June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

गुल्मीबाट २० करोडका सुन्तला बिक्री

Advertisement

गुल्मी– लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा सुन्तला उत्पादन गरेर स्थानीयले लाभ लिइरहेका छन् । यस वर्ष ८ सय १६ हेक्टरमा सुन्तला खेती गरिएको थियो । त्यसबाट ५ हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

Advertisement

सुन्तला लगाइएको मध्ये ५ सय ३ हेक्टर क्षेत्रफल उत्पादनशील हो । जसमा प्रतिहेक्टर ८ दशमलब ३२ मेट्रिक टन उत्पादकत्व छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी न्यौपानेले यस वर्ष सुन्तला बेचेर किसानले २० करोड ६ लाख ७८ हजार चार सय रुपैयाँ आम्दानी गरेका छन् । तर, यो गत वर्षको तुलनामा ३२ प्रतिशत कम आम्दानी हो ।

गत वर्ष ८ सय ८५ हेक्टरमा सुन्तला खेती हुँदा ७ हजार ३ सय ६८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला लगाइएको उक्त क्षेत्रफल मध्ये ६ सय १५ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रफल हो । जसमध्ये ११ दशमलब ९८ मेट्रिक टन उत्पादकत्व थियो । जसबाट २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपैयाँ आम्दानी भएको सूचना अधिकारी न्यौपानेले बताए ।

रेसुंगा नगरपालिका–३, भाडगाउँका खेतबहादुर खत्रीले ३ रोपनी क्षेत्रफलमा १ सय ५० बोट सुन्तला लगाएका छन् । गत वर्ष १ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका थिए । यसवर्ष सुन्तला कम फलेको उनले गुनासो गरे । ७–८ वर्षदेखि सुन्तला खेती गरेका उनले रोग–किराको समस्या हुने बताए । जिल्लाका प्रख्यात नयाँगाउँ, पिपलधारा, लुम्छा, भाडगाउँ, विरवास, राजा, लमसराङ्ग र बलेटक्सार लगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरेर आम्दानी गरिरहेका छन् ।

यहाँको सुन्तला गुल्मी जिल्लाका विभिन्न बजारसँगै मुख्य गरि बुटवलसम्म बजारीकरणका लागि जाने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । सुन्तला खेती हुने क्षेत्रफल समेत घटेको, फूल तथा फल लाग्ने बेलामा बेमौसमी बर्षा, किसानले बगैंचा व्यवस्थापनमा ध्यान नदिनु, फल झर्ने समस्या, रोगकिराको प्रकोप बढेको, जीर्ण बगैंचा र गाउँबस्तीमा काम गर्ने जनशक्तिको अभाव समेतका कारण छन् ।