November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

बुटवल उपमहानगरको भवन मर्मतको टुंगो लागेन

Advertisement

भैरहवा– एक वर्ष अघि जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको बुटवल उपमहानगरपालिकाको भवन मर्मतको टुंगो लागेको छैन । मर्मतका लागि आवश्यक बजेट सुनिश्चत नहुँदा काम अगाडि बढाउन सकिएको छैन । उपमहानगरले पुरानो कार्यालय छेउमा निर्माण गरेको भवनबाट २०७८ माघदेखि सेवा सुरु गरेको थियो ।

Advertisement

आगजनीबाट ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवनको बेसमेन्टसहित भुई र पहिलो तला नष्ट भएका थिए । तेस्रो र चौंथो तलामा आंशिक क्षति पुगेको थियो । चालु आर्थिक वर्षमा भवनको मर्मत तथा पुनर्निर्माणका लागि ५ करोड रूपैयाँ उपमहानगरले विनियोजन गरेको छ । प्राविधिकले भने पहिल्यकैं अवस्थामा पुर्याउन ११ करोड लाग्ने प्रतिवेदन बुझाएका छन् ।

गत आर्थिक वर्षमा बजेट बाँडफाँट भइसकेको र मर्मत तथा पुनर्निर्माणका लागि धेरै बजेट आवश्यक पर्ने भएकाले मर्मत हुन सकेन् । आगजनीबाट भवनका मुख्य पिलरमै ठूलो क्षति भएकाले आर्थिक अभावसँगै प्राविधिक अध्ययन प्रतिवेदन बिना मर्मत गर्न नसकिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले भवनमा पुगेको क्षति अनुसार संघ र प्रदेश सरकारबाट मर्मत तथा पुनर्निर्माणका लागि बजेट विनियोजनमा कुनै सम्बोधन नभएपछि उपमहानगरपालिकाले आप्mनै आन्तरिक स्रोतबाट चालु आवमा ५ करोड बजेट बिनियोजन गरेको बताए । उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारका अनुसार आगजनीबाट महत्वपूर्ण कागजात र दस्तावेजसँगै भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

कागजातका हजारौं फाइल र फर्निचरमा एकैपटक आगो लाग्दा उक्त भवनका मुख्य पिलर र बिममासमेत क्षति पुगेको उनले बताए । आगलागीबाट भवनका दुई वटा तलाका सबै संरचना जलेको र त्यसको गतवर्ष मर्मत हुन नसक्दा शाखा व्यवस्थापनमा अहिले पनि अप्ठ्यारो भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले जनाए ।