप्रति व्यवसायीको आकर्षण घट्न थालेको छ ।

भैरहवा सेजमा उद्योग संचालनका लागि छुट्याइएका ६९ वटा जग्गाको प्लटमध्ये १९ वटामामात्र उद्योग स्थापना भइ संचालनमा छन् । ६ वटामा निर्माणाधीन छन् । सेजका हालका कार्यकारि निर्देशक तथा उद्योग मन्त्रालयका सहसचिव बलराम रिजालले भैरहवा सेजलाई सवैले पत्याउनै नसक्ने गरि संचालनमा आयो भन्ने गरि कामलाई अघि बढाइएको प्रतिकृया चार महिना अघिनै दिएका थिए ।

‘बीस बर्षको अवधि भनेको एउटा बच्चा पनि लक्का जवान हुने समय हो । तर भैरहवा सेज पूर्ण रुपमा संचालनमा आउनुको सट्टा झाडीमा परिणत हुनुले गुनासो आउनु स्वभाविक हो’, उनले त्यतीवेला भनेका थिए, ‘अव भैरहवा सेजले पूर्ण जीवन पाउने छ ।’ यो प्रतिकृया दिएपछि भने उनी सम्पर्कमा आउन छाडेका छन् । कैयन् पटक सम्पर्क गर्दा रिजाल र सेजका प्रबक्ता लवराज जोशी दुवैको मोवाइल उठ्दैन ।

काठमाडौं गोगंबु निबासी प्रकाश दर्शनलाई अष्ट्रेलियमा एमबीए अध्ययन पुरा गरेर आएपछि स्वदेशमैं निर्यातजन्य ठुलो उद्योग संचालन गर्न भैरहवा सेज रोजाइमा पर्याे । तर, दुई बर्षदेखि उद्योग स्थापनाका लागि सेजमा धाउँदा पनि योजना सफल हुन सकेन । ‘सेजले ठूला–ठुला कुरा गरेर हामी व्यवसायीलाई बेला बेलामा आशा देखाउँदै जिस्क्याउन खोजेको अनुभूति भयो’, उनले भने, ‘दुई बर्षसम्म उद्योग स्थापनाका लागि सेजमा धाउँदा पनि नभएपछि अव सेजमा उद्योग संचालन गर्ने योजनालाई स्थगित गरेको छु ।’