बाढीले पछि सर्याे सिद्धबाबा सुरुङमार्ग सञ्चालनको लक्ष्य



बुटवल—भोटेकोशी नदीमा आएको बाढीले सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ल्याइएका विद्युतीय तथा अन्य सामग्री बगाएपछि आयोजना प्रभावित हुन पुगेको छ । बाढीका कारण सामग्री व्यवस्थापनमा समस्या आएपछि आगामी कात्तिकभित्रै सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य पछि धकेलिएको आयोजनाले जनाएको छ ।
सुरुङमार्ग निर्माणका लागि रसुवा नाकाबाट ल्याइँदै गरेका कतिपय सामग्री गत भोटेकोशी बाढीमा बगेका थिए । बाढीबाट क्षति भएका सामग्री पुनः व्यवस्थापन गर्नुपर्ने तथा केही सामग्री वैकल्पिक बाटो हुँदै ल्याउनुपर्ने भएपछि निर्माण कार्य प्रभावित भएको आयोजनाका प्रमुख नवराज बाँस्तोलाले बताएका छन् ।
उनको भनाइमा, बाढीका कारण सुरुङभित्र सवारी सञ्चालन गर्ने योजना करिब तीन महिना पछि सरेको छ । आयोजनाले असोजभित्रै सुरुङको काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिए पनि मनसुन र भोटेकोशी बाढीले कामको गति प्रभावित बनाएको हो ।
उनका अनुसार, सुरुङमा सवारी सञ्चालन गर्न मिल्ने अवस्था बनेपछि समग्र आयोजनाको करिब ७० प्रतिशत काम पूरा हुनेछ । त्यसपछि सुरुङबाहिरका संरचना तथा सडक सुधारका बाँकी काम अघि बढाइनेछ ।
१ हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिले विद्युतीकरण र प्रवेशद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि बाहिरी भागमा रहेका जोखिमयुक्त सडकको सुधारलाई प्राथमिकता दिइने योनना छ । सिद्धबाबा क्षेत्रको करिब ७८० मिटर सडकलाई डबल लेन बनाउने, बाइपास निर्माण गर्ने तथा करिब साढे तीन किलोमिटर सडकलाई थप सुरक्षित बनाउने काम बाँकी छन् ।








प्रतिकृया दिनुहोस्