June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

‘सीमा व्यवस्थापन सबैको साझा जिम्मेवारी’

Advertisement

भैरहवा – रुपन्देहीस्थित खुला सीमा व्यवस्थापन भन्सार कार्यालय र प्रहरी प्रशासननको मात्र नभएर सबै क्षेत्रको जिम्मेवारी भएको सरोकारवालाले बताएका छन् । प्रशासनले मात्र व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय बासिन्दादेखि उद्योगी, व्यवसायी र सरोकारवाला जुट्नुपर्ने उनीहरुले जोड दिएका हुन् ।

Advertisement

७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा प्रशासनले बेहोर्नु परेका चुनौती, सीमा व्यवस्थापन र सुधारका उपायबारे छलफल गरिएको छ । कार्यक्रममा भैरहवा भन्सार प्रमुख हरिहर पौडेलले कुनै पनि वस्तु जोखिमपूर्ण नहुने स्पष्ट पार्दै जहाँ वस्तुको हेरफेर (मेनुपुलेसन) हुन्छ, त्यहीँ जोखिम उत्पन्न हुने बताए ।

‘मानिसले नै मेनुपुलेसन गर्ने भएकाले एक–अर्काप्रति विश्वास आवश्यक छ,’ उनले भने, ‘भन्सार कार्यालयको उद्देश्य कसैलाई दुःख दिने छैन । आवश्यक कागजात पूरा भएमा सेवामा अवरोध हुँदैन ।’ भन्सारका कामकारबाही सुधार गर्दै अघि बढिरहेको उनले बताए । सीमा व्यवस्थापन प्रहरी प्रशासनको जिम्मेवारी मात्र नभई सबै सरोकारवालाको साझा दायित्व भएको उनले बताए ।

कार्यक्रममा भन्सार र प्रशासनका विद्यमान चुनौतीलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा विमर्श गरिएको थियो । सहभागीले व्यापारीलाई परेका समस्या, प्रशासनिक झन्झट तथा समन्वयको अभाव हटाउँदै एकआपसमा समन्वयका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले भन्सारको सेवासुविधालाई छिटोछरितो बनाउनुपर्नेमा जोड दिए । उनले सुधारका काम भए पनि अझै पनि प्रक्रियागत झन्झट रहेको जनाउँदै सरलीकृत बनाउन आग्रह गरे । ‘भन्सार क्षेत्रबाट हुने कुनै पनि किसिमका अवैध काम रोक्न निजी क्षेत्र सधैं हातेमालो गर्न तयार छ’, उनले भने, ‘हाम्रो उद्देश्य स्वदेशी बैध व्यापारीलाई सहजीकरण गर्ने, भन्सार सेवालाई सहजता तुल्याउन पहलकदमी गर्ने र अवैध काम रोक्नुपर्छ भन्ने नै हो ।’

सशस्त्र प्रहरीको डण्डामा रहेको बोर्डर आउट पोष्टका नायव उपरीक्षक (डीएसपी) मनोज गुरुङले भारततर्फ रहेको फरेनी बजार स्थानान्तरणका लागि प्रयास भइरहेको जानकारी दिए । तर, पुरानो बजार भएकाले छलफलको चरणमै रहेको उनले बताए । आफू भैरहवा आएको तीन महिना अवधिमा चोरीपैठारीका विभिन्न सामाग्री नियन्त्रणमा लिएको उनले दाबी गरे । ‘अहिले जिपमार्फत् अवैध रूपमा मालसामान लैजाने क्रम घटेको छ,’ उनले भने, ‘पहिले दिनमा २५ देखि ३० जिपमार्फत् मालसामान ओसारपसार हुने गथ्र्यो, अहिले कडाइ गरिएका कारण छिटफुट मात्रै चोरीपैठारीका घटना हुने गरेका छन् ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा भन्सार कार्यालय, जिल्ला प्रहरी, जिल्ला प्रशासन लगायतका निकायले उद्योगी–व्यवसायीको मनोबल बढाउनु पर्ने बताए । भन्सार कार्यालय नीतिगत रूपमा परिवर्तन भए पनि व्यवसायीले चाहेको जस्तो स्पष्ट र एउटै नियम कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो ।

चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले भन्सार प्रक्रियामा ढिलासुस्ती हुने गरेको गुनासो गरे । ‘डिजिटल प्रणाली भनिए पनि काम अझै म्यानुअल रूपमा भइरहेको छ,’ उनले भने, ‘बिहान आएको गाडी साँझसम्म पास नहुने, समस्या भइहालेमा दुई–तीन दिनसम्म रोकिने अवस्था छ ।’

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले नेपाली बजार सुनसान हुने तर भन्सार क्षेत्र भने चहलपहल युक्त देखिने अवस्थाले चिन्तित तुल्याएको बताए । छलफल कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत राधेश्याम दाहाल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, संघका सल्लाहकार विष्णुप्रसाद शर्मा, महासचिव कृष्णप्रसाद घिमिरे लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमले भैरहवा भन्सारलाई प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री बनाउँदै लैजान सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ ।