October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

१ करोड १४ लाखभन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद

Advertisement

परासी–भारतबाट भन्सार छली गरी नेपाल भित्राइदै गरेको ठूलो परिमाणको मोबाइल पाट्र्ससहितको एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामान र गाडीको अनुमानित मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

Advertisement

सरावल गाउँपालिका–७ स्थित भन्सार टोलमा शुक्रबार बिहान भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च २९३९ नम्बरको पिकअप जाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।

महेशपुरबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुजहवाको संयुक्त टोलीले गाडी जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न मोबाइल सामग्री फेला पारेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी तथा सूचना अधिकारी मदन थापाले जानकारी दिए ।

प्रहरीका अनुसार गाडीबाट सेतो एयरपड १ हजार ७ सय ६५ थान, कालो एयरपड ६ सय ३३ थान, कालो टेम्पर ग्लास ३ हजार ८ सय थान, सेतो टेम्पर ग्लास ४ हजार ५ सय थान र मोबाइल कभर ९ सय ३० थान बरामद भएको छ । त्यसैगरी एक बोरा प्लास्टिकसमेत फेला परेको प्रहरीले जनाएको छ ।

भन्सार छली गरी ल्याइएका सामान ओसारपसारमा प्रयोग भएको पिकअप गाडीसमेत नियन्त्रणमा लिएर प्रहरीले बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय महेशपुर बुझाएको छ ।