October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

औद्योगिक तथा व्यवसायिक वातावरण नबनेको निजी क्षेत्रको गुनासो

Advertisement

भैरहवा–निजी क्षेत्रका प्रतिनिधि तथा उद्यमी व्यवसायीहरूले मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थायी सरकार र दुई तिहाइ नजिकको बहुमत रहे पनि निजी क्षेत्रले दिएका सुझाव तथा उठाएका विषय कार्यान्वयनमा सरकारले पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो छ ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघको ७३औँ स्थापना दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आर्थिक गतिविधि चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुर वैद्यले निजी क्षेत्रले दिएका राय–सुझाव कार्यान्वयन गर्न सरकारले कन्जुस्याइँ गर्ने गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री र मन्त्रीहरूले हाम्रा कुरा सुन्नुहुन्छ, तर कार्यान्वयन गर्ने बेलामा निजी क्षेत्रले उठाएका विषयलाई कुनै मतलब गर्नुहुन्न,’ उनले भने, ‘औद्योगिक तथा व्यावसायिक नीति, नियम र विनियमावली बनाउँदा वा परिमार्जन गर्दा निजी क्षेत्रको राय–सल्लाहअनुसार कार्यान्वयन गर्न सरकारले कन्जुस्याइँ गरेको छ ।’

राजधानीमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि महासंघले दिएका सुझावसमेत सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न नसकेको वैद्यले बताए ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यवसायीको व्यवस्थापनका लागि महासंघले बजार व्यवस्थापनको योजना अघि बढाएको उनले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा ६–७ वटा बजार व्यवस्थापन गर्ने योजना रहेको छ । त्यसका लागि महासंघले करिब ८ देखि १० करोड रुपैयाँको परियोजना तयार गरेको उनले बताए ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दुई तिहाइ नजिकको वर्तमान सरकारबाट आर्थिक गतिविधि चलायमान हुने वातावरण बन्ने निजी क्षेत्रको आशा र विश्वास गलत साबित हुने अवस्था देखिन थालेको बताए ।

मुलुकको औद्योगिक तथा व्यवसायिक क्षेत्र अहिले निकै कठिन मोडमा पुगेको दाबी गर्दै उनले यही अवस्था कायम रहे आगामी डेढ–दुई वर्षभित्र धेरै व्यवसायी घरबारविहीन हुने अवस्था आउन सक्ने बताए ।

महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेश अग्रवालले मुलुकको औद्योगिक तथा व्यवसायिक क्षेत्रको अवस्था अहिले नाजुक रहेको बताए । व्यवसाय क्रमशः सुस्ताउँदै पलायनतर्फ उन्मुख भएको उनको भनाइ थियो ।

‘उद्योग–व्यवसायमा यो अवस्था आउनु अहिलेको सरकार मात्र नभई वर्षौंदेखिका सरकार र समाजबाट गरिएको उपेक्षाको परिणाम हो,’ उनले भने ।

पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए । निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले नीतिगत सुधारसँगै लगानीमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्यले भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्मा राहत तथा उद्धारका लागि निजी क्षेत्रले ठूलो सहयोग उपलब्ध गराएको बताए ।

होटेल संघ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि सरकारले अवलम्बन गरेको नीतिमाथि प्रश्न उठाए । सरकारको गलत नीतिका कारण नेपालको पर्यटन व्यवसाय धाराशायी हुँदै गएको उनको दाबी थियो ।

लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले हवाई तथा सडक सञ्जालको पूर्वाधारका हिसाबले भैरहवा र आसपासका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । पूर्वाधार विकाससँगै लगानीको वातावरण बनाउन सके भैरहवा क्षेत्र आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।

युनिभर्सल शिक्षण अस्पताल भैरहवाका प्रबन्ध निर्देशक तथा स्वास्थ्य व्यवसायी खुमा अर्यालले पूर्वाधारका हिसाबले विगतको भैरहवा र अहिलेको भैरहवामा ठूलो परिवर्तन आएको बताए ।

विगतमा भएको मधेस आन्दोलनका क्रममा भैरहवा नाकालाई सुरक्षित राख्न सकिएकै कारण भैरहवा र आसपासका क्षेत्र औद्योगिक क्षेत्रका रूपमा विकास हुन सफल भएको उनले बताए । अहिले उपलब्ध पूर्वाधार र भौगोलिक अवस्थाको सदुपयोग गर्दै औद्योगिक तथा व्यवसायिक गतिविधि थप विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।