October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

पोखरामा आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान, भैरहवामा अन्योल

Advertisement

भैरहवा–पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दै गर्दा त्यसको करिब एक वर्षअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलाग्दा अन्योलमै छ ।

Advertisement

फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा दैनिक उडान सुरु गर्न लागेको हो । दुबईबाट आएको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २३ सेप्टेम्बरदेखि २४ अक्टोबरसम्म दैनिक एक उडानका लागि अनुमति दिएको छ ।

२०७९ पुस १७ गते सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तर्राष्ट्रिय चार्टर तथा नियमित उडान भए पनि तिनले निरन्तरता पाउन सकेका थिएन । फ्लाई दुबईको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उडानलाई दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले यात्रु आकर्षित गर्ने योजना अघि सारेका छन् । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाई दुबईबाट आउने यात्रुलाई पहिलो तीन महिनासम्म होटलमा २५ प्रतिशत छुट दिने जानकारी दिए ।

पोखरामा उत्साह बढिरहँदा २०७९ वैशाख २ गते सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भने नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानीको प्रतिफल र व्यावसायिक सम्भावनाबारे प्रश्न उठिरहेको छ । उद्घाटनपछि जजीरा एयरवेजले केही समय कुवेत उडान गरे पनि सेवा बन्द भयो । नेपाल वायुसेवा निगमले समेत सीमित चार्टर उडान गरेको थियो । पछिल्लो समय थाई एयर एसियाले बैंकक उडान सञ्चालन गरे पनि यात्रु अभावका कारण मार्च २०२६ पछि सेवा बन्द भएको छ ।

लुम्बिनी होटल संघका अध्यक्ष तथा पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले गौतम बुद्ध विमानस्थललाई दिगो बनाउन बौद्ध धर्मावलम्बीको ठूलो जनसंख्या भएका मुलुकलाई लक्षित गरी उडान विस्तार गर्नुपर्ने बताउछन् । लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक आकर्षित गर्ने स्पष्ट सरकारी योजना आवश्यक रहेको उनको भनाइ छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसक्नुमा भारतबाट आवश्यक हवाई रुटको अनुमति, यात्रु सुनिश्चितता, कूटनीतिक पहल तथा सरकारी निकायबीचको समन्वयलाई यसको प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुर वैद्यले लुम्बिनी र पोखरालाई पर्यटन हबका रूपमा विकास गर्न दुवै अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन महासंघले पहल गरिरहेको बताएका छन् । दुवै विमानस्थल नियमित सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरमै संवाद र पहल आवश्यक रहेको ठम्याइ उनको पनि छ ।

यसबीच नेपाल वायुसेवा निगमले नोभेम्बरदेखि भैरहवामा विमान राखेर नियमित अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिरहेको विवरण सार्वजनिक भए पनि त्यसको औपचारिक कार्यान्वयन र दीर्घकालीन तालिका अझै स्पष्ट भइसकेको छैन । नियमित उडानको माग पटक–पटक संसद्, राजनीतिक मञ्च र स्थानीयस्तरमा उठ्दै आए पनि गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय सञ्चालनको भविष्य अझै अनिश्चित देखिएको छ ।