November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

सुनचाँदी व्यवसायीद्वारा व्यावसायिक लगानी र प्रभावकारी सुरक्षा व्यवस्थाको माग

Advertisement

भैरहवा–रुपन्देहीका स्थानीय सुनचाँदी व्यवसायीले व्यावसायिक लगानीको सुरक्षा र प्रभावकारी सुरक्षा व्यवस्थाको माग गरेका छन् । करोडौँ रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि सरकारले अपेक्षित सहयोग नगरेको उनीहरूको गुनासो छ ।

Advertisement

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा बुधबार भैरहवामा आयोजित शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी सुनचाँदी व्यवसायीहरूले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा अनेकौँ चुनौतीको सामना गर्नुपरिरहेको बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार प्रेमकुमार सञ्चुरीले चाडपर्वका समयमा सुनचाँदी पसलमा चोरी तथा लुटपाटका घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित गस्ती बढाएर प्रभावकारी सुरक्षा प्रत्याभूति दिलाउन माग गरे ।

अन्य व्यवसायको तुलनामा सुनचाँदी व्यवसायमा सुरक्षा जोखिम बढी हुने गरेको बताउँदै उनले विशेषगरी चाडपर्वका बेला व्यवसायीहरू बढी असुरक्षित हुने गरेको बताए । व्यवसायीलाई सुरक्षित वातावरणमा कारोबार गर्ने व्यवस्था मिलाउन प्रशासनसँग माग गर्दै उनले बिलबिना कुनै पनि सुनचाँदी खरिद नगर्न व्यवसायीलाई आग्रह गरे ।

संघका अध्यक्ष राजन विश्वकर्माले व्यवसाय सञ्चालनका क्रममा अनेकौँ जटिलता र चुनौती सामना गर्नुपरेको तथा करोडौँ रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि सरकारले अपेक्षित सहयोग नगरेको गुनासो गरे ।

विदेशी कामदारलाई समेत प्यान नम्बर उपलब्ध गराउने व्यवस्था भए पनि कामदारहरूले बीचमै काम छाडेर भाग्ने प्रवृत्तिका कारण व्यवसायीको लगानी जोखिममा पर्ने गरेको उनको भनाइ थियो ।

आफूहरूले नियमित रूपमा कर तिरिरहे पनि राज्यका निकायबाट व्यवसायीमाथि धरपकड हुने गरेको जनाउँदै उनले व्यावसायिक लगानीको सुरक्षाका लागि सरकारले आवश्यक नीति तथा व्यवस्था गर्नुपर्ने माग गरे ।

कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले चाडपर्वलाई लक्षित गरी रुपन्देहीमा शान्ति सुरक्षाको अवस्था थप सुदृढ पारिएको बताए ।

जिल्लामा सञ्चालित विभिन्न व्यवसाय र व्यवसायीको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइएको तथा चाडपर्वका समयमा हुन सक्ने चोरी र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप कडा पारिएको उनले जानकारी दिए ।

सुनचाँदी व्यवसायमा विदेशी कामदार तथा कालिगढ राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्थानीय जनशक्ति उत्पादनमा जोड दिन उनले संघलाई आग्रह गरे । यसका लागि स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरी आवश्यक सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

सुशासन कायम गर्नु सरकारको मात्र जिम्मेवारी नभई व्यापारीदेखि प्रत्येक नागरिकको पनि उत्तिकै दायित्व भएको उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले बिलबिना सुनचाँदी खरिद गर्दा चोरीको सुनचाँदीसमेत पर्न सक्ने सम्भावना रहेकाले सजग रहन व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष सचिन रोका, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।