October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

पश्चिम नवलपरासीमा ठूलो परिमाणमा मोबाइल पार्टपुर्जा बरामद

Advertisement

नवलपरासी–सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट ठूलो परिमाणमा मोबाइल तथा विद्युतीय उपकरणका पार्टपुर्जा बरामद गरेको छ । बरामद सामग्रीको अनुमानित मूल्य ८० लाख ३० हजार रुपैयाँ रहेको जनाइएको छ ।

Advertisement

शुक्रबार मध्यरातमा बर्दघाट नगरपालिका–४ स्थित एक झाडीमा अवैध रूपमा लुकाएर राखिएको सामान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले फेला पारेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झाडीमा खोजतलास गर्दा विभिन्न प्रकारका मोबाइल पार्टपुर्जा तथा विद्युतीय सामग्री फेला पारेको थियो ।

बरामद सामग्रीमा मोबाइलका ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच, स्पिकरलगायतका सामान छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बरामद सामग्री कानुनी प्रक्रियाका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जनाए । बरामद सामान कहाँबाट ल्याइएको थियो र त्यसमा को कस्को संलग्नता छ ? भन्नेवारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।