भैरहवा भन्सारको राजस्व संकलन १३.८६ प्रतिशतले बढ्यो, तीन महिनामै ३३ अर्ब ३४ करोड संकलन



भैरहवा– भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामा राजस्व संकलन लक्ष्यभन्दा बढी गर्न सफल भएको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म कुल ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिका लागि निर्धारण गरिएको २९ अर्ब २८ करोड रुपैयाँको लक्ष्यभन्दा १३.८६ प्रतिशत बढी हो ।
भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२–८३ को सोही अवधिमा २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्षको पहिलो तीन महिनामा गत वर्षको तुलनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको भन्सार प्रमुख हरिहर पौडेलले जनाए । गत वर्ष सोही अवधिमा राजस्व संकलन लक्ष्यको ९७.१४ प्रतिशत मात्रै रहेकोमा यस वर्ष ११३.८६ प्रतिशत पुगेको उनले बताए ।
कार्यालयका अनुसार साउनमा ८ अर्ब ८३ करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको छ । उक्त महिनाका लागि ८ अर्ब ५४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो । भदौमा ९ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकोमा १० अर्ब ६३ करोड १६ लाख रुपैयाँ संकलन भएको थियो । त्यस्तै, असोजमा १० अर्ब ९८ करोड रुपैयाँ लक्ष्य रहेकोमा १३ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए । असोजमा लक्ष्यको १२६.४१ प्रतिशत राजस्व संकलन भएको हो ।
राजस्व संकलनसँगै आयात तथा निर्यात व्यापारमा पनि वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ३८ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको असोजमा २३ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको थियो । यस वर्ष असोजमा आयात मूल्य ६३.४३ प्रतिशतले बढेको छ ।
त्यस्तै, असोजमा ४ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही महिनामा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । निर्यात मूल्यमा ५६.०१ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ ।
भन्सार कार्यालयका अनुसार राजस्वमा सबैभन्दा बढी योगदान मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोनलगायतका वस्तुको छ । असोजमा राजस्वका आधारमा प्रमुख १० आयातित वस्तुबाट मात्रै १० अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । यसले कुल राजस्वमा करिब ५३ प्रतिशत योगदान गरेको भन्सारका सूचना अधिकृत उद्धव ढुंगानाले जनाए ।
निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा देखिएको छ । यसका अतिरिक्त आल्मुनियम तथा त्यसका उत्पादन, सेन्थेटिक यार्न, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट प्रमुख निर्यातित वस्तुमा छन् ।
समग्रमा भैरहवा भन्सार कार्यालयको पहिलो तीन महिनाको तथ्यांकले राजस्व संकलन, आयात र निर्यात तीनै क्षेत्रमा वृद्धि भएको देखाएको छ । विशेषगरी असोज महिनामा भएको उल्लेख्य राजस्व संकलनले कार्यालयको समग्र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याएको ढुंगानाले बताए ।








लेखकको सम्वन्धमा